पाँच राेपनी जग्गा भाडामा लिइ वालिङका ४० जना महिलाले सुरु गरे सामूहिक आलु खेती

 मंसिर ७, २०७७ आइतबार २०:२९:४१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – वालिङ नगरपालिका ९ को बामलेटारमा दलित समुदायका महिलाहरुले सामूहिक रूपमा आलु खेतीको सुरुवात गरेका छन् । 

वालिङ नगरपालिका र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत सामूहिक आलु खेती सुरु गरिएको हो ।

४० जना दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्थामार्फत पाँच रोपनी जग्गा भाडामा लिएर सामूहिक आलु खेती गरेको संस्थाकी अध्यक्ष सुनिता विश्वकर्माले बताउनुभयो ।

‘संस्थाले आलुको बिउ, आवश्यक मलखाद तथा अन्य औषधिहरू निःशुल्क उपलब्ध गराएको छ’, अध्यक्ष विश्वकर्माले भन्नुभयो, ‘समूहमार्फत हामीले श्रम मात्रै गरे पुग्छ ।’

कोभिड–१९ का कारण आर्थिक मार परेकोले जीवनस्तर उकास्न सामूहिक आलु खेती थालेको संस्थाकी कोषाध्यक्ष सुविना विकले बताउनुभयो ।

समूहले पाँच रोपनी क्षेत्रफलमा ‘जनकदेव’ जातको आठ क्विण्टल बिउ लगाउने भएको हो ।

आलु प्राविधिकहरुको प्रत्यक्ष निगरानी र सल्लाहमा नगरपालिकाका तीन वटा क्षेत्रमा सामूहिक आलु खेती गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनुभयो ।
यसका अलावा परियोजना अन्तर्गत वालिङ १४ को पनियारेमा र  वालिङ ६ मा १० रोपनीमा आलु लगाइने भएको हो ।

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङका १४ वटै वडामा उत्पादन बढाउने गरी अभियान सुरु गरिएको नगर प्रमुख दिलीप प्रताप खाँणले बताउनुभयो । ‘हाम्रो ध्यान भनेकै यस ठाउँको वातावरण र माटो सुहाउँदो उत्पादनमा जोड हो’, नगर प्रमुख खाँणको भनाइ छ ।    

अन्तिम अपडेट: बैशाख ४, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया