बर्दिवासमा प्रहरीकाे गाेली लागेर घाइते भएका तीनमध्ये दुई जनालाई थप उपचारका लागि काठमाण्डाै पठाइयाे

 मंसिर ९, २०७७ मंगलबार १७:१०:५४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – बर्दिवासमा प्रहरीको गोली लागेर घाइते भएका तीन जनामध्ये दुई जनालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ । मङ्गलबार दिउँसो प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सञ्जय न्यौपाने र श्याम कार्कीलाई उपचारको लागि काठमाण्डौ पठाइएको हो । 

सञ्जयलाई हेलिकप्टरमार्फत र श्यामलाई एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाण्डौ पठाइएको हो । त्यस्तै त्यही घटनामा घाइते भएका अर्का अफताब आलमको बर्दिवासमै उपचार भइरहेको छ ।

मङ्गलबार दिउँसो भिड नियन्त्रण लिने क्रममा प्रहरीले अश्रुग्यास र गोली चलाउँदा उनीहरू घाइते भएका थिए । बर्दिबास नगरपालिका १४ काे शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएकाे थियाे । 

गएकाे मङ्सिर ७ गते ६ वर्षीया बालिका बेपता भएकी थिइन् । साेमबार मध्यरातमा स्थानीय विनोद साहको खाली जग्गामा उनकाे शव भेटिएको थियो ।

प्रहरीले हत्याको आरोपमा गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया