'दुवै अध्यक्षले जस्तोसुकै प्रस्तावको पनि सामना गर्ने आँट राख्नुपर्छ, डराएर समाधान हुँदैन'

 मंसिर १०, २०७७ बुधबार ११:४९:४३ | देवेन्द्र पौडेल
unn.prixa.net

आउँदो चुनावसम्मका लागि आम नागरिकले नेकपालाई दुई तिहाई मत दिएका छन् । उनीहरुले नेकपा फुटको होइन जुटको प्रार्थना गरिरहेका छन् ।

सरकार र पार्टीलाई जोड्दै विकास निर्माण र समृद्धिको काममा नेकपाले नेतृत्व गर्नुपर्छ भनेर आम नागरिकको खबरदारी र चाहना रहेको छ । त्यो चाहना पूरा गर्न दुवै अध्यक्षलाई सहमति र संवादका लागि दबाब दिन अहिले दोस्रो र तेस्रो तहका साथीहरु निकै सक्रियतापूर्वक भेटघाटमा व्यस्त हुनुहुन्छ । सहमति, संवाद र वार्ताको प्रक्रियामा प्रवेश गरेर महाधिवेशनसम्म पार्टीलाई टुटफुट र विभाजनबाट रोक्ने भूमिकाका लागि दोस्रो र तेस्रो तहका साथीहरु निकै सक्रिय हुनुहुन्छ ।

हामी सबैको संस्थागत चाहना भनेको पार्टीको टुटफुट र विभाजन नहोस् भन्ने नै हो । जुनसुकै प्रकारका गतिविधि र क्रियाकलापलाई पनि समाधान गरेर नेतृत्व अघि बढ्नुपर्छ । दुवै अध्यक्षले आफ्नोतर्फबाट भएका कमी कमजोरीलाई आत्मालोचना गर्नुपर्छ । पछिल्लो स्थायी कमिटीको निर्णय कहाँ-कहाँ कार्यान्वयन भएनन् र कसबाट उल्लङ्घन भए भनेर गम्भीर समीक्षा गर्दै पार्टीलाई महाधिवेशनतिर लिएर जानुपर्छ भनिरहेका छौँ ।

अध्यक्ष प्रचण्डले उठाएका केही सवालहरुमा स्वभाविक रुपमा १३ गतेको सचिवालय बैठकमा छलफल हुनेछन् । अध्यक्ष ओलीले पनि आफूलाई लागेका विषयवस्तुलाई बैठकमा ल्याउनुहुनेछ । प्रस्तावहरु आइसकेपछि ती प्रस्तावहरुको सहजतापूर्वक टुंगो लगाउनु नै अहिलेका लागि सान्दर्भिक हुनेछ ।

दुवै जना अध्यक्षले सहमतिको मध्यबिन्दु खोज्नुपर्छ । एक-अर्काबीच आवश्यकभन्दा धेरै भावनात्मक रुपमा भड्काउने काम गर्नु हुँदैन । आएका सबै प्रस्तावहरु पार्टीका प्रस्ताव हुन् । छलफल, बहस, क्रिया र प्रतिक्रियाहरु पार्टीभित्र हुन्छन् ।

पार्टीभित्रको अन्तरसंघर्ष र आएका प्रस्तावहरुलाई सहजरुपमा ग्रहण गर्नुपर्छ । त्यसबाट आतंकित हुने, कसैले केही कुरा राखौँ भन्नेबित्तिकै त्यसबाट पछि हट्ने गर्नुहुँदैन । उठेका विषयलाई आत्मालोचनाको रुपमा ग्रहण गरेर निकास निकाल्नेतिर लाग्नुपर्छ । म त पार्टी एकताको लागि कसरत गरिरहेको छु, कसको पक्षमा भन्दा पनि नेकपाको पक्षमा छु । 

निर्णय गरेपछि मात्रै प्रस्तावहरु तल्लो तहका कमिटीमा छलफलका लागि जान सक्छ । निर्णय नै नगरिकन लगियो भने त्यसले वैधानिकता प्राप्त गर्दैन । तोकिएका बैठकमा दुई अध्यक्ष र अरु कमरेडले उठाउनुभएका विषयवस्तुहरु तल्लो कमिटीसम्म छलफल चलाउने आवश्यकताको बोध भयो भने मात्रै छलफल चल्न सक्छ । तर हाम्रो पार्टी अहिले नै त्यो ठाउँमा पुगेको छैन ।

आफ्नै पार्टी नेतृत्वको दुई तिहाईको सरकार चलिरहेको समयमा यो सरकारलाई अझै थप सुदृढ बनाउने र पार्टीभित्रका समस्यालाई थप सुल्झाउनेतिर लाग्नुृपर्छ । यसमा नै प्रधानमन्त्रीका लागि सबैभन्दा सहज निकासको बाटो हुनेछ । त्यसमा नै सकुशल, सहज, स्वभाविक जनमतको कदर हुन्छ । अरु पार्टीका नेतासँग छलफल गरेर मिलेर सरकार चलाउने प्रसंग जनमत विरुद्धको कदम हो । जसले यो बहस चलाएको भए पनि त्यो जनभावना विपरीत हुन्छ। 

आफ्नै पार्टी नेतृत्वको यही सरकारलाई जोगाएर नै अघि बढ्नुपर्छ । अरु दायाँ बायाँ अनावश्यक कदमतिर लाग्नु हुँदैन । यसै सरकारलाई कमीकमजोरी सच्याउँदै अघि बढाउनुको विकल्प छैन । अरु पार्टीसँग मिलेर सरकार चलाउने बहस चलेको हो भने त्यो चाहिँ राम्रो संकेत होइन ।

तोकिएका बैठकहरुबाट विवादको गाँठो फुक्नेमा म आशावादी छु ।  सबै कमरेडहरुले परिपक्वता, विवेकपूर्वक र जिम्मेवारीपूर्वक पार्टीको एकतालाई जोगाएर लैजाने सोचाइलाई नै पहिलो प्राथमिकतामा राख्नुहुनेछ भन्ने म ठान्छु । सबैको सक्रिय पहल र भूमिका रह्यो भने हामी महाधिवेशनसम्म जान्छौँ । महाधिवेशनमा लैजानु नै अहिलेको राम्रो र सकुशल बाटो हो । 

(नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग टेकमान शाक्यले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ४, २०८१

देवेन्द्र पौडेल

देवेन्द्र पौडेल नेकपा स्थायी कमिटी सदस्य हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया