‘टीठलाग्दो नेपाल एअरलाइन्सलाई गौरव गर्ने संस्था बनाउनु नै मेरो उद्देश्य हो’

 कात्तिक २१, २०७७ शुक्रबार ९:३१:४४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - धेरैजसो सार्वजनिक संस्थान घाटामा छन् । सरकारले हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गर्ने तर संस्थान घाटामा जाने क्रम रोकिएको छैन । नेपाल वायुसेवा निगममा पनि सरकारले थुप्रै लगानी गरेको छ, तर लगानी अनुसारको प्रतिफल आएको छैन । 

निगममा हुने कमजोरीकै कारण नीजि एअरलाइन्सले फाइदा उठाइरहेको तर निगम भने घाटामा गइरहेको आरोप लाग्ने गरेको छ । नेपाल वायुसेवा निगमसँग जोडिएका विविध विषयमा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलसँग अर्जुन पोख्रेलले गरेको कुराकानी :

निगमको महाप्रबन्धकमा नियुक्त भएको एक महिना पुग्नै लाग्यो, के लक्ष्यका साथ काम सुरु गर्नुभएको छ?

राष्ट्रिय ध्वजावाहक विमान कम्पनीले जुन ढंगले सेवा प्रवाह गर्नुपर्ने हो, त्यसरी सेवा प्रवाह गर्न नसकेको कुरा सर्वविदित नै छ । निगमका बारेमा धेरै जनगुनासा आइरहेका छन् । यी गुनासोलाई सम्बोधन गर्नको लागि धेरै काम गर्नु पर्नेछ । नागरिकका गुनासा समाधान गर्ने र राष्ट्रिय ध्वजावहाक यो संस्थालाई गौरव गर्न लायक संस्था बनाउने उद्देश्यका साथ काम थालेको छु । 

संस्था सुधार गर्छु भन्नेहरुले त २/४ दिनमै राम्रा कामको थालनी गर्छन् भनिन्छ, तपाइँले त्यस्ता केही राम्रा कामको थालनी गर्नुभयो  ?

पहिले पनि मैले यसै संस्थामा काम गरेको हो । पहिले पनि अध्ययन कार्यदल गठन भएको  थियो । पहिलो कुरा त हामीले आन्तरिक सुधारको कामलाई तीव्र बनाउनुपर्नेछ । त्यो भनेको व्यवस्थापकीय सुधार र वित्तीय सुधार हो । वित्तीय अवस्था हेर्दा हामी टीठलाग्दो अवस्थामा छौँ ।

यसलाई सुधार गरेर खुद नाफामा लैजानुपर्नेछ । यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानमा प्रतिष्पर्धा गरेर अरुभन्दा अब्बल बन्नुपर्नेछ, यसको  लागि धेरै सुधार जरुरी छ । अहिले मैले कहाँ कहाँ सुधार गर्न सकिन्छ भनेर सुक्ष्म ढंगले अध्ययन गरिरहेको छु । समस्या पहिचान भइसकेपछि एक एक गरेर सम्बोधन हुनेछन् । 

वित्तीय सुधार अन्तर्गत के-के गर्न सकिन्छ ?

वित्तीय अवस्थाको सुधारको लागि सबैभन्दा पहिले अहिलेको व्यवस्थापनमा सुधार गर्नुपर्छ । हामीले गर्दै  आएको कार्यशैलीमा पनि व्यापक सुधारको खाँचो छ । जसमा सेवा प्रवाहमा चुस्ततादेखि कर्मचारीका कमजोरीसम्मका कुरा पर्न आउँछन् ।

निगमकै भविष्य अन्योलमा रहँदा कर्मचारीमा पनि जाँगर हराउने खालको जुन समस्या देखिएको छ, यसलाई अन्त्य गर्यौँ भने वित्तीय अवस्थामा पनि सुधार ल्याउन सकिन्छ । त्यसैले हामीले कर्मचारीको अनुशासन, नियमितता, कर्मचारीले सेवाग्राहीसँग गर्ने व्यवहार लगायतका विषय समेटेर १६ बुँदे निर्देशन जारी गर्दै सुधारको थालनी गरिसकेका छौँ । निर्देशन अनुसार काम सुरु भएको छ, कर्मचारीमा एकखालको उर्जा प्राप्त भएको मैले महशुस गरेको छु।

वित्तीय सुधारको कुरा मात्रै गर्दा नेपाल एयरलाइन्समा ऋण र पूँजीको अनुपात अत्यन्तै अस्वभाविक छ । ऋण र पूँजीको अनुपात यति धेरै अस्वभाविक भएको संस्था स्थायित्वमा जान सक्दैन भन्ने मेरो निष्कर्ष छ । त्यसैले मैले पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयमा केही पूँजी लगानी गरिदिनुपर्यो भनेर अनुरोध गरेको छु । केही पूँजी लगानी गरेर ऋण र पूँजीको अनुपात हामीले मिलाउन सक्यौँ भने बल्ल वित्तीय सुधारलाई अघि बढाउन सकिन्छ । 

निगमको जत्तिकै आम्दानी र जहाज भएका  नीजि कम्पनी नाफामा जाने तर यो संस्था सधैँ घाटामा जानु मुख्य कारण यहाँ हुने अत्याधिक खर्च हो भनिन्छ । अनावश्यक खर्च कत्तिको छ भन्ने लाग्छ तपाईंलाई ?

तपाईंले भनेको कुरा एकदमै ठिक हो । हामीले सुधार गर्नुपर्ने कुरा नै यही हो । हामीले यो क्षेत्रमा सुधार गर्न सकेनौँ भने कयौँ सुधार अलपत्र पर्छन, यहाँ भएको अनावश्यक खर्चतर्फ मेरो ध्यान गएको छ । पुरानै ढर्रामा संस्था चलिरहँदा खर्च पनि अचाक्ली भएको पाएको छु । खर्च कटौतीमा म निर्मम भएर लाग्नेछु । अनावश्यक कामदार/कर्मचारी कटौती गर्ने, भएका कर्मचारीबाट पूर्ण क्षमतामा काम गराउने, काममा भएको ढिलासुस्ती अन्त्य गर्ने लगायतमा पनि मेरो ध्यान केन्द्रित भएको छ । 

यस्तै अहिले उडान भइरहेका गन्तव्यमा अझै चुस्त व्यवस्थापन गर्ने, जहाजको पूर्ण उपयोग गर्ने, नयाँ र धेरै नाफा हुने गन्तव्यमा उडानको लागि पहल गर्ने लगायतका विषय पनि आम्दानी र खर्चसँग जोडिएका छन् । यी क्षेत्रमा पहिलेदेखि नै धेरै सुधार हुनुपथ्र्यो, केही ढिलो भएको छ । ढिलै भए पनि सुधारको क्रम सुरु भएको छ, यो क्रम अब तीव्र भएर जान्छ । म नेपाल एअरलाइन्सलाई गौरव गर्ने संस्था बनाउने उदेश्यका साथ काम गर्छु, नेपाल एअरलाइन्सलाई वाह भन्ने संस्था बनाएरै छाड्ने मेरो लक्ष्य हो । 

विदेशी पाइलटको कारण निगमको खर्च बढेको छ, स्वदेशी पाइलटले पुग्ने भए पनि निगमले महँगो खर्चमा किन विदेशी पाइलट राखेको छ भनेर प्रश्न उठ्ने गरेको छ नि ?

हामीले त्यो काम सुरु गरिसकेका छौँ । ३०  जना विदेशी पाइलट घटाएर ६ जनामा झारेका छौँ । यसले गर्दा ठूलो खर्च  घटेको छ । बाँकी रहेका ६ जना पाइलटमध्ये २ जना यहाँ राख्नैपर्छ । लाइन पाइलटकै कुरा गर्दा अब जम्मा २ जना विदेशी हुनुहुन्छ, उहाँहरुको पनि करार अवधि सकिँदैछ । नेपाली जहाजले नै हाम्रा जहाज उडाउनको  लागि नेपाली पाइलट तालिममा पठाएका छौँ । अब विदेशी पाइलट राख्नु पर्दैन।

न्यारोबडी र वाइडबडी जहाज किन्ने योजना बनाउँदा नै पाइलट पनि तयार गर्नुपर्ने थियो । तर जहाज आइपुग्दा पनि नेपाली पाइलट तयार नभएकाले विदेशी पाइलट ल्याउनुपरेको हो । पहिलेको व्यवस्थापनले यो कुरा सोचेको भए आज हामीले सबै नेपाली पाइलटको भरमा उडान गर्न सक्थ्यौँ । ढिलै भए पनि हामीले विदेशी पाइलट हटाएका छौँ, अबको ६ महिनामा विदेशी पाइलटको समस्या हटिसक्छ ।

निगम सुधारको कुरा गर्दा अनलाइन टिकेटिङको कुरा आउँछ । नीजि कम्पनीका टिकट मोबाइलबाटै काट्न मिल्ने तर अझै पनि निगमको टिकट काट्न लाइनमा बस्नुपर्ने कुरा त निकै लाजमर्दो होइन र ?

एकदमै जायज कुरा गर्नुभयो । अहिले हामीले झण्डै ३० वर्ष पुरानो प्रणालीमार्फत काम गरिरहेका रहेछौँ । त्यो प्रणालीमा काम गर्नको लागि एउटा कम्पनीसँग २० वर्षे सम्झौता भएको रहेछ । वार्षिक रुपमा करोडौँ रुपैयाँ तिर्ने गरी भएको त्यो सम्झौता रद्द गर्न सकिन्न । त्यसैले हामीले बिस्तारै नयाँ प्रविधि सुरु गर्दैछौँ ।

यो आर्थिक वर्ष भित्रमा ग्राहकले नेपाल एअरलाइन्सका टिकट मोबाइलबाटै खरिद गर्न सक्नु हुनेछ । अरु थुप्रै विशेषता भएको सफ्टवेर जडान गर्दैछौँ । यो आर्थिक वर्षपछि अनलाइन टिकेटिङको गुनासो आउने छैन ।

तर संस्थानमा सुधार त त्यति सजिलो छैन भन्छन नि ?

सुधारको काम कठिन नै हुन्छ । परिवर्तन गर्न खोज्दा केही बाधा अवरोध पनि आउन सक्छन् । केही धेरै दुःख हुन सक्छ, तर सुधार त जरुरी छ नै । भइरहेको काममा नै रमाउने र नयाँ थालनी नगर्ने हो भने नयाँ मान्छे आउनुको के मतलब र ? सुधार कठिन काम हो तर म कठिनाइको सामना गरेर भएपनि सुधार गरेरै छाड्छु । 

नयाँ जहाज थपेर नयाँ गन्तव्यमा उडाउने पनि लक्ष्य हो भन्नुभयो, तत्कालै अन्तर्राष्ट्रिय उडानको लागि नयाँ जहाज आवश्यक छ ?

अहिले हामीले उडान गरिरहेका गन्तव्यमा पूर्ण क्षमतामा उडान उडान सकिरहेका छैनौंँ । त्यसैले आजको भोलि नै नयाँ जहाज चाहिन्न भन्न खोजेको होइन । अहिले कोरोनाकै महामारी चलिरहेको छ, यो महामारीमा कसरी हाम्रा सेवा चुस्त राख्ने भन्नेमा मेरो ध्यान केन्द्रित छ । तर कोरोना महामारी कम हुँदै गयो भने हामीले गन्तव्य र जहाज थप्नै पर्छ । निगमलाई मुनाफामा लैजाने हो, सेवा विस्तार गर्ने र नेपालमा पर्यटक तान्ने हो भने नयाँ जहाज त थप्नै पर्छ । 

अहिले भइरहेका जहाजको उडानको कुरा गर्दा सानो समस्या आउँदा पनि हप्तौँसम्म थन्किन्छन्, बेलैमा मर्मत हुँदैन । यसले गर्दा निगमलाई थप घाटा भइरहेको छ । मर्मत सम्भारमा किन यस्तो ढिलासुस्ती हुन्छ ?

नीजि जहाज तत्कालै मर्मत हुने तर निगमको जहाज बिग्रँदा या मर्मत गर्दा हप्तौँ लाग्ने कुरा पटक्कै जायज होइन । यसमा निगमको नै पूर्ण गैरजिम्मेवारीपन होइन । हामी सरकारी संस्थान भएकाले खरिद गर्नको लागि केही प्रक्रिया पूरा गर्नैपर्छ । अहिलेको अहिल्यै व्यक्तिगत निर्णय गरेर हुँदैन ।

सार्वजनिक खरिदसँग जोडिएका केही नियमका कारणले पनि जहाज मर्मतमा ढिलाइ हुने गरेको छ । यसको अन्त्यको  लागि मैले पहल गर्नेछु । यदि निगमको लापरबाहीका कारण समस्या रहेछ भने त्यो समस्या तत्कालै समाधान हुनेछ । 

हामीले कयौँ देशसँग हवाइ सेवा सम्झौता गरेका छौँ तर अत्यन्तै थोरै गन्तव्यमा मात्रै हाम्रा जहाज जान पाएका छन, नाफा धेरै हुने गन्तव्यमा उडानको लागि के कुराको बाधा रहेको छ ?

हो, हामीले कयौँ देशसँग हवाइ सेवा सम्झौता गरेका छौँ, त्यो सम्झौता भनेको छाता सम्झौता हो । हवाइ सेवा सम्झौतापछि कयौँ अन्य सम्झौता गर्नुपर्ने हुन्छ, केही गन्तव्यमा हामीले सहायक सम्झौताहरु पनि गरिसकेका छौँ, केहीमा गर्न बाँकी रहेको छ ।

सम्बन्धित देशको नियामक निकाय, विमानस्थल, जीएसए लगायतका अन्य थुप्रै विषय टुंगो लागेपछि मात्रै उडान गर्न पाइन्छ । उदाहरणको लागि कोरियाको कुरा गरौँ । कोरियासँग हवाइ सम्झौता भएको छ, विमास्थलमा स्लट पनि पाएका छौँ । तर त्यहाँको नियामक निकाय यहाँ अडिटको लागि नआउँदा हामीले उडान गर्न पाएका छैनौँ ।

नीजि कम्पनीले एकैदिनमा गर्न सक्ने विषय हाम्रोमा कयौँ महिना पनि लाग्ने गरेका उदाहरण छन्, अन्तर्राष्ट्रिय नयाँ गन्तव्यमा उडान गर्ने कुरा हामीसँग मात्रै जोडिएको छैन, अरु देशका धेरै निकाय जोडिँदा ढिलाइ भएको हो । 

अब तत्कालै कुन गन्तव्यमा उडान गर्न सकिन्छ जस्तो लाग्छ ?

कोरियाको टोली आएर अडिट गर्यो भने तत्कालको लागि दक्षिण कोरियामा उडान हुन सक्ने देखिएको छ । साउदी अरेबियाको लागि पनि कुरा भइरहेको छ ।  साउदीमा छिटै जान सक्ने सम्भावना छ । अष्ट्रेलियाको सिड्नी, इन्डोनेसिया, बर्मा, फिलिपिन्स, सिंगापुर लगायतका देशमा क्षेत्रीय रुपमा सेवा विस्तार गर्न सक्छौँ । कोरिया, अष्ट्रेलिया र साउदीमा केही छिटो हुन सक्छ । 

ग्वान्झाउमा त सबै कुरा तयार छ,उडान किन नगर्नुभएको ?

हामीले ग्वान्झाउमा उडान गर्ने कि भनेर सोच बनाएका थियौँ तर अहिले त्यो गन्तव्यमा जहाज उडाउँदा यात्रु नपाउने देखियो । चीनमा पनि कोरोनाको महामारी र नेपालमा पनि महामारी भएकाले यात्रु नै देखिएन । कोरोना कम हुने बित्तिकै ग्वान्झाउ र बेइजिङमा उडान हुन्छ । 

कोरोना महामारीको बीचमा नेपाल वायुसेवा निगमले जापान, कोरिया, अष्ट्रेलिया, अफ्रिका लगायतका देशमा चार्टर्ड उडान गर्यो, महामारीको बीचमा भएका चार्टर्ड र उद्धार उडानले नियमित उडानको ढोका खोल्न र निगमप्रति विश्वास बढाउन कत्तिको भूमिका खेल्यो ?

नेपाल एअरलाइन्सले जस्तोसुकै परिस्थितिमा गुणस्तरीय र भरपर्दो सेवा दिन सक्छ भन्ने गतिलो उदाहरण हामीले दिइसकेका छौँ ।

हामीले अष्ट्रेलियाको सिड्नी क्यानबेरादेखि अफ्रिकासम्म उडान गरेका छौँ । ती देशमा नेपाल एअरलाइन्सको राम्रो छाप बसेको छ, यसले गर्दा नियमित उडानको  लागि पनि केही प्लस पोइन्ट हुन सक्छ । बेलायत र अमेरिका जाने अन्तिम तयारी भए पनि केही प्राविधिक कारणले उडान हुन पाएन, ती देशमा पनि नेपाल एअरलाइन्सको बारेमा राम्रो सन्देश भने गएको छ । 

कोरोना महामारीको बेला तारिफ पाएको निगमलाई अहिले केही नराम्रो हुने खालका खबर पनि आएका छन् । नेपालबाट नेगेटिभ पीसीआर रिपोर्ट लिएर निगमको जहाजमार्फत विदेश गएका यात्रुको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि प्रतिबन्ध नै खेप्नुपरेको छ । कसरी यो समस्या सिर्जना भयो ?

यो समस्या नेपाल वायुसेवा निगमको कारण उत्पन्न भएको होइन । हामीले नेपाल सरकारले मान्यता दिएका प्रयोगशालाको पीसीआर रिपोर्टलाई मान्यता दिएर यात्रु बोक्यौँ, तर विदेशमा जाँच गर्दा पोजेटिभ आयो । हङकङले हामीलाई प्रतिबन्ध  लगाएको छ, दुबई र नारिताबाट सवाल आएका छन् ।

यसमा प्रयोगशालाको पनि कमजोरी हुन सक्छ र  पीसीआरको लागि स्वाव दिएर फर्किएपछि यात्रुहरु पनि धेरै  भीडभाडमा जाने गरेकाले पनि समस्या आएको हुन सक्छ । यसमा हामी बेकारको बदनामीमा पर्यौँ । 

यसले गर्दा ठूलो आर्थिक नोक्सानी पनि भयो है ?

हामीलाई आर्थिक नोक्सानी भयो । नेपाल एअरलाइन्सको बारेमा नराम्रो सन्देश पनि गयो । तर यो भन्दा पनि ठूलो कुरा नेपालको कोरोना परीक्षणको बारेमा अन्तर्राष्ट्रिय जगतमा कस्तो सन्देश गयो होला भन्ने हो । सरकारबाट मान्यता प्राप्त प्रयोगशालामा भएको परीक्षणबारे अरु देशले नेपाललाई नै औँला ठड्याउने दिन नआओस् भन्नेतर्फ सबैले सोच्नुपर्छ । 

अब आन्तरिक उडानको कुरा गरौँ, आन्तरिक उडानमा निगम किन यति धेरै निरीह भएको हो ?

निगम नाफामुखी मात्रै नभइ सेवामुखी संस्था पनि हो । अहिले हामीले देशका ३० वटा गन्तव्यमा उडान गरिरहेका छौँ, तर हामीसँग जहाज जम्मा २ वटा छन् । ३० वर्ष पहिलेका २ वटा जहाजको भरमा ३० वटा गन्तव्य कसरी धान्ने तपाईं आफैँ भन्‍नुहोस् ।

४० वर्ष पुराना २ वटा जहाजलाई स्याहार सुसार गरेर हामीले उडान योग्य बनाएका छौँ । आज कुनै गन्तव्यको उडान तय गर्यौँ, तर एउटा जहाज बिग्रियो भने त्यो तालिका पुरै प्रभावित हुन्छ । भोलिको लागि टिकट काटेका यात्रु कयौँ दिनसम्म जहाज नचढ्ने अवस्था पनि आएको छ । 

यसको विकल्प के हुन सक्छ ?

यसमा २ वटा विकल्प छन् । हामीले सेवा विस्तार गर्ने र सरकारले अनुदान दिने हो भने जहाज थपेर पुरै ३० वटा विमानस्थलमा उडान नियमित गर्न सकिन्छ । अहिले भएकै जहाजले हामीले धेरै गन्तव्यमा उडान गर्न सक्दैनौँ । जहाज किन्ने पहिलो विकल्प हो । दोस्रो विकल्प भनेको गन्तव्य घटाउने नै हो । हामीले धेरै गन्तव्यमा सेवा दिने तर जहाज नबढाउने हो भने यो सम्भव हुने कुरा होइन । 

अन्तिम अपडेट: चैत २९, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया