कुलमानको ठाउँमा हितेन्द्रदेव पक्का, ‘बाहिरको मान्छे आउने सम्भावना लगभग सकियो’

 कात्तिक २४, २०७७ सोमबार १६:८:२४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएको छ । मन्त्रालयले शाक्यलाई दिएको यो जिम्मेवारीको खबरलाई धेरैले सामान्य रुपमै लिए । किनकि यो कुनै अनौठो निर्णय थिएन, हल्ला पहिलेदेखि नै चलेको थियो ।

कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणबाट गएको भदौ २९ गते अवकाश पाएपछि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद खाली रहेको छ । व्यापक जनदबाबलाई बेवास्ता गर्दै सरकारले कुलमान घिसिङको कार्यकाल नदोहोर्‍याएपछि शाक्यको नाम चर्चामा आउन थालेको हो । 

कुलमान प्राधिकरणबाट बाहिरिएपछि ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उप–कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिनुभएको थियो ।

वरिष्ठताका आधारमा हितेन्द्रदेव शाक्यले नै निमित्तको जिम्मेवारी पाउनुपर्ने भए पनि शाक्य नेपाल विद्युत् प्राधिकरणकै सहायक कम्पनी एनईए इन्जिनियरिङमा प्रबन्ध निर्देशकको रुपमा रहेकाले कोइरालाले निमित्तको जिम्मेवारी पाउनुभएको थियो । 

तर शुक्रबार ऊर्जामन्त्रीले एनईए इन्जिनियरिङबाट शाक्यलाई काज फिर्तामा प्राधिकरण तानेर आइतबार बेलुकी निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको छ । शाक्यलाई

प्राधिकरणमा काज फिर्तामा बोलाएर निमित्तको जिम्मेवारी दिइनु नै कार्यकारी निर्देशककै जिम्मेवारी दिने तयारी भएको बुझ्न सकिने ऊर्जा मन्त्रालय स्रोत बताउँछ । 

कुलमान ल्याउनुपर्छ भन्ने आवाज मत्थर भएको मौका छोप्दै ऊर्जामन्त्री

भदौ २९ गते कुलमान घिसिङको कार्यकाल सकिने भए पनि उहाँलाई सरकारले दोहोर्‍याउँछ कि दोहोर्‍याउँदैन भन्ने चर्चा असारदेखि नै सुरु भएको थियो । आमनागरिकले कुलमान घिसिङलाई नै फेरि एक पटक प्राधिकरणको जिम्मेवारी दिन माग गरे । सामाजिक सञ्जालमा सरकारलाई दबाब दिने काम भयो । भदौ २९ गतेअघि नै घिसिङको कार्यकाल थप्न दबाब भए पनि सरकारले थपेन । 

ऊर्जामन्त्री पुनले घिसिङलाई नियुक्त गर्नको लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेको बताए पनि पारित भएन । ऊर्जामन्त्रीले प्रस्ताव नै पेस नगरेको तर आलोचनाबाट बच्न प्रधानमन्त्रीले नियुक्त नगरेको आरोप लगाएर पन्छिने गरेको पनि चर्चा भएको थियो । 

चौतर्फी दबाब र आलोचनाका बाबजुद पनि सरकारले घिसिङलाई प्राधिकरणको नेतृत्वमा दोहोर्‍याएन । अहिले घिसिङलाई ल्याउनुपर्ने माग अलिक कम भएको मौका छोपेर ऊर्जामन्त्री पुनले प्राधिकरणको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिने तयारी गर्नुभएको छ ।

‘कुलमानलाई ल्याउनुपर्छ भन्ने व्यापक जनदबाब भएको बेलामा शाक्यलाई जिम्मेवारी दिएको भए ऊर्जामन्त्रीको झनै आलोचना हुन्थ्यो, त्यसैले घिसिङ बाहिरिएको दुई महिनासम्म मन्त्री चुपचाप रहनुभयो, कुलमानको चर्चा सेलाउँदै गएकाले मन्त्रीले शाक्यलाई कार्यकारी निर्देशक बनाउने तयारी गर्नुभएको छ’, स्रोतले भन्यो । 

‘प्राधिकरणबाहिरका मान्छे ल्याउने सम्भावना छैन’

ऊर्जा मन्त्रालय स्रोतका अनुसार विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा अब प्राधिकरणबाहिरको मान्छे ल्याउने सम्भावना छैन । 

‘कुलमानलाई नल्याउँदा यसै पनि सरकारले गाली खाइरहेको छ, बाहिरको मान्छे ल्याउँदा पैसा खाएको लगायतका धेरै आरोप आउने भएकाले अब प्राधिकरणबाहिरको मान्छे ल्याउने सम्भावना छैन’, मन्त्रालयका एक अधिकारीले उज्यालो अनलाइनसँग भने ।

अहिले निमित्तको जिम्मेवारी दिइएका हितेन्द्रदेव शाक्यलाई नै कार्यकारी निर्देशक बनाउनको लागि मन्त्रिपरिषदमा पेस गर्ने कागजात पनि तयार हुन थालिसकेको मन्त्रालयका ती अधिकारीले बताएका छन् ।

शाक्यले पनि यसअघि कुलमान घिसिङबाहेकका व्यक्तिलाई प्राधिकरणमा ल्याउने तयारी भएमा आफ्नो पनि दाबेदारी रहने बताइसक्नुभएको छ । मन्त्रालयले वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई मन्त्रालयमा काज फिर्ता बोलाएर निमित्तको जिम्मेवारी दिएपछि अब प्राधिकरणबाहिरका व्यक्तिलाई कार्यकारी निर्देेशक नबनाउने पनि पक्का जस्तै भएको स्रोतको भनाइ छ ।

यस्तो छ शाक्यको प्राधिकरण यात्रा ?

इलाममा जन्मिनुभएका हितेन्द्रदेव शाक्यले काठमाण्डौ विश्वविद्यालयबाट इलेक्ट्रिकल पावर इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ । यस्तै नर्वेबाट इलेक्ट्रिक इन्जिनियरिङमै स्नातकोत्तर गर्नुभएको छ ।  

नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्रदेव शाक्य प्रष्ट वक्ता र कार्य कुशलता भएका कर्मचारीको रुपमा चिनिनुहुन्छ । 

सन् १९८८ मा मर्स्याङ्दी जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियरको रुपमा विद्युत् प्राधिकरणको जागिर थाल्नुभएका शाक्यले यसअघि ऊर्जा मन्त्रालय र प्राधिकरणले दिएका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । सन् २००३ मा शाक्यले त्रिशूली जलविद्युत् आयोजनाको स्टेशन इन्चार्ज र चिलिमे जलविद्युत् आयोजनाको इलेक्ट्रो मेकानिकल डिभिजन प्रमुखको रुपमा जिम्मेवारी निभाउनुभयो । 

शाक्यले सन् २०१० मा चिलिमे हाइड्रोको प्लान्ट म्यानेजर र अपर साञ्जेन आयोजनामा काम गर्नुभयो । सन २०११ मा नेपाल विद्युत् प्राधिकरणको योजना विभागको म्यानेजर, सन् २०१३ मा ठूला आयोजनाको निरीक्षण र व्यवस्थापन प्रमुख, सन् २०१५ मा विद्युत् व्यापार विभागका निर्देशकका रुपमा पनि शाक्यले काम गरिसक्नुभएको छ । 

चिलिमे जलविद्युत् कम्पनी र मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्नुभएका शाक्यले सन् २०१७ मा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा नेपालको ऊर्जा क्षेत्रको विशेषज्ञको रुपमा काम गर्नुभएको छ । 

सन् २०१८ अर्थात् २०७३ देखि भने शाक्य नेपाल विद्युत् प्राधिकरणकै सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • हरिचन्द्र श्रेष्ठ

    Nov. 9, 2020, 4:27 p.m.

    जसले जे भनेपनि भ्रष्टाचारको मौका छोप्न बसेका स्यालहरु न हुन् प्राय मन्त्रीहरु। नत्र जनताको चाहना अनुसार किन काम गर्दैनन्। सत्तामा आउनु नै पैसा कमाउन हो, सेवा त गफ मात्रै।

  •  1 Reply

तपाईको प्रतिक्रिया