धनकुटाको महालक्ष्मी नगरपालिकाले आईसीयूमा भर्ना हुनुपर्ने सङ्क्रमितलाई २५ हजार सहयोग गर्ने

 कात्तिक २१, २०७७ शुक्रबार १०:५८:३८ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना सङ्क्रमणपछि आईसीयूमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामीलाई उपचार खर्च सहयोग गर्ने भएको छ ।

आईसीयूमा नै उपचार गराउनुपर्ने बिरामीलाई उपचार खर्चका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख परशुराम नेपालले बताउनुभयो । धनकुटा अस्पतालमा आईसीयू नहुँदा बिरामीलाई उपचार गर्न धरान, विराटनगर, काठमाण्डौलगायतका अस्पतालमा पुर्याउने गरिएको छ ।

कोरोना सङ्क्रमण भएर आईसीयूको उपचार गर्न खर्चिलो हुने भएकाले राहतस्वरुप उपचार खर्च सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख नेपालले बताउनुभयो । त्यस्तै कोरोनाको लक्षणयुक्त सङ्क्रमितको पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएमा परीक्षण शुल्कमा ५० प्रतिशत रकम सहयोग गर्ने पनि निर्णय भएको छ ।

नगरपालिकाले आधा रकम व्यहोर्ने भएकाले सङ्क्रमण पुष्टि हुने महालक्ष्मी नगरपालिकाका बासिन्दाले आधा रकम मात्रै खर्च गर्नुपर्नेछ । सङ्क्रमण पुष्टि भएकालाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने र ज्यान गएमा शववाहन खर्चसमेत नगरपालिकाले नै व्यहोर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य सुवेदीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया