रुकुमको आठबीसकोट दिनभर तनावग्रस्त, प्रशासनले निषेधाज्ञा लगायाे

 कात्तिक २१, २०७७ शुक्रबार १९:३३:२८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – सत्तारुढ नेकपा र नेपाली कांग्रेस पक्षबीच झडपको स्थिति सिर्जना भएपछि रुकुम पश्चिमको आठबीसकोट नगरपालिका शुक्रबार दिनभर तनावग्रस्त भएको छ । झडप रोक्न प्रशासनले केही वडामा निषेधाज्ञा जारी गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका ६ बजेदेखि अर्को सूचना नआउञ्जेलसम्मका लागि निषेधाज्ञा लगाएको जनाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सूचना जारी गरेर नगरपालिकाका ९, १०, ११ र १२ नम्बर वडाको सम्पूर्ण क्षेत्र सिल गरिएको जनाएको छ । 

कोरोना भाइरसको सङक्रमण बढ्दै गएको र त्यही क्षेत्रमा केही समूहबाट भेला हुने तथा अवाञ्छित गतिविधि गरी शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने, अशान्ति सिर्जना गर्न खोजेकाले निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिनुभयो । सूचनाको पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत उहाँले बताउनुभयो । 

नगरपालिकाको ९ नम्बर वडा राडी बजारमा बिहीबारदेखि नै नेकपा र नेपाली कांग्रेस निकट युवाहरु भेला भएर झडपको प्रयास गरिरहेका छन्, यही कारण दिनभर राडी बजारमा तनाव भएको थियो । दुवै पक्षका युवाहरु बन्चरो, खुकुरी, हँसिया, तरबारलगायतका घरेलु हतियारसहित क्याम्प खडा गरेर बसेको स्थानीयले बताएका छन् । 

दुवै पक्षले झडपको कारण एक–अर्का भएको आरोप लगाउँदै आएका छन् । दुवै पक्षको राजनीतिक प्रतिशोधका कारण स्थानीयवासीहरुको शान्तिपूर्वक बस्न नपाएको गुनासो छ । 

झडपको स्थिति आएपछि प्रहरीले जिल्लाबाट थप प्रहरी पठाएको जनाएको छ । थप समस्या हुन नदिन निषेधाज्ञा लगाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले बताउनुभयो । दुवैतर्फकाले शक्ति प्रदर्शन गरिरहेकोले समस्या भएको बुझिएको छ ।  

आठबीसकोटमा बेलाबेला नेकपा र कांग्रेस निकट युवाहरु बीच झडप हुँदै आएको छ । यस पटक भने विशेष गरी बस, जीपको टिकट काउन्टरको विषयमा झडप सुरु भएको बताइएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया