किन हालिन्छ राँगाको पेटमा बच्चा ?

 कात्तिक ७, २०७७ शुक्रबार १८:४४:० | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – झट्ट सुन्दा अनौठो लाग्ला ! काटेको राँगाको पेटमा बच्चा हाल्ने एउटा अनौठो तर रैथाने उपचार विधि चल्तीमा रहेको छ । रुकुम पूर्वका स्थानीय बासिन्दाले वर्षौँदेखि विश्वासका साथ प्रयोग गर्दै आइरहेको यो उपचार विधि धेरैलाई अनौठो लागे पनि यहाँ भने सामान्य र नियमित रहेको छ ।

रोग निको हुने जनविश्वास

नेपालका प्रायः धेरै क्षेत्रमा उपचारका घरेलु विधिहरु आ–आफ्नै तरिकाका हुन्छन् । स्थानीय रहनसहन, मूल्य, मान्यता र चलनले पनि ती विधिहरु विद्यमान देखिन्छन् । रुकुम पूर्वमा चलिआएको काटेको राँगाको पेटमा बच्चा पसाउने विधि भने रोग निको हुने जनविश्वासका साथ प्रचलनमा छ ।  

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० का प्रथम घर्तीमगर सुकेनास, रुन्चे जस्ता रोग लागेर अस्वस्थ भइरहने बच्चालाई काटेको राँगाको पेटभित्र छिराइ हल्लाएर निकालेपछि निको हुन्छ भन्ने जनविश्वास रहेको बताउनुहुन्छ । उहाँका अनुसार दशैँमा राँगा काटेपछि पेटबाट अलिकति लादी निकालेर केही समयका लागि बच्चालाई भित्र छिराएर हल्लाउने गरिन्छ । यसरी बच्चालाई राँगाको पेटभित्र छिराएर निकालेपछि रोग निको हुने विश्वास गाउँलेहरुको छ ।

दशैँको बेला मात्रै यस्तो गरिन्छ  

बच्चालाई राँगाको पेटभित्र छिराएर निकाल्ने चलन अरु बेला नभएर दशैँमा मात्र छ । दशैँमा बलि दिइने राँगा काटेपछि मात्र बच्चालाई पेटमा हालेर निकाल्ने गरिन्छ । यो बेला विशेष शक्ति प्राप्त हुने विश्वास रहेको छ । 

६ देखि १८ महिनासम्मको बच्चालाई यसरी राँगाको पेटभित्र हालेर निकालिने गरिन्छ । पहिला अस्वस्थ बच्चालाई मात्र उपचार गर्न काटेको राँगाको पेटभित्र हाल्ने गरिन्थ्यो तर अहिले स्वस्थ बच्चा अझ निरोगी र बलियो हुन्छ भन्ने विश्वासले एक पटक राँगाको पेटभित्र हाल्नैपर्छ भन्ने स्थानीयको विश्वास छ ।

वर्षौदेखि चलिआएको यो चलनको वैज्ञानिक कारण भने कसैलाई थाहा छैन । यो रुढीवादी परम्परा भए पनि निरन्तरता दिइएको स्थानीय शिक्षक राजधन घर्तीमगर बताउनुहुन्छ । शिक्षक घर्तीले पुरानो पुस्तामात्र होइन आजको नयाँ पुस्ताले पनि यो पुरानो चलनलाई निरन्तरता दिइरहेको उल्लेख गर्नुहुन्छ । 

बच्चालाई राँगाको पेटबाट निकालेर नजिकैको पानीको मूलमा लगेर नुहाइन्छ । यसलाई उनीहरु बच्चा चोख्याएको भन्छन् । यसो गर्दा रोग, काल, कष्ट सबै बगेर जाने उनीहरुको विश्वास छ ।

तस्बिर सौजन्य : मैत्या घर्ती मगर  

अन्तिम अपडेट: चैत ८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया