तुलसीलाल अमात्य स्मृति चौथो अन्तरक्लब बुद्धिचाल प्रतियोगिता ललितपुरमा सुरु

 साउन २७, २०७५ आइतबार १८:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा आइतबारदेखि तुलसीलाल अमात्य स्मृति चौथो अन्तरक्लब बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री गोपालमान श्रेष्ठ गर्नुभयो ।

प्रतियोगिताको पहिलो दिन इलामको गजुरमुखी चेस क्लब, जिल्ला खेलकुद विकास समिति ललितपुर, जिल्ला बुद्धिचाल संघ भक्तपुर र मखन चेस क्लब विजयी भएका छन् ।

गजुरमुखी चेस क्लबले नेकोस चेस एकेडेमीलाई ४–० ले हरायो । मनिष हमाल, कृष्ण थापा, रिजेन्द्रराज भण्डारी र प्रकाश नेपाल सम्मेलित टोली गजुरमुखीका चारै जना खेलाडीले जित हात पारे ।

गजुरमुखीका कृष्ण थापाले विनय श्रेष्ठलाई, मनिष हमालले इम्रान खान, रिजेन्द्रराज भण्डारीले प्रकाशराज रञ्जितकार र प्रकाश नेपालले तारमान श्रेष्ठलाई हराए ।

जिल्ला खेलकुद विकास समिति ललितपुरले श्री सत्यनारायण स्कुल मोरङलाई ३.५ का विरुद्ध ०.५ ले हरायो । भक्तपुरले नमुना बौद्ध चेस क्लब एलाई ४–० ले हरायो । मखन चेस क्लबले मध्यपुर चेस क्लबलाई हरायो ।

प्रत्येक टिममा एक अतिरिक्त सहित पाँच खेलाडी रहने प्रावधान छ ।  ६ दिन चेल्ने प्रतियोगितामा नेपालभरका २१ क्लबका २०५ खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको विजेता टिमले एक लाख ५० हजार जित्नेछ । दोस्रोले ८० हजार तथा तेस्रो हुने टिमले ६० हजार हात पार्नेछ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया