च्याम्पियन्स ट्रफी 'हाइब्रिड' माेडलमा आयाेजना हाेला ? आईसीसीले...
मंसिर ८, २०८१ शनिबार
अहिले मोबाइल बैंकिङ अर्थात् डिजिटल कारोबारतर्फ आकर्षण बढिरहेको छ ।
कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले बैंक र सेवा प्रदायक संस्थाहरुलाई यसको आवश्यकता बुझाउन झनै सहज भएको छ । डिजिटल कारोबारप्रति आकर्षण बढेसँगै विभिन्न चुनौतीहरु पनि छन् । यसै विषयमा टेकमान शाक्यले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीसँग कुराकानी गर्नुभएको छ ।
कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिले डिजिटल बैंकिङ कारोबार कस्तो अवस्थामा ल्यायो ?
डिजिटल बैंकिङ कारोबारबारे कुरा गर्दा पछिल्ला १० वर्षलाई हेर्नुपर्ने हुन्छ । १० वर्षदेखि केही न केही रुपमा यसको सुरुवात भएको हो । ४/५ वर्षदेखि बिस्तारै बैंकहरुको लगाव पनि बढेको देखिन्छ । कार्ड, मोबाइल बैंकिङ अथवा क्यू आर पेमेन्टका कुराहरु केही वर्षदेखि मात्रै बैंंकहरुले सुरु गरेका हुन् ।
कोरोनापछि झण्डै ६ महिना लकडाउनको समयमा सबैजसो ठाउँमा भौतिक दूरी कायम गर्नुपर्ने भयो । त्यसले पनि यसको उपयोगिता झनै बढेको देखिन्छ । यो समयमा धेरैे आर्थिक गतिविधिहरु प्रभावित भए पनि डिजिटल बैंकिङको लागि एउटा अवसरको रुपमा लकडाउन बनेर आयो ।
डिजिटल कारोबार गर्दा हुने फाइदाहरु चाहिँ के के हुन् ?
बैंकमा गएर कारोबार गर्दा समय लाग्ने हुन्छ । पहिलो फाइदा समयको बचत भयो । सङ्क्रमण फैलनबाट बच्नका लागि पनि डिजिटल बैंकिङ कारोबार गर्नुपर्ने आवश्यकता छ । अर्को भनेको ग्रामिण क्षेत्रमा बैंकको पहुँच पुर्याउने हो भने यो नै उपयुक्त माध्यम बन्न सक्छ । .हरेक गाउँमा बैंक स्थापन गर्न समस्या हुने भएकोले मोबाइल बैंकिङ प्रणालीमार्फत नै उनीहरुलाई कारोबार गर्न सहज बनाउन सक्छ ।
गाउँ-गाउँमा गएर बैंकको शाखा खोलेर सेवाग्राहीलाई सेवा दिँदाको शुल्कभन्दा यसबाट निक्कै सस्तो पर्न आउँछ । बिजुलीको बिल तिर्न, विद्यालयको शुल्क तिर्न, पानीको पैसा तिर्न, पैसा पठाउन, पैसा निकाल्न सबै काम मोबाइलबाटै गर्न सकिन्छ । गाउँगाउँमा बैंकिङ सेवा प्रवाहका लागि सबैभन्दा उत्तम विकल्प नै यही हो ।
प्रविधिको विकाससँगै त्यसले चुनौती पनि बोकेर आएको हुन्छ । अहिले यस क्षेत्रका तत्कालीन चुनौतीहरु के के हुन् ?
पहिलो चुनौती भनेको मान्छेहरुमा जनचेतना जगाउनु रहेको छ । बैंकिङ कारोबार भन्ने बित्तिकै बैंकमा लगेर पैसा जम्मा गर्ने अर्थात बैंकबाट पैसा झिकेर ल्याउने भन्ने बुझाइ छ । त्यसलाई तोड्न चाहिँ अलि गाह्रो भैरहेको छ ।
गाउँघरतिर अझै पनि ‘क्यास’ मात्रै कारोबार हो भन्ने बुझाइ छ । त्यसलाई तोड्नु चाहिँ अहिले मुख्य चुनौतीको रुपमा रहेको छ । तर, अहिले जुन विषम परिस्थिति आयो, यसले यस्ता मनस्थिति परिवर्तन गर्न केही हदसम्म सकेको जस्तो लाग्छ । त्यसबाहेक बैंकहरुले यसका लाठी प्रविधिमा ठूलो लगानी पनि गर्नुपर्ने देखिएको छ ।
अझै पनि सबै सरोकारवालासँग कारोबारलाई डिजिटल बनाउन धेरै नै काम गर्नुपर्ने देखिन्छ । जस्तै मालपोतमा डिजिटल माध्यमबाट पैसा तिर्न उनीहरुसँग त्यसैअनुसारको छलफल गर्नुपर्ने आवश्यकता छ । अझै पनि चेक नै दिनुपर्ने, क्यास नै चलाउनुपर्ने अवस्थाहरु पनि छन् । त्यसको हल गर्न हामी लागिरहेका छौँ । भोलिका दिनमा छिटो, छरितो र भरपर्दो बनाउन अझै धेरै कसरत गर्नुपर्ने देखिएको छ ।
बैंकहरुले कारोबारको सुरक्षा प्रणाली मजबुत बनाउन कसरी काम गरिरहेका छन् र त्यसका लागि आर्थिक भार कत्तिको छ ?
कुनै पनि काम गर्दा त्यसमा थप अर्को चुनौती बढ्नु स्वभाविक नै हो । ग्राहक र बैंकहरुको सम्बन्ध भौतिक रुपमा नभएर प्रविधिमार्फत जोडिएको हुन्छ । बीचमा कसैले केही गरिदियो भने त बर्बाद हुन्छ । तर, त्यो रिस्क या भनौं चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।
बेला बेलामा विभिन्न आक्रमणहरु पनि हुन खोजिरहेको हुन्छ । पहिलो कुरा त आफ्नो प्रणाली व्यवस्थित बनाउनुपर्यो । त्यसका लागि सेवा प्रदायकले केही खर्च गर्नुपर्ने देखिन्छ । हामी केही बैंकहरुले सुरक्षा व्यवस्था मजबुत बनाउन लागिरहेका छौँ ।
विकसित देशहरुमा पनि बैंकिङ प्रणालीहरु ह्याक हुने, चोरी हुनेलगायत खबरहर आइरहन्छन् बेलाबेलामा । नेपाल जस्तो देशले त्यसको व्यवस्थापन कसरी गर्न सक्छ ?
त्यस्तो अवस्था आयो भने डिजिटल बैंकिङ प्रणालीमात्रै होइन, समग्र बैंकिङ प्रणालीप्रतिको विश्वासको कुरा रहन्छ । त्यो संस्थाको ‘रेपुटेशन’को कुरा पनि आउला ।
हामीले अहिले प्रयोगमा ल्याइएका प्रणालीहरु विकसित देशहरुभन्दा कम छैनन् । बजारमा परीक्षण भएर सफल भएका प्रणालीहरुलाई नै हामीले विकास गरिरहेका छौँ । त्यसैले त अहिले अतिरिक्त लगानी बैंकहरुले गरि रहनुपरेको छ, डिजिटल कारोबारको लागि । सुरक्षाको विषयलाई हामीले निक्कै महत्व दिएर अघि बढिरहेका र्छौँ । यसलाई नेपाल सरकार र राष्ट्र बैंकको तर्फबाट पनि अलि धेरै ध्यान दिनुपर्ने देखिन्छ ।
अन्त्यमाः कारोना महामारीकाबीच बढेको डिजिटल बैंकिङ कारोबारलाई कसरी व्यवस्थापन गर्ने ?
सबैभन्दा पहिले त सुरक्षाका लागि उत्तम प्रणालीहरु ल्याउनुपर्छ । अरु मार्केटमा परीक्षण भएर पास भैसकेका प्रणालीहरु विकास गर्नुपर्छ । कारोबारका लागि पासवर्ड, मोबाइल नम्बरलगायत सेयर गर्नुपर्ने हुन्छ । यसका लागि सेवाग्राहीका लागि चेतना आवश्यक छ ।
कोरोनाले पनि सेवाग्राहीहरुलाई मोबाइल बैंकिङ निक्कै आवश्यक रहेछ भन्ने शिक्षा दिएको छ । यसको व्यवस्थापनमा अब निक्कै ध्यान दिनुपर्ने देखिन्छ । अवसरसँगै चुनौतीहरु पनि सँगै आएको छ भन्ने कुरालाई चाहिँ हामीले भुल्नु हुँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।