भारतको अहमदाबादमा आजदेखि रातमा कर्फ्यु

 मंसिर ५, २०७७ शुक्रबार ७:४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ ।

अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने  निर्णय गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । अहमदाबाद गुजरात राज्यको सबैभन्दा ठूलो सहर हो । कर्फ्यु राति नौ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ । कर्फ्यु कहिलेसम्म लागू हुन्छ भन्नेबारेमा खुलाइएको छैन ।

अहमदाबादमा अहिलेसम्म ४६ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । गुजरातको स्वास्थ्य मन्त्रालयका अनुसार गुजरातमा कोरोना सङ्क्रमितको सङ्ख्या झण्डै २ लाख नजिक छ । त्यहाँ एक लाख ९२ हजार ९ सयभन्दा धेरै सङ्क्रमित भैसकेका छन्  । यस्तै ३ हजार ८ सय ३० जनाको ज्यान गइसकेको छ ।

यसअघि भारतको दिल्ली सरकारले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई २ हजार भारतीय रुपैयाँ जरिवाना तिराइने निर्णय गरिसकेको छ । पछिल्लो समय भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने देश हो भने भारत दोस्रो स्थानमा छ ।

अमेरिकामा एक करोड २० लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा भारतमा ९० लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण भैसकेको छ । भारतमा कोरोनाका कारण एक लाख ३२ हजारको ज्यान गएको वल्ड्रोमिटरकाे तथ्याङ्कमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया