असई थमन विकको हत्याका आरोपी राज्यमन्त्री शर्माले गरे अदालतमा अत्मसमर्पण

 साउन २८, २०७५ सोमबार १४:३३:४० | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रदेश नं. २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसम्पर्ण गरेका छन् । सोमबार बिहान ११ बजेको समयमा राज्यमन्त्री शर्मा आफना सुरक्षाकर्मीसहित अदालत पुगी आत्मसमर्पण  गरेका हुन् । 

मधेश आन्दोलनको क्रममा वि.स. २०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असई थमन विकको आन्दोलनकारीहरुले हत्या गरेका थिए । विकको हत्यामा संलग्न रहेको अभियोगमा राज्यमन्त्री शर्मासहित २८ जनामाथि उच्च अदालत जनकपुरमा मुद्दा दायर छ ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न भएको भन्दै उच्च अदालत जनकपुरले दिएको आदेशअनुसार जिल्ला अदालतमा राज्यमन्त्री शर्माले आत्मसमर्पण  गरेका हुन । राज्यमन्त्रीले आत्मसमर्पण गरेपछि अदालतको फैसलाको प्रतीक्षामा यहाँका सर्वसाधारणको खुल्दुलीको विषय बनेको छ ।

फरार आरोपीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको ७० दिनसम्म पनि महोत्तरी प्रहरीले आलटाल गरेपछि असई विककी श्रीमती शोभा गहतराजले २०७४ चैत २८ गते परमादेशका लागि उच्च अदालत, जनकपुरमा रिट दायर गरेकी थिइन् । उनको रिटमा जिल्ला प्रहरी कार्यालय, महोत्तरी र कार्यालयका प्रमुखलाई विपक्षी बनाइएको थियो ।

राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शंकर शाही) लाई पक्राउ गर्न उच्च अदालतले प्रहरीका नाममा परमादेश जारी गरेको थियो । मेयर मिश्र अझै पक्राउ परेका छैनन् । राज्यमन्त्री शर्मा र मेयर मिश्र राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका हुन् ।

तेस्रो मधेश आन्दोलन चलिरहँदा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकको २०७२ भदौ २५ गते हत्या गरिएको थियाे। आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

विक हत्याका २८ जना आरोपीमध्ये महोत्तरीका सञ्जय साह र प्रदिप साह पूर्पक्षका लागि कारागार चलान भइसकेका छन्। भने, अर्का आरोपी मोहन ठाकुर तारेखमा छन् ।
 

 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया