बर्दिवास बालिका हत्या प्रकरण : मृतक न्याैपानेलाई शहीद घाेषणा गर्न स्थानीयकाे माग

 मंसिर १०, २०७७ बुधबार १३:५९:३० | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – बर्दिवासमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सञ्जय भनिने बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्न स्थानीयले माग गरेका छन् । बुधबार बिहान बर्दिवास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकमा समितिका सदस्यसमेत रहेका न्यौपानेलाई सरकारले शहीद घोषणा गर्नुपर्ने माग अगाडि बढाइएको हो ।

त्यस्तै बैठकले आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च तथा क्षतिपूर्ति बेहाेर्नुपर्ने, गोली चलाउन निर्देशन दिनेलाई निलम्बन गरी बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कानुनअनुसारको कारबाहीको लागि माग अगाडि सारेको हो ।

ती माग सरकारसम्म पुर्‍याउनका लागि कांग्रेस नेता चीरञ्जीवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता समितिसमेत गठन भएको समितका सदस्य हिरा गौतमले जानकारी दिनुभयो ।  

प्रहरीकाे गाेली लागेपछि घाइते भएका न्याैपानेकाे उपचारको क्रममा मङ्गलबार राति काठमाण्डौमा ज्यान गएकाे थियाे, उनकाे बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारले जनाएको छ ।

गएकाे आइतबारदेखि हराएकी महोत्तरीको बर्दिबास १४ की ६ वर्षीया बालिकाकाे शव बाेराभित्र कोचिएको अवस्थामा खाली चौरमा सोमबार मध्यराति भेटिएको थियो ।

बालिका हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ का अरुण साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेकाे छ ।

त्यही घटनाकाे विराेधमा मङ्गलबार स्थानीय आन्दोलित भएका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिट्टिएर’ लाग्दा तीन जना घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया