वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा, एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

 मंसिर ४, २०७७ बिहिबार २०:०:१३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरी अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

वालिङ नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले वालिङ नगरपालिकाका १४ वटै वडामा सङ्क्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।
वालिङको गह्रौँ प्राथमिक अस्पतालको ‘र्‍यापिड रेस्पोन्स टिम’को बैठकले वालिङमा कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएकोले १० दिन लकडाउन गर्न सिफारिस गरेको र नगरस्तरीय कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा नगर कार्यपालिकाको बैठकले ‘जनस्वास्थ्य विपद्’घोषणा गरी एक हप्ता बन्द गर्ने निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

‘लकडाउन (बन्दाबन्दी) सुरु भएको अवस्थादेखि असोजसम्ममा भारतलगायत तेस्रो देशबाट आइ क्वरेण्टीनमा बस्नेहरूमा भन्दा कात्तिक महिनामा मात्रै सङ्क्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद् घोषणा गरी बन्द गरेका हौँ’, नगर प्रमुख खाँणले भन्नुभयो ।

जनस्वास्थ्य ऐन २०७५ को दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी जनस्वास्थ्य विपद् घोषणा गरी मानिसहरुको भिडभाड हुने स्थान, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यक बाहेकका सवारी साधन, सभा समारोह नगर्न नगराउन अनुरोध गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।

नगरपालिकाभित्र सभा समारोह, धार्मिक एवं सांस्कृतिक कार्यहरुमा २५ जनाभन्दा बढी भेला हुन नदिने र एक हप्ताको अवधिलाई बन्दाबन्दी घोषणा गर्न जिल्ला कोभिड सङ्क्रमण व्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

त्यसैगरी बैठकले वालिङ नगरपालिकाले स्थापना गरेको आइसोलेशन सेन्टरमा रहेका सङ्क्रमितहरूलाई कोभिड १९ को लक्षण देखा परिरहेको र बिरामीहरुको तत्काल व्यवस्थापनका लागि कोभिड अस्थायी अस्पतालमा आकस्मिक रुपमा उपचारका लागि औजार तथा उपकरणहरु तत्काल खरिद गर्ने निर्णयसमेत गरेको छ ।

वालिङ नगरपालिकामा अहिलेसम्म एक सय ६९ जना सङ्क्रमित भएकामा एक सय ४३ जना निको भएर घर फिर्ता भएका छन् भने अहिले २३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । अहिलेसम्म वालिङका तीन जनाको कोभिडका कारण ज्यान गएको छ ।

‘चैत ११ गतेदेखि असोज मसान्तसम्म वालिङमा सङ्क्रमितको सङ्ख्या ८४ जना थियो’, शाखा प्रमुख पाण्डेले भन्नुभयो, ‘कात्तिक महिनामा मात्रै समुदायस्तरमा ८५ जनामा कन्ट्याक्ट ट्रेसिङका आधारमा कोभिड पोजेटिभ देखिएकोले भित्रभित्रै अझै बढी सङ्क्रमितहरु हुन सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सबैले सहयोग गर्न अनुरोध गर्दछु ।’ 

वालिङ नगरपालिकाले अहिलेसम्म एक हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गरेको जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया