दिदी सोध्नुहुन्छ : १४ वर्षमा त राम पनि वनबासबाट फर्किएका थिए, तिमी किन परदेशबाट आउँदैनौं भाइ ?

 कात्तिक १८, २०७७ मंगलबार १६:१३:५२ | मेरो कथा मेरो भोगाई

कृष्ण अर्याल/ हाल, यूएई ।

जिन्दगीका उकाली ओरालीमा आइपर्ने हरेक परिस्थितीलाई हाँसी हाँसी स्वीर्कानु पर्छ । मिलन, बिछोड,संयोग, वियोग, दुःखसुख जे होस् स्वीकारी पनि रहेको छु । 

परदेशको ठाउँ । नगरी काम मिल्दैन खान । १२ घण्टाको ड्युटी । त्यसपछि २ घण्टाको यात्रा । झण्डै १४ घण्टापछि कोठामा पुग्छ । खाना खान्छु । अनि ६ घण्टाका लागि जब बेडमा पल्टन्छु तब ज्यान परदेशमा भए पनि मन गाउँघर, विगत र बाल्यकालका ति दिनमा पुग्छ ।

परदेशी हुनुको पीडा परदेशमा कमाएको सुखले कसम भर्दैन । आफ्नो देशको, आफ्नो गाउँघरको र आफ्नाको मायाले यति घोच्छ भनेर सायद परदेशी सबैले अनुभव गर्नुभएकै होला ।

१४ वर्ष भएछ पिठ्युँमा झोला, हातमा निलो पासपोर्ट अनि मनमा हजार सपना बोकेर परदेश आउने जहाज चढेको ।

त्यही सपनाको पछि कुद्दा कुद्दै १४ वर्ष बित्यो । तर आज पनि सपना र चाहना उही छ । सुन्दर भविष्य बनाउने । 

लाग्छ, सुखी र खुसी भविष्यको पछि दौडँदादौड्दै वर्तमानमा खुसी हुने मौका नै पाइनँ कि ! तर पनि जहाज चढ्दा साँचेका सपना पूरा गर्ने झिनो आशा अझैं बाँकी छ ।

प्रत्येक वर्ष दशैँ आउँदै गर्दा मनमा एउटा कामना हुन्छ, योपाली बिदा मिलेन, अर्को साल त दशैँ तिहार गाउँमै मनाउने हो । तर यसो भन्दाभन्दै १४ वर्ष बितेछ । म परदेशीलाई त्यो अर्कोसाल आएको छैन ।
आजकाल त आमा भन्नुहुन्छ, ‘दुःखसुख नेपालमै गरौंला, घर आउ ।’

कुन आमाको मनले आफ्नो सन्तान परदेशमा बसोस् भन्दो होर । आमाको भनाइ ठिक हो । आमालाईजस्तै मलाई पनि आफ्नै देशमा केही गर्ने मन नभएको पनि होइन । 

४९ वर्षको उमेरमै श्रीमान् गुमाउदाको पीडा अनि हामी तीन छोराछोरीको लालनपालनको जिम्मा ।  बुवा र आमा दुवैको माया दिनुभएकी मेरी आमाको मन म बुझ्छु । तर विडम्बना २ छोरा परदेशी, छोरीको पनि बिहे भइहाल्यो ।

म अर्कोसाल घर जाने सपना देख्छु, आमा छोरो आउने र खुसीले चाडबाड सँगै मनाउने सपना देख्नुहुन्छ तर मलाई यहाँ कम्पनीले दुःखी बनाउछ । उता घरमा आमालाई मैले । यसरी नै बित्छन् हरेक वर्षका चाडबाड ।

दिदीको हातबाट टीका नलगाएको पनि १४ वर्ष नै भयो । दिदी भन्नुहुन्छ, ‘१४ वर्षमा त राम पनि वनबासबाट फर्किएका थिए, तिमी किन परदेशबाट आउँदैनौं भाइ ?’

दिदीले भाइ आउला भनेर रोपेका मखमली र सयपत्री ओइल्याएर झर्छन् । भाइ आउने आश पनि दिदीको मनमनै मर्छ । तर के गर्नु म परदेशी बाध्य छु ।

सम्झँदा मन भारी हुन्छ । आँखाभरी आँशु पार्दै गाउँमा खेलेको भौलो र देउसी सम्झन्छु ।

कुरा २०५९ साल तिरको हो । त्यो साल सबैजना जम्मा भएर देउसी भैलो खेलेका थियौं । 

दोहोरो मादल, माजुर, बाँसुरी अनि बेलाबेला ‘टेप’ बजाउँदै नाचेको सम्झना अझैं ताजा छ । 

रहर पनि कति हो कति । त्यो उमेर न नाचेर थाकिने न त गाएर नै । भैलाे खेल्न गाउँ डुल्दा बाटोमा पर्ने वन अनि वनमा फलेका कटुस पनि कहाँ बाँकी छोडिन्थ्यो र ।  कटुसका काँडाले हात रगताम्मे हुँदासम्म पत्तो नपाई कटुसका दाना चपाएको, आहा त्यो स्वाद अहिले पनि मुख रसाउँछ ।

त्यतिबेलाका साथीहरु कोही सफल उद्यमी व्यवसायी बनेका छन्, कोही जापान, अमेरिका, अष्ट्रेलिया, कोही खाडी, कोही मलेसिया त कोही कहाँ पुगेका छन् । 

प्रत्येक वर्ष चाडपर्व आउँछन्, म परदेशीलाई दुःखी बनाएर जान्छ । मलाई फेरि त्यो पल जिउँन मन छ । त्यही रमाइलो र त्यही उमंग जीवनमा ल्याउन मन छ । आफ्नै गाउँ आफ्नै देश फर्कन मन छ । 

अन्तिम अपडेट: मंसिर १६, २०७७

1 Comments

  • Bimal singh karki

    Nov. 11, 2020, 12:36 a.m.

    अती राम्रो वास्तविक सबै प्रदेसी को बेदना समेटिएको मन छोयो भाई कृष्ण यस्तै साहित्य कथा लेख बाट अगाडि बढनु है ।

  •  0 Reply

तपाईको प्रतिक्रिया