कोरोना महामारीकै बीच पर्यटकीय क्षेत्रमा चहलपहल, पोखराको प्याराग्लाइडिङमा ‘इतिहासकै धेरै’ पर्यटक

 कात्तिक १७, २०७७ सोमबार १३:५५:२३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - लकडाउनका कारण सात महिनासम्म सुनसान भएका पर्यटकीय स्थलमा चहलपहल सुरु भएको छ । 

सरकारले लकडाउन अन्त्य गर्दै पर्यटकीय गतिविधि सञ्चालनको अनुमति दिएसँगै अहिले आन्तरिक पर्यटक घुमघाममा निस्किएका छन् । 

विदेशी पर्यटकको लागि पदयात्रा र पर्वतारोहण मात्रै खुला गरेको सरकारले स्वदेशी पर्यटकको लागि भने लगभग सबैजसो गन्तव्य खुला गरिसकेको छ । पर्यटकीय सिजन सुरु भइसकेको, दशैँ तिहारको बिदा, स्कुल छुट्टी, नेपालीहरुमा बढ्दै गएको घुम्ने बानी लगायतका कारणले कोरोना महामारीका बीच पनि पर्यटक घुम्न निस्किएका हुन् । 

आन्तरिक पर्यटक घुम्न निस्किएसँगै पूर्वको इलामदेखि पश्चिमको रारा र तराईको जनकपुरदेखि हिमालको सोलुखुम्बुसम्म आन्तरिक पर्यटक पुगेका छन् । विगतमा जस्तो धेरै पर्यटक घुमघामको लागि निस्किएका छैनन् । तर पनि सात महिनादेखि ठप्प रहेको पर्यटन व्यवसायमा केही आशा पलाएको छ । 

होटल सञ्चालकमा उत्साह 

पोखराको लेक हाउस होटलका सञ्चालक सुजन जोशी बन्द हुन लागेको होटल व्यवसायलाई अहिलेको आन्तरिक पर्यटनले आशा जगाएको बताउनुहुन्छ । दशैँ सुरु भएदेखि पुग्न थालेका आन्तरिक पर्यटकको कारण पोखराका धेरै होटलले पाहुना पाएको उहाँको भनाइ छ । 

‘सात महिनादेखि घर बस्दाबस्दा वाक्क भएका नेपाली अहिले घुम्न निक्किएका छन्, पोखरामा बन्द हुन आँटेका होटलमा अहिले पर्यटक पुगेका छन्, यसले गर्दा केही राहत भएको छ’ लेक हाउस होटलका सञ्चालक जोशीले बताउनुभयो । 

‘अहिले घुम्न निस्कनेहरुले कोरोनाबाट बच्न उच्च सतर्कता भएको होटल खोज्ने गरेका छन्, साना होटलहरुमा स्वास्थ्य मापदण्ड पालना गर्न समस्या छ, त्यसैले ठूला र मध्यमस्तरका होटलमा पर्यटकहरु पुग्ने गरेका छन्’ सुजन जोशीले भन्नुभयो । 

अर्को मुख्य पर्यटकीय गन्तव्य चितवनको सौराहाका होटलमा पनि यतिखेर आन्तरिक पर्यटक पुगेका छन् । सौराहाका लगभग एक सय पर्यटकस्तरीय होटल आन्तरिक पर्यटकले भरिभराउ छन् । अझै पनि होटलको क्षमताको ३५ प्रतिशतको हाराहारीमा बुकिङ भइरहेको व्यवसायीहरुले बताएका छन् । सौराहाका लगभग ८० प्रतिशत रेष्टुरेन्ट पनि खुला भइसकेका छन् । 

‘दशैँको बेलामा सौराहा नै घुम्न भनेर आउनेहरु पनि थिए, त्यस्तै चितवन भएर ओहोरदोहोर गर्नेहरुले सौराहमा रात काट्ने इच्छाका कारण पनि केही दिन होटल भरिभराउ भएका छन्’ मेघौलीमा रहेको बाराही जंगल लजका अपरेसन म्यानेजर सुवास गुरुङले भन्नुभयो । विदेशी पर्यटक आउन नपाउने अहिलेको अवस्थामा आन्तरिक पर्यटक नै व्यवसायको एकमात्रै आशा रहेको उहाँको भनाइ छ । 

‘अहिले होटल सञ्चालन गरेर नाफा कमाउन सक्ने अवस्था छैन, तर आन्तरिक पर्यटक बढ्दा टिक्न सक्ने अवस्था सृजना भएको छ, सरकारले अब फेरि लकडाउन गर्ने या होटल बन्द गर्ने निर्णय गर्यो भने अवस्था फेरि बिग्रन सक्छ’ बाराही जंगल लजका अपरेसन म्यानेजर सुवास गुरुङले भन्नुभयो । 

पोखराको प्याराग्लाइडिङमा इतिहासकै धेरै पर्यटक,  शूल्क आधा कम

पोखराको मुख्य पर्यटकीय ‘प्रडक्ट’ प्याराग्लाइडिङ पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । ६० वटा कम्पनीका झण्डै ६ सय प्याराग्लाइडिङ हरेक दिनजसो प्याक भएका छन् । प्यारग्लाइडिङमा उड्नको लागि २/३ दिन अघि नै बुकिङ गर्नुपर्ने अवस्था रहेको छ । 

‘पोखराका प्याराग्लाइडिङ यसपटक इतिहासमै धेरै प्याक भइरहेका छन्, दैनिक पाँचदेखि साढे पाँच सय जनासम्म उडेको यो पहिलो रेकर्ड हो’ नेपाल हवाइ खेलकुद संस्था पोखराका अध्यक्ष कृष्ण भण्डारीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

पोखरा र आसपासका जिल्लाका नागरिकलाई लक्षित गरेर ५० प्रतिशत छुटमा उडान भइरहेको पनि उहाँले जानकारी दिनुभयो । सामान्य अवस्थामा ६५ सयदेखि ७५ सय रुपैयाँ शुल्क लाग्दै आएको प्याराग्लाइडिङमा उड्न अहिले जम्मा ३ हजारदेखि ३५ सय रुपैयाँसम्म शुल्क तिरे पुग्छ । 

‘पोखरामा प्याराग्लाइडिङ आएको २१ वर्षसम्म पनि धेरै पोखरेली शुल्ककै कारण उड्न पाउनुभएको रहेनछ, यसपटक हामीले आधा छुट गरेपछि धेरैले रहर मेट्नुभयो, काठमाण्डौसहित पोखरा बाहिरका पर्यटक पनि उत्तिकै आइरहेका छन्’ अध्यक्ष भण्डारीले भन्नुभयो । 

३५ सय रुपैयाँमा उडाउँदा फाइदा नभए पनि पर्यटक तान्नको लागि अहिले प्याराग्लाइडिङ सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ । ‘लामो समय यत्तिकै राख्दा प्याराग्लाइडिङका सामान पनि बिग्रने र पाइलटहरु पनि पलायन हुने अवस्थालाई मध्यनजर गरेर आधा छुटमै भए पनि उडाउनु परेको हो’ भण्डारीले भन्नुभयो । 

पोखरा प्याराग्लाइडिङ कम्पनीका म्यानेजर शान्ता नेपाली पनि अहिले आन्तरिक पर्यटकका कारण प्याराग्लाइडिङ कम्पनी टिक्ने अवस्था आएको बताउनुहुन्छ । ‘अहिले पोखराका प्याराग्लाइडिङ कम्पनी व्यस्त छन्, विगतमा धेरै विदेशी पर्यटक हुने गरेकोमा अहिले स्वदेशी पर्यटकले नै यहाँको व्यवसाय धानिरहेको छ’ नेपालीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

अहिले विशेषगरी पोखरा आसपासका नागरिक नै प्याराग्लाइडिङका मुख्य ग्राहक भएको उहाँको भनाइ छ। 

बन्जी र जीपलाइनमा उत्साह

लकडाउन खुकुलो भएसँगै खुलेका र खुल्ने चरणमा रहेका बन्जी र र जीपलाइन सञ्चालक पनि उत्साहित छन् । लकडाउनमा बन्द भएर अहिले खुलेका बन्जी  र जीपलाइनमा राम्रो संख्यामा पर्यटक पुगेका छन् भने खुल्ने तयारीमा रहेका कम्पनी पनि उत्साहित छन् । 

पोखरामा बन्जी र जीपलाइन सञ्चालन गरिरहेको हाइ ग्राउन्ड भेन्चर प्रालिका प्रमुख दिनेश महर्जनले निराशाको बीचमा आशा जगाउने गरी पर्यटक आइरहेको बताउनुहुन्छ । ‘अहिले बन्जी र जीपलाइनमा आउने पर्यटकको संख्या बढिरहेको छ, दशैँ सकिए पनि मान्छे धेरै आउन थालेका छन् । यो आशालाग्दो कुरा हो । यही दरमा व्यापार भयो भने टिक्न सक्छौँ, अहिले टिक्न सक्यौँ भने नाफा त पछि कमाउन सकिएला भन्ने आशा छ’ महर्जनले भन्नुभयो। 

पर्वतको कुश्मामा शनिबारदेखि सञ्चालनमा आएको संसारकै दोस्रो अग्लो बन्जीको सञ्चालक द क्लिफ प्रालिले पनि उत्साहित भएको जनाएको छ । कोरोना महामारीका बीचमा पनि स्वदेशी पर्यटकको आवागमन हेर्दा सुखद नै देखिएको कम्पनीले जनाएको छ । 

यस्तै सिन्धुपाल्चोकको भोटेकोसीमा द लास्ट रिसोर्टले सञ्चालन गरेको बन्जी पनि लकडाउनपछि पहिलोपटक अर्को हप्ता खुल्दैछ । बन्जीबारे चासो राख्ने र बुकिङ गर्नेहरुका कारण उत्साहित भएको कम्पनीको भनाइ छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया