भगवान् भरोसामा सुदूरपश्चिमका कोरोना सङ्क्रमित

 कात्तिक २८, २०७७ शुक्रबार १०:२४:२३ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिममा बिहीबारसम्म कोरोना सङ्क्रमितको संख्या ११ हजार नजिक छ ।

सङ्क्रमितमध्ये ८ हजार ७ सय ३८ जनाले कोरोना जितेका छन् भने ४२ जनाको ज्यान गएको छ । प्रदेशभित्रै भने २९ जना कोरोना सङ्क्रमितको ज्यान गएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमै उपचारका क्रममा १२ जनाले ज्यान गुमाएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनु भयाे । उहाँका अनुसार अहिलेसम्म अस्थायी कोरोना अस्पतालमा जटिल अवस्थाका झण्डै चार सय सङ्क्रमितले उपचार गराएका छन् ।

कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशमा उपचार पाउन नसक्ने अवस्था देखिएको छ । गम्भीर प्रकृतिका लक्षणसहित सङ्क्रमित बढेपछि सुदूरपश्चिममा भएका सीमित आईसीयू, भेन्टिलेटर र आइसोलेशन बेड भरिभराउ छन् । आईसीयू र भेन्टिलेटर नपाएर कयौँ सङ्क्रमित समस्यामा पर्न थालेका छन् त होम आइसाेलेशनमै बसेका सङ्क्रमितको ज्यान जान थालेको छ । सुदूरपश्चिमका कोरोना सङ्क्रमितहरु भगवान् भरोसामा बाँचिरहेका छन् । 

बेडभन्दा बिरामी बढी

सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालका १७ भेन्टिलेटर भरिएका छन् । जसका कारण आईसीयू आवश्यक पर्ने अन्य सङ्क्रमित उपचारबाट वञ्चित भएका छन् । अस्पतालमा आईसीयू चाहिने गम्भीर सङ्क्रमितको संख्या १७ छ । १७ वटा भेन्टिलेटर रहेको अस्पतालमा अहिले १७ जनाको अक्सिजनमा राखेर उपचार भइरहेको हो ।

कोरोना अस्पतालको ५० वेडमा ५४ जनालाई राखिएको छ । जटिल प्रकृतिका सङ्क्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरको अभाव भएको हो ।  आईसीयू भरिएकाले अब जटिल सङ्क्रमितलाई उपचार गर्न सक्ने अवस्था छैन । जटिल किसिमका सङ्क्रमितलाई रेफर गर्नुको विकल्प नरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । 

जनरल वार्ड मात्र होइन् अस्पतालको सघन उपचार कक्ष आईसीयू पनि भरिभराउ हुन थालेको छ । १० शैय्याको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्डसमेत अक्सिजनको उपलब्धता हुनेगरी वैकल्पिक व्यवस्था गर्दै २० शैय्या बनाएको श्रेष्ठले बताउनुभयो । तर अस्पताल भर्ना भएका १६ जना सङ्क्रमितलाई आईसीयूमा राखेपछि थप गम्भीर बिरामी फेला परे उपचारमा समस्या हुने देखिएको हो ।

कोभिड अस्पताल सङ्क्रमितले भरिभराउ भएपछि सेती प्रादेशिक अस्पतालकै पुरानो भवनमै भए पनि व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल घोषणा गरे पनि उपकरण विस्तारमा भने खासै चासो दिएको छैन् ।

कोरोना रिर्पोट आउनै तीन चार दिन लाग्छ 

अनेरास्ववियुका कैलाली जिल्ला संयोजक समिर जोशीले चार पटक कोरोना जाँच गर्नुभयो । 

धनगढीका जोशी सुरुमा लकडाउन भएपछि त्रिनगर नाकामा खाना खुवाउने, क्वरेण्टीनमा खाना खुवाउने, भाडामा बसेर पढ्ने विद्यार्थीलाई राहत वितरण गर्ने काममा उहाँ सहभागी हुनुभएको थियो । त्यसबेला सङ्क्रमित हुने जोखिम रहेकाले उहाँले सेती प्रादेशिक अस्पतालमा तीन पटक कोरोना जाँच गर्नुभएको थियो । यसपटक एक्कासी ज्वरो आउने, खोकी लाग्ने, पखाला लाग्ने भयो । अस्पतालमा जाँच गराउँदा रोग देखिएन ।

उहाँका बुबालाई पनि त्यस्तै लक्षण देखियो । दुवै जनाले स्वास्थ्य कार्यालयमा गएर स्वाब दिनुभयो । तीन दिनपछि कोरोना  पोजेटिभ रिपोर्ट आयो । उहाँको परिवारका अरु दुई जनाले स्वाब दिनुभयो । ‘निःशुल्क परीक्षण गराउँदा तीनदेखि पाँच दिनमा रिपोर्ट आउँछ भनेका थिए,’ उहाँले भन्नुभयो । सेती प्रादेशिक अस्पतालको कोरोना उपचार भवनमा अहिले ज्येष्ठ नागरिक र दीर्घरोगी बढी छन ।

भारतबाट आउनेहरू पनि सिधै घरमा 

गएको साउन महिनासम्म भारतबाट आउनेहरूलाई नाकाबाटै सोझै पालिकाले तयार पारेका क्वरेण्टीनमा राखिन्थ्यो । तर अहिलेसम्म भने भारतबाट आउने सबै सिधै आ-आफ्नो घर गइरहेका छन् । साउनअघि नाकामै परीक्षणको प्रयास पनि भएको थियो तर अहिले भने न उनीहरूको परीक्षण भइरहेको छ, न त क्वरेण्टीनमा नै राखिन्छ ।

‘घरमा साना बालबालिका र बुढा बुबाआमा छन्, भारतबाट आइरहेका अछामका सन्तोष कुँवरले भन्नुभयो,’ परीक्षण बिनानै घर जान डर लागिरहेको छ । पहिला–पहिला त क्वरेण्टीन थियो । हामीलाई पनि क्वरेण्टीनमा राखेर परीक्षण गराइदिएको भए ढुक्क भएर घर जान हुन्थ्यो ।’

‘साउन महिनासम्म त भारतबाट आउने नागरिकहरूलाई पनि  लिन पालिकाबाटै गाडी नाकासम्म आउँथे तर अहिले त्यस्तो छैन । भारतबाट आउनेहरू खुलेआम धनगढी बजार छिरिरहेका छन्, यसले गर्दा सङ्क्रमण झन् भयावह बन्छ’, त्रिनगर नाकामा खटिनु भएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले भन्नुभयो ।

प्रयोगशाला बढे, परीक्षण बढेन

धनगढीमा पहिलोपटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि चैतमा सेती प्रादेशिक अस्पताल अन्तर्गत एक प्रयोगशाला स्थापना गरी अन्यको पनि परीक्षण थालियो । त्यसपछि प्रदेशमा कोरोना परीक्षण हुन थाल्यो ।

एउटै मेसिनबाट परीक्षण गर्दा संकलित स्वाबहरूको चाप बढी भएपछि परीक्षणका लागि नमुना काठमाण्डौ पठाउने क्रम भने यथावत् नै रह्यो । कोरोना सङ्क्रमण बढ्दै गएपछि निजी क्षेत्रको पहलमा त्यसपछि डडेल्धुरा पनि प्रयोगशाला स्थापना गरी परीक्षण थालियो ।  त्यति मात्रै हैन सुदूरपश्चिम प्रदेश सरकारद्वारा फेरि एकैपटक थप तीन प्रयोगशाला स्थापना भए ।

धनगढीमा एउटै प्रयोगशालाले नधान्ने भन्दै थप एक धनगढीमा र डोटी तथा बैतडीमा पनि एक/एक प्रयोगशाला स्थापना गरेर परीक्षण थालियो । त्यसलगत्तै अछाममा पनि प्रयोगशाला स्थापना गरी परीक्षण थालियो । बझाङ र डडेल्धुरामा पनि प्रयोगशालामा कोरोना परीक्षणको काम सुरु भयो । 

‘अहिलेसम्म सुदूरपश्चिममा दैनिक ८ हजार नमुना परीक्षणको क्षमता छ,’ प्रदेश स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले भन्नुभयो, ‘तर परीक्षण भने दैनिक एक हजारको संख्यामा पनि छैन । आवश्यक जनशक्ति अभावमा क्षमता अनुसारको परीक्षण हुन सकिरहेको छैन ।’ प्रदेशमा अहिलेसम्म ७ ठाउँमा प्रयोगशाला छन् ।

जनशक्ति अभावले धनगढीमा पछि जडान गरिएको मेसिन प्रयोगबिहीन छ,’ उहाँले भन्नुभयो- ‘पहाडी जिल्लामा दैनिक दुई तीन घण्टा विद्युत् अवरुद्ध हुन्छ, यसले पनि परीक्षण गर्न समस्या भइरहेको छ । जनशक्ति थप नभएसम्म परीक्षणको दायरा बढ्न सक्दैन ।’

अन्तिम अपडेट: चैत १५, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया