कोरोना कहरका बीच सुदूरपश्चिमकै ठूलो ‘सिटी हल’ निर्माणले गति लियो

 मंसिर ११, २०७७ बिहिबार १९:४१:२७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिका ८ काे धनगढी गाउँमा निर्माणाधीन धनगढी सिटी हलको निर्माणले गति लिएको छ । कोरोना कहरले विकास कार्य प्रभावित भएको बेला सङ्घीय सरकारको लगानीमा निर्माणाधीन धनगढी सिटी हलको निर्माण कार्यले गति लिएको हो । सिटी हल सुदूरपश्चिम प्रदेशकै ठूलो भएको बताइएको छ ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख इञ्जिनियर महेशबहादुर सिंहले सिटी हलको निर्माण कार्य सन्तोषजनक रहेको बताउनुभयाे । उहाँको अनुसार याे सिटी हल सङ्घीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ,  जसको झन्डै ७० प्रतिशत काम सम्पन्न भइसकेको सिंहले जानकारी दिनुभयाे ।

धनगढी सिटी हल निर्माणको सम्झौता बिकेवाई एमके रोयल जेबी र सरकारबीच २०७६ माघ २ गते भएको हो । याे सम्झौताअनुसार आउँदो २०७८ असार ९ गते अर्थात् ३० महिनाको अवधिमा निर्माण सम्पन्न हुने जनाइएको छ । 

धनगढी सिटी हलको निर्माण कार्यमा लकडाउनले झन्डै तीन महिना काम रोकिए पनि सम्झौता मितिभन्दा अगाडि नै काम सम्पन्न गर्ने दाबी निर्माण व्यवसायीको छ । बालुवा, गिट्टीको अभावले निर्माण कार्यमा समस्या भए पनि काम भने नरोकिएको निर्माण व्यवसायी प्रकाश सेठी बताउनुहुन्छ । 

एक बिघा क्षेत्रफलमा निर्माणाधीन सिटी हलमा एकसाथ झन्डै एक हजार जना अटाउने क्षमता रहेको छ, जसको १० कट्ठा जमिनमा हल मात्रै बन्ने जनाइएको छ । आपाङ्गमैत्री बन्न लागेको सिटी हलको अण्डरग्राउण्ड तथा हलको बेसमेन्टमा पार्किङको व्यवस्था रहनेछ । त्यस्तै, दुई वटा हल बन्नेछन् ।

मुख्य तथा अडिटेरियम सभा हलमा सात सय जना अट्ने क्षमता रहेको छ भने अर्को सेमिनार हलको क्षमता दुई सय १० जना अट्ने बताइएकाे छ । सिटी हलभित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, अति विशिष्ट कक्षको व्यवस्था रहनुको साथै खानेपानी, शौचालयको व्यवस्था रहने भएको छ ।

अग्नि नियन्त्रण कक्ष, बगैँचासहित सुविधा सम्पन्न धनगढी सिटी हल बन्ने जनाइएको छ । निर्माण सम्पन्न भएपछि धनगढी सिटी हलको स्वामित्व धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । जसको व्यवस्थापन पनि धनगढी उपमहानगरपालिकाबाट नै हुने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा ठूलो सभा, समारोहलगायत सार्वजनिक कार्यक्रम गर्न स्थल अभाव हुँदै आएको छ । हलको निर्माणले याे समस्याको समाधान हुने अपेक्षा गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया