एक महिनादेखि ट्याक्टर चालक बेपत्ता, अनुसन्धानका लागि ५ जना पक्राउ

 कात्तिक १६, २०७७ आइतबार १५:५९:१९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – गएको असोज १५ गतेदेखि बेपत्ता ट्याक्टर चालक धन गिरीको खोजीमा थप अनुसन्धानको लागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

चन्दननाथ नगरपालिका ९ बयालकाटियाका गिरी गुठिचौरको मणी साँघुमा ट्याक्टरमा सामान पुर्याइ फर्किएपछि सम्पर्कविहीन हुनुभएको थियो । वेपत्ता भएको एक महिना बढी भएको जानकारी गराउँदै उहाँको परिवारले अनुसन्धान गर्न ध्यानाकर्षण गरेपछि प्रहरीले अनुसन्धानको लागि पाँच जनालाई पक्रेको हो ।

गिरी गुठीचौरबाट देपालगाउँ हुँदै ट्याक्टरमा सदरमुकाम आउँदै गर्दा अपहरण गरिएको आफन्तको आरोप छ ।

ध्यानाकर्षण पत्रमा बेपत्ता भनिएका व्यक्तिका दाइ भैरे गिरीले आफ्नो भाइको अवस्थाको बारेमा पत्ता लगाउन भन्दै जिल्ला प्रहरीमा दिएको जाहेरीलाई यथाशीघ्र कार्यान्वयन गर्न र घटनाको कसूरसँग सम्बन्धित व्यक्तिको कल डिटेल बुझ्न आग्रह गर्नुभएको छ । 

जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्नताको आशंका र आफन्तको किटानी जाहेरी गरेको आधारमा ५ जनालाई पक्राउ गरेको छ । ५ जनामा दुई जना नाबालक रहेका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अपहरण र बेपत्ताको मुद्धा अगाडि बढिरको छ । बेपत्ता व्यक्तिको प्रहरी खोजी कार्यमा रातदिन खटिरहेको पनि नायव उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

सोही घटनाको करिब एक हप्ताअघि गुठिचौर  गाउँपालिका ४ खल्लावाडाका कमल जैसीको शव तिला नदीको बोहोरा गाउँ जाने पुलमा पानीमा डुबेको अवस्थामा प्रहरीले भेटाएको थियो । यस घटनासँग गिरी बेपत्ता हुनुको कुनै सम्बन्ध भए नभएको पनि अनुसन्धान भइरहेको प्रनाउ काफ्लेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया