फूलमा मौसम र मलमासको असर : तिहारअघि नै फुलेका फूल कसरी जोगाउने ?

 कात्तिक १७, २०७७ सोमबार ७:३१:४६ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - मलमासका कारण यसवर्ष दशैँ तिहार जस्ता मुख्य चाडपर्व झण्डै एक महिना पर धकेलिए ।

दशैँ सकिएको छ । तिहार र छठ सुरु हुन केही दिन अझै बाँकी छ ।  तर तिहारका लागि आवश्यक पर्ने सयपत्री फूल भने ढकमक्क फुलिसकेका छन् । तिहार अगाडि नै फूल फुलेपछि माग र आपूर्ति प्रभावित हुने देखिएको छ । कोरोना महामारीको मारमा परेका पुष्प व्यवसायी तिहार अगाडि नै फूल फुलेपछि थप चिन्तामा छन् । 

सम्भव भएसम्म चिस्यान केन्द्रमा राख्न सुझाव 

अहिले ढकमक्क फुलेका फूल तिहारसम्म जोगाउन गाह्रो छ । तिहारको क्यालेन्डर हेरेर फूलको उत्पादन गरेका किसानलाई खासै समस्या नरहेको तर खेतबारी, पाखा तथा कान्लामा यतिबेला ढकमक्क फुलेका फूल जोगाउन सक्ने अवस्था नरहेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘जति चिसो बढ्यो त्यति नै फूलको आयू बढी हुने हो । तर यसपालि मौसम परिवर्तनका कारण गर्मी लामै समयसम्म रह्यो । चिसो ढिलो गरी सुरु भएकाले फूल छिटो फुलेकाले जोगाएर राख्न समस्या छ ।’ 

व्यवसायिक रुपमा खेती गरेका किसानको फूल पनि अहिल्यै फूलेको भए सम्भव भएसम्म चिस्यान केन्द्रमा राखेमा अझै १५ दिन जति जोगाउन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘जसले व्यवसायिक सयपत्री उत्पादन गरिराख्नु भएको छ, उहाँहरुलाई चाहिँ फूल जोगाउन समस्या छैन । किनभने धेरै व्यवसायिक किसानले पर्वको क्यालेन्डर हेरेर नै फूल उत्पादन गरिराख्नु भएको छ ।’

तर कतिपय फूल खेतीमा लागेका किसानले तिहार कहिले परेको छ यकिन नै नगरि आफ्नै तरिकाले रोपेको भए त्यो फूल तिहार र छठसम्म रहन सक्ने अवस्था छैन । फूललाई टिपेर राख्नै समस्या छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष श्रेष्ठले भन्नुहुन्छ, ‘फूल टिपेर राख्न सम्भव हुनेहरुले कोल्डस्टोरमा राखेमा १०/१५ दिन आयू बढ्न सक्छ ।’

कोरोनाको असर फूल व्यवसायमा

कोरोना महामारीका कारण फूल व्यवसायमा समेत असर परेको छ । पर्यटन व्यवसाय ठप्पै छ । पर्यटन केन्द्रीत कुनै पनि कार्यक्रम भएका छैनन् । मठ मन्दिरमा चहलपहल छैन । पूजापाठ, विवाहलगायतका संस्कार कमै भएकाले पनि फूलको माग छैन । भर्खर सकिएको दशैँमा पनि ठूला कार्यक्रम भएनन् । त्यसैकारण फूल राम्रोसँग बिक्री हुन सकेको छैन ।

कोरोनाका कारण धेरैले पुष्प व्यवसायी पेशा छोडेर पलायन हुनुपर्ने अवस्था आएको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । किसानले उत्पादन गरेको फूललाई व्यवस्थित गरी घर घरमा पुर्याउन नसके लगानी नउठ्ने भएकाले पुष्प व्यवसायीले यो पेशा नै छोड्नुपर्ने उहाँको गुनासो छ । 

पुष्प व्यवसायीलाई पलायन हुन नदिन सरकारले ध्यान दिनुपर्ने र आफूहरु पनि इ-कमर्सको माध्यमबाट घर दैलोमा सेवा पुर्याउने गरी तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । ‘दशैँले गर्दा केही ढिलासुस्ती भयो’ उहाँले भन्नुभयो, ‘इ-कमर्सको माध्यमबाट उपभोक्ताको घर दैलोमा सेवा पुर्याउन खोजिरहेका छौँ । यसले गर्दा थला परेको व्यवसायबाट किसानलाई माथि उठ्न थोरै भए पनि राहत पक्कै पुग्नेछ ।’

भारतबाट आयात गर्न नपर्ने

कोरोनाकै कारण यसपालि चाडपर्वमा रौनक छैन । दशैँमा जस्तै तिहारमा पनि धेरै भेटघाट र जमघट नहुने पक्का छ । यसै पनि बजारमा सयपत्री फूलको माग थोरै छ । क्यालेन्डरलाई आधार मानेर धेरै व्यवसायीले सयपत्री उत्पादन गरेका कारण यसवर्ष तिहारमा छिमेकी देश भारतबाट फूल आयात गर्नु नपर्ने फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष श्रेष्ठको अनुमान छ ।

गएकाे वर्ष तिहारमा सयपत्री २० लाख र मखमली ५ लाख गरी २५ लाख माला खपत भएको थियो । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गएको वर्ष तीन लाख सयपत्रीका माला भारतबाट ल्याइएको थियो । तर यसवर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ ।

भारतबाट सयपत्री र मखमली आयात गर्नुपर्ने अवस्था नरहेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ । अघिल्ला वर्षमा दुई अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार भएको थियो । यो वर्ष तीन अर्बको फूलको कारोबार हुने अपेक्षा थियो । तर कोरोनाका कारण अघिल्लो वर्ष भन्दा कमै कारोबार हुने देखिएको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया