कोरोनाविरुद्धको खोप आयातको लागि कोष बनाउनुपर्छ

 मंसिर ७, २०७७ आइतबार ११:३६:५० | डा. बाबुराम मरासिनी
unn.prixa.net

विश्वमा कोभिड-१९ विरुद्ध चाँडै खोप पाउने आशा बढेको छ । अमेरिका, बेलायत, रुस, चीन लगायतका देशले आविष्कार गरिरहेका विभिन्न खोपहरु अन्तिम परीक्षणमा पुगिसकेका छन् । ती खोपहरु चाँडै प्रयोगमा आउने विश्वास बढेको छ ।

कोभिड-१९ ले विश्वलाई नै चुनौती दिएकाले झण्डै आठ अर्ब मानिस नै खोपको पर्खाइमा छन् । यति धेरै मानिसलाई खोप चाहिन्छ भने खोपको खोजी गरिरहेका देशको जनसंख्या धेरै छ । यसैले हाम्रो जस्तो देशमा समयमा खोप ल्याउन धेरै पूर्वतयारी गर्नुपर्छ । तर यसबेलासम्म सरकारको भरपर्दो तयारी देखिँदैन । जसरी कोभिड-१९ को सङ्क्रमण देखिँदै गर्दा हाम्रो देशमा यो भाइरस फैलिँदैन, हामी सजिलै रोक्न सक्छौँ, हाम्रो प्रतिरोधी क्षमता बलियो छ जस्ता कुरा गरेर यसलाई बेवास्ता भएको थियो ।

अहिले खोप ल्याउने विषयमा पनि उस्तै बेवास्ता देखिन्छ । पूर्वतयारी नगरेकाले भाइरसको सङ्क्रमण फैलनुको साथै ठूलो जनधनको क्षति भयो भने अब खोपमा हुनसक्ने ढिलाइले पनि उस्तै सङ्कट ल्याउन सक्छ । यसैले खोप आयातका लागि समयमै पूर्वतयारी गर्नुपर्छ । 

खोप खरिदका लागि कोष स्थापना

हामीले यस बेलासम्म कोभिड-१९ को खोप खरिदका लागि कोष स्थापना गरिसक्नुपर्ने हो तर तयारी समेत भएको देखिँदैन । सरकारले अध्यादेश ल्याएको छ ,तर त्यसमा पनि कोषको कुरा देखिँदैन । खोपका लागि एउटा कोष खडा गरेर त्यहाँ सरकारसँगै व्यक्ति तथा सहयोगी सङ्घसंस्थाबाट रकम जुटाउनु उपयुक्त हुन्छ ।

सरकारले त्यता ध्यान दिएको पाइँदैन । तीन करोड मानिसलाई खोप लगाइदिन ठूलो बजेट चाहिने भएकोले सरकारले तत्कालै यसको व्यवस्थापनको काम थाल्नुपर्छ । सरकार दाताहरुले उपलब्ध गराउँछ भन्ने आशामा पनि रहेको हुन सक्छ । तर अहिले अवस्था त्यस्तो छैन ।

कोभिड-१९ ले विश्वभर प्रभाव पारेको छ । दाता राष्ट्रहरु नै मारमा परिरहेका बेला दाताले खोप उपलब्ध गराउँछन् भन्ने आशा गर्न सकिँदैन । योसँगै नेपालमा प्रतिव्यक्ति आय एक हजार डलर नाघेकोले दाताले निःशुल्क उपलब्ध गराउने संभावना ज्यादै न्यून हुन्छ । सहुलियत ऋणसम्म हुन सक्छ । खोपको लागि पुरै ऋणको पर्खाइमा रहनुभन्दा आफैँले कोष स्थापना गर्ने हो भने सहज हुन्छ । 

खोप बुक गर्नुपर्ने 

खोप प्रयोगमा आउने अन्तिम तयारीमा पुगेको बेला थुप्रै देशहरुले आफूलाई चाहिने खोप बुक गर्न थालिसकेका छन् । बेलायत, भारत, ब्राजिल लगायतका थुप्रै देशहरुले करोडौं डोज खोप बुक गरिसकेका छन् ।

नेपालले पनि तीन महिनाअघि नै यो काम गर्नुपर्थ्याे । अझै पनि गर्न सकिन्छ । जुन कम्पनीको खोप सफलता नजिक छ, ती कम्पनीहरुसँग तिम्रो खोप उपयोगी र सुरक्षित भयो भने यति मात्रामा हामी किन्छौँ भनेर बुक गरी केही रकम समेत दिन सकिन्छ । यसो गर्यो भने हाम्रो पालो चाँडो आउँछ । विश्वले नै खोजी गर्ने खोप पाउन विभिन्न देशले आफ्नो पहुँच प्रयोग गर्छन् ।

यस्तो बेला हाम्रो पहुँच नपुग्ने पनि संभावना भएकोले समयमै बुक गर्यो भने समयमा ल्याउन पनि सकिन्छ । दाताले निःशुल्क दिने संभावना कम रहेको बेला आखिर ऋणै गर्नुपर्छ वा पैसा तिरेर किन्नै पर्छ भने किन ढिला गर्ने ? चाँडै बुक गर्दा छिटो खोप ल्याएर महामारीलाई सामान्य अवस्थामा लैजान सकिन्छ । 

भौतिक संरचना निर्माण 

नेपालमा अहिले सरदर छ लाख बालबालिकालाई नियमित खोप दिइन्छ । उनीहरुले दिने खोपमध्ये कतिपय एउटैमा एकभन्दा बढी प्रकारमा हुने भएकोले अहिले छ वटा हुन्छ । यसरी हेर्दा छ लाख बालबालिकालाई दिइने ३६ लाख डोज खोप भण्डारण हुन्छ । नेपालको स्वास्थ्य सेवा विभागसँग भएको क्षमता यति नै हो ।

हामी छ लाख डोज खोप भण्डारण गर्न सक्छौं । तर कोभिड-१९ विरुद्धको खोप ल्याउँदा पनि यी खोपको तालिका प्रभावित गर्नुहुन्न । त्यसैले एकै पटक लाखौं डोज खोप ल्याउँदा यहाँ भण्डारणको असुविधा हुन्छ । यसको लागि सरकारले अहिले नै भौतिक संरचना निर्माण गर्न थाल्नुपर्छ । सरकारले अहिलेसम्म त्यसतर्फ काम गरेको छैन । यसको लागि आवश्यक भवनदेखि चिस्यान केन्द्रका लागि आवश्यक उपकरणहरुको समेत व्यवस्था गर्नुपर्छ । 

यस्तै खोप ओसारपसारका लागि चिस्यान केन्द्रसहितका ट्रकहरु पनि खरिद गर्नुपर्ने हुन्छ । दुर्गम गाउँमा लगेर खोप दिनुपर्ने भएकोले सडक यातायातको पहुँच भएको ठाउँबाट सडक पहुँच नभएको ठाउँमा सुरक्षित रुपमा खोप पुर्याउनका लागि आवश्यक उपकरणहरु पनि चाहिन्छ । अब यस्ता कुराको जोहो गर्नुपर्छ । यस्तै खोप दिने जनशक्ति पनि तयार हुनुपर्छ ।

यो नयाँ रोग र खोप भएकोले स्वास्थ्यकर्मीलाई तालिम अनिवार्य हुन्छ । कोभिड-१९ फैलँदै गर्दा स्वास्थ्यकर्मीलाई तालिम नदिएको कारण विभिन्न समस्या आएको छ । खोप लगाउने कुरामा पनि हेलचेक्र्याइ गर्न मिल्दैन । त्यसैले जनशक्ति तयारीको लागि पनि योजना बनाउन थाल्नुपर्छ ।

कूटनीतिक पहल आवश्यक

कोभिड-१९ महामारीले विश्वभर असामान्य अवस्था सृजना गरेको छ भने यस विरुद्धको खोप पनि सामान्य कुरा होइन । नियमित दिइरहेका अरु विभिन्न खोप भन्दा यो बिल्कुलै फरक हुन्छ । बहुप्रतिक्षित खोप पाउने आशा बढिरहँदा शक्तिसम्पन्न देशहरु आफ्ना नागरिकलाई पहिले खोप लगाउन प्रयास गर्छन् । यो स्वभाविक पनि हो ।

विश्वका झण्डै आठ अर्ब मानिसलाई एकैपटक खोप उपलब्ध पनि हुँदैन । त्यसैले सकेसम्म छिटो खोप ल्याउनका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्छ । अहिले खोप आविष्कार गरिरहेका अमेरिकी वा अरु बहुराष्ट्रिय कम्पनीले अमेरिकी राष्ट्रपतिको कुरा सहजै मान्छन् । यस्तो अवस्थामा उसँगको सम्बन्ध सौहार्दपूर्ण रहेको छ भने चाँडो खोप प्राप्तीको लागि सहजता हुन्छ ।

यस्तै विश्व स्वास्थ्य संगठन लगायत खोप आविष्ष्कारको काम गरिरहेका विभिन्न देशमा परराष्ट्रमन्त्री आफैँ गएर भए पनि कूटनीतिक पहल गर्नुपर्छ । खोप खरिदका लागि कम्पनीहरुसँग खोप बुक पनि गर्ने र समयमा उपलब्ध गराउनका लागि तथा अनुदान तथा ऋण सहयोगका लागि पनि कुटनीतिक पहल गर्नु आवश्यक छ । अहिले सरकारले यो कुरालाई बेवास्ता गरेको देखिन्छ । 

खोप निःशुल्क हुनुपर्छ 

कतिपय खोप सशुल्क पनि गर्न सकिन्छ । तर विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड-१९ विरुद्धको खोप निःशुल्क हुनुपर्छ भन्ने मेरो मान्यता छ । दुई डोजमा दिनुपर्ने कोभिड-१९ विरुद्धको खोपका लागि ५/७ हजार रुपैयाँ सबैले खर्च गर्न सक्दैनन्, अझ त्योभन्दा महँगो पनि पर्न सक्छ । यस्तै अहिले कोरोना केही हैन यो सामान्य त हो भन्नेहरुले पैसा तिरेर खोप लगाउँछन् भन्ने विश्वास गर्न सकिँदैन । 

अमेरिकामा इन्फ्लूएन्जा विरुद्धको खोप सित्तैमा दिइन्छ, तर पनि त्यहाँ ५० प्रतिशत भन्दा बढी मानिसले लगाएको पाइँदैन । हाम्रो जस्तो देशमा पैसा तिरेर खोप लगाउ भन्दा धेरैले नलगाउन सक्छन् । त्यसैले पनि महामारीका रुपमा रहेको कोरोना विरुद्धको खोप सरकारले निःशुल्क गर्नुपर्छ । त्यसैको लागि सरकारले कोष बनाउनुपर्छ भनिएको हो । बरु त्यसमा जोखिमका हिसावले वर्गीकरण गरेर विभिन्न तहमा खोप लगाउन सकिन्छ ।

जस्तो एक पटक ६० वर्षभन्दा माथिका र १० वर्षमुनीका सबैलाई दिने, मधुमेह लगायत दीर्घरोग भएका, मोटो शरीर भएका लगायतका मानिसलाई र त्यसपछि १० देखि ४० वर्ष उमेर समूहका सबैलाई गरी विभिन्न चरणमा खोप दिन सकिन्छ । तर सबैलाई निःशुल्क उपलब्ध गराएर व्यापक प्रचारप्रसार सहित राष्ट्रिय अभियान चलाएर खोप दिन सकिन्छ । यो एउटा ठूलो कार्यक्रम भएकोले सरकारले सबै किसिमको पूर्वतयारी गर्न ढिला गर्नु हुन्न । 
कोभिड-१९ विरुद्धको खोप आयात गरी आम नेपालीलाई दिनको लागि सरकारले एउटा कोष बनाउनुपर्छ ।

यदि अध्यादेशमा त्यो व्यवस्था छैन भने अध्यादेश संशोधन गरेर भए पनि चाँडै कोष बनाएर रकम संकलन गर्न सार्वजनिक आह्वान गर्नुको साथै संभावित दाताको भेला गर्न सकिन्छ । यस्तै खोप बुक गर्ने प्रक्रियामा पनि जानुपर्छ । खोप ल्याउन साथ फटाफट लगाउने कानुनी व्यवस्था गर्नुपर्छ । सरकारका कुन पदाधिकारी कहाँ गएर कस्तो पहल गर्नुपर्छ त्यो ढिला नगरी काम सुरु गर्नुपर्छ । व्यापारिक र कुटनीतिक दुबै माध्यम प्रयोग गरेर खोप ल्याउने सशक्त प्रयास गर्न आवश्यक छ । 

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीसँग भोजेन्द्र बस्नेतले गरेको कुराकानीमा आधारित ।) 

अन्तिम अपडेट: मंसिर १५, २०७७

डा. बाबुराम मरासिनी

डा. बाबुराम मरासिनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्यविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया