स्वास्थ्यमन्त्रीकाे आग्रह : ‘परिस्थितिकाे ख्याल गर्दै चाडपर्व मनाउनुस्’

 कात्तिक ९, २०७७ आइतबार १२:१४:१३ | रासस
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप  नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ ।

बडादशैँका अवसरमा आइतबार शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दुरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराउनुभएको छ । 

'दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदान–प्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो', मन्त्री ढकालले भन्नुभएको छ, 'यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता  र सामाजिक शान्तिलाई ध्यान दिने तथा छिमेकीलाई प्रतिकूल नहुने गरी मनाउने गरेका हौँ । यस पटक कोरोना महामारीका कारण अझै बढी ध्यान दिनुपर्ने देखिएको छ ।'

मन्त्री ढकालले महामारीविरूद्धको लडाइँँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा नागरिकबाट प्राप्त साथ सहयोगप्रति आभार व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्वस्थ नागरिकको उत्पादनमा ध्यान दिँदै निरोगी नेपालका लागि काम अघि बढाइएको पनि जनाउनुभएको छ ।

उहाँले संविधानमै सुनिश्चित स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि सरकारले काम गरिरहेको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ ।

मन्त्री ढकालले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड–१९ को परीक्षण तथा उपचार र अक्सिजन, आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

उहाँले अस्पताल नभएका ६ सय ४९ पालिकामा पाँच शय्याकाे अस्पताल स्थापना गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र कुनै पनि अस्पतालको गेटभित्र प्रवेश गरेका बिरामी उपचार विना फर्कनु नपरोस् भनेर विपन्न र अलपत्र व्यक्तिको आकस्मिक उपचार निःशुल्क गर्ने गरी व्यवस्था मिलाइएको पनि उल्लेख गर्नुभएको छ ।  

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया