कालीगण्डकीमा स्टिमर सेवा सुरु भयो, यात्रु भएनन्

 कात्तिक ३०, २०७७ आइतबार १४:११:१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको कालीगण्डकी नदीमा फेरि सञ्चालनमा आएको स्टिमर सेवा कोरोना भाइरस सङ्क्रमणकाे कहरका कारण प्रभावित बनेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण बन्द भएको स्टिमर सेवा दशैँ पर्वलाई लक्षित गरि फेरि सञ्चालनमा ल्याइएको भए पनि यात्रुको चहलपहल भने ठप्प रहेको छ ।

जलयात्राको आनन्द लिन र स्टिमरबाट शालिग्राम शिलाको दर्शन गर्नका लागि भिडभाड हुने यो ठाउँ अहिले प्रायः शून्य रहेको छ । 

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकोले अहिले पर्यटकको सङ्ख्यामा कमी आएको शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका कोषाध्यक्ष प्रेम माझीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामान्य अवस्थामा दैनिक चारदेखि पाँच सय जनाले स्टिमर सेवा लिने गरेकोमा पछिल्लो समयमा दैनिक १२/१३ जना मात्रै हुने गर्दछन् ।’

कोषाध्यक्ष माझीका अनुसार यात्रुको चहलपहल कम भएकोले कर्मचारीको तलबसमेत धान्न मुस्किल परेको छ । 

सामान्य अवस्थामा कालीगण्डकी ‘ए’ जलविद्युतका उत्पादनका क्रममा बनेको सुन्दर तालको अवलोकन गर्नेहरुको सङ्ख्या उल्लेख्य हुन्थ्यो भए पनि अहिले भने सङ्ख्या घटेको स्थानीय व्यापारी शान्ति न्यौपानेले बताउनुभयो ।

कालीगण्डकी गाँउपालिका ७ को आँधीमुहानबाट गल्याङ नगरपालिका ५ मा पर्ने शालिग्राम शिला स्थलसम्म पुग्न झण्डै ३० मिनेट लाग्छ, प्रति यात्रुका लागि चार सय रुपैयाँ भाडा तय गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया