चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
कैलाली - गोपीचन्द्र पार्की आउँदाे वर्ष जापानमा हुने टोकियो ओलम्पिकको तयारीमा जुट्नु भएको छ ।
नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिकमा सहभागी हुन पाएपछि उनी त्यसको तयारीमा जुट्नु भएको हो । धनगढीका धावक पार्कीले नेपालगन्ज म्याराथनको छैटौं संस्करणमा विजेता बनेसँगै टोकियो ओलम्पिकमा स्थान पक्का गर्नुभएको थियो ।
ओलम्पिकमा एथ्लेटिक्स खेलाडीले भाग लिने नेपालगञ्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेकोले त्यसमा विजेता हुँदै उहाँको यात्रा टोकियो ओलम्पिकसम्म पुगेको हो । सागमा छोराले दौडदा टीभीमा हेर्न पाउनु भएकी उहाँकी आमा मनुले नेपालगन्ज म्याराथनको नतिजा गोपीले फोन गरेपछि मात्रै थाहा पाउनुभयो ।
उहाँले ओलम्पिक यात्राको पनि आशीर्वाद दिनुभयो । ‘हामीलाई गोपीले दौड्यापछि धेरै निको भया छ । दौडेइ, पुरस्कार जितेइ । हमरो आशीर्वाद छ । देउताको आशीर्वाद छ । सबै नेपाली मान्सेको आशीर्वाद छ ।’
गोपीका आमाबुव भजन र मनुले भन्नुभयोे–‘हमलाई घरमा जसो भए पनि हातखुटा चलन्ज्या खान लाउन पुगिजाओ, त चेला दौडेर पदक आइजाओ । त्यईपछि तेरो ब्या होइजाओ । घरमी बुहारी आइजाओ ।’
अघिल्लो वर्ष सागमा स्वर्ण जित्नु भएका पार्की अब कीर्तिमानधारी वैकुण्ठ मानन्धरको २ घण्टा १५ मिनेटकोे समयको कीर्तिमान तोड्ने लक्ष्यमा छन् । धावक वैकुण्ठ मानन्घर म्याराथनमा आफूले बनाएको कीर्तिमान नेपाली खेलाडीले तोडोस् भन्ने चाहनुहुन्छ । तर, अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा यो रेकर्ड कसैले पनि तोड्न सकेका छैनन् ।
‘वैकुण्ठ गुरुको इच्छा छ, उहाँको म्याराथनको रेकर्ड कुनै नेपाली खेलाडीले तोडाेस् भन्ने । अब म म्याराथन खेल्छु, त्यो रेकर्ड तोड्छु', पार्कीले भन्नुभयो, ‘यसअघि पनि मैले ६ म्याराथनमा दौडिसकेको छु ।’
उहाँले अब ओलम्पिक र एसियन गेम्समा सहभागिता मात्र नभएर पदकको दावेदारको हिसाबमा नेपालको चुनौती प्रस्तुत गर्ने बताउनुभयो । अहिलेसम्म राष्ट्रिय कीर्तिमान र सहभागिताका लागि मात्र ओलम्पिक र एसियन गेम्समा सहभागिता हुने परम्पराको अन्त्य गर्ने उहाँको भनाइ छ ।
१३ औं सागमा ५ किलोमिटरमा स्वर्ण जित्नु भएका उहाँले मिडिल अडरको दौड छाडेको बताउनुभयो । उहाँले म्याराथनमा मात्र कीर्तिमान भएकाले त्यो ब्रेक गर्न आफूले मिडिल अडरको दौड छाडेको बताउनुभयो ।
आफू जन्मिनुभन्दा दुई वर्ष अगाडि बनेक कीर्तिमान ब्रेक गर्नु आफ्ना लागि पनि कोसेढुङ्गा नै सावित हुने उहाँको बुझाइ छ । ‘गुमेको पदक फिर्ता ल्याउने सपना अघिल्लो वर्ष नै पूरा भएको छ । अबको लक्ष्य ओलम्पिकमा उत्कृष्ट खेल्ने हो ।’ उहाँले भन्नुभयोे– ‘सपनाको सिमाना हुन्न, जसले पनि देख्न सक्छ, तर पूरा गर्न पछ्याउनै पर्छ ।’
१३ औँ सागमा राष्ट्रिय टोलीका प्रशिक्षक धनिराम चौधरी र छविलाल थापाले गोपीको चाहना बुझेरै उहाँलाई पाँच हजार मिटरमा प्रतिस्पर्धा गराउने निर्णय लिनुभयो ।
घरेलु ट्रयाक, दर्शकको साथ र हौसला । गोपीले १४ वर्षदेखि पछ्याइरहेको सपना पूरा गर्ने स्वर्णिम अवसर थियो । तर, प्रतिस्पर्धी खेलाडीले सुरुदेखि नै डिस्ट्रक्टिभ गेम खेले, सबै खेलाडीको रणनीति अरूलाई थकाउनेमा केन्द्रीत थियो । त्यसैले, दौड सुरुदेखि नै स्लो देखियो ।
गोपीलाई अघि बढ्न खोज्दा भारतीय खेलाडीले नियम संगत ब्लक पनि गरे । प्रतिस्पर्धाको अन्त्यतिर गोपी र नेपालका अर्का खेलाडी हरिकुमार रिमाल दुई भारतीय खेलाडीभन्दा झन्डै दुई पाइला पछाडि थिए । अन्तिम ल्याप्ससम्म पनि कसैले स्पिड बढाएको थिएन ।
दुई सय मिटर बाँकी छँदा एक भारतीय खेलाडी र नेपाली खेलाडी हरिकुमार रिमालले स्पीड बढाउँदा यतिबेला गोपी पछाडि नै हुनुहुन्थ्यो । अन्तिममा एकै पटक जित्छु भनेर उहाँ विश्वस्त हुनुहुन्थ्यो । एक सय १० मिटर बाँकी छँदा आफ्नो भएभरको ताकत लगाएका गोपीले ३० मिटर बाँकी छँदा प्रतिस्पर्धीलाई उछिन्नुभयो ।
उहाँले भारतीय खेलाडीभन्दा एक सेकेण्ड अघि फिनिसिङ लाइनमा आफ्नो पाइला राख्नुभयो । ‘जसरी पनि स्वर्ण जित्छु भन्ने थियो । भारतीय मात्र होईन जोसुकैले पनि मलाई रोक्न सक्ने अवस्था थिएन ।’ सपनाको फिनिस लाइन पूरा गरेपछि उहाँले भन्नुभएको थियो, ‘राजेन्द्र भण्डारीको जीवनबाट प्रेरित भएर दौडन थालेको थिए ।
देशका लागि गुमेको पदक फिर्ता ल्याउने सपना पुरा पनि पूरा गरे । मेरो जीवनले पनि यूटर्न लियो ।’ २०६३ सालमा राष्ट्रपति रनिङ सिल्डबाट पार्कीको दौड यात्रा शुरु भएको थियो । धनगढीका पार्की जिल्लाबाट केन्द्रसम्म पुग्दै अन्तर्राष्ट्रिय पदक जित्दा आफूले १४ वर्षसम्म मेहनत गर्नु परेको बताउनुहुन्छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेकाे भवानी मावि, गौरीपुरको आँगन । २०६३ सालको माघको कुनै दिन नेपाली शिक्षक चित्रा भट्ट विद्यार्थीलाई चौरमा भेला गरेर पारिलो घाममा कोर्सभित्र र बाहिरका विषयवस्तु पढाउँदै हुनुहुन्थ्यो ।
‘नेपालले दुई सय मिटर स्ट्रिपल चेज र पाँच हजार मिटरमा जितेका पदक खोसियो’ चित्राले यस्तै केही भनेको हुनुपर्छ । चौरमा सुनिरहेका विद्यार्थीमध्ये गोपीचन्द्र पार्की पनि हुनुहुन्थ्यो । उहाँलाई आज दुरुस्तै याद त छैन्, तर ‘पाँच हजार मिटरमा हात पारेको नेपालको पदक खोसियो’ भन्ने शब्द भने अझै कानमा गुञ्जिरहेझैँ लाग्छ ।
जुन शब्दले उहाँको जीवन युटर्न भयो । दौडेर पनि पदक जितिन्छ भन्ने गोपीचन्द्रले सुन्नु भएको यो नै पहिलो पटक थियो । तर ‘पदक खोसिएको’ शब्द उहाँको मुटुमा काँडासरी बिझिरह्यो । ‘कसले खोस्यो होला, नेपालीले जितेको पदक ? किन लुटिए होलान् ती जित्ने मान्छे ? लुटेरा को होलान् ? यी र यस्तै अनुत्तरित जिज्ञासा बोकेर गोपी डेढ किलोमिटर पर रहेको घर पुग्नुभयो ।
राति खाना रुचेन, गृहकार्य पनि नगरी सुत्नुभयो । पदक फिर्ता ल्याएर आमालाई दिँदा आमाको अनुहार निकै चम्किलो भएको थियो, स्कुलमा भव्य कार्यक्रम चल्दै थियो । ‘होइन, आज यो कति सुतेको ? स्कुल जाने होइन ?’ बिहान आमा कराएपछि ‘गोपी’ को देखिरहेको सपना टुट्यो, उहाँ सपनाबाट बिउँझिउनुभयो ।
गाउँका ठूला दाइहरू धनगढीको मुख्य बजारसम्म पुगेर पत्रिका पढ्थे । भर्खरै माओवादी द्वन्द्व शान्ति प्रक्रियामा आएको थियो । संविधान सभाको सम्भावित चुनावबारे गाउँका चिया पसलमा चर्चा सुरु भएको थियो । ‘खोसिएको पदक’ बारे सुन्नु अघिसम्म गोपीलाई पनि यस्ता विषयमा चाख थियोे, तर अब उहाँ बदलिनुभयो ।
ट्युसन पढ्न घरबाट झण्डै पाँच किलोमिटर टाढा जानुपर्थ्यो । पहिले साइकल चढेर जाने गोपी त्यसपछि पैदलै हिँड्न थाल्नुभयो । गोपीको ध्यान दौडमै केन्द्रित हुन्थ्यो । उहाँले केही साथीलाई धावक बन्ने आफ्नो योजना सुनाउनुभयो, तर भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको धनगढी स्थित त्यो सुदूर गौरीपुर गाउँमा उहाँको सपना कसैले बुझेनन् ।
पढाइमा राम्रै भएको छोराको पढाई बिग्रिएपछि भने घरमा सबैले सोधखोज गर्न थाले, किनकि सँधै तेस्रो हुने छोरो बल्लतल्ल ग्रेस नम्बर जोडेर पास भएकोे थियो । दौडमा भने उहाँ दिन प्रतिदिन अब्बल बन्दै हुनुहुन्थ्यो । भाले नबास्दै दौडन निस्कन्नुहुन्थ्यो । कहिलेकाहीँ त राति पनि दौडने सुर चल्थ्यो गोपीचन्द्रलाई ।
‘एक दिन झिसमिस उज्यालो भइसकेजस्तो लाग्यो । झण्डै ४५ मिनेट हिँडेपछि बल्ल महसुस हुन थाल्यो– 'बिहान हुने छाँटै छैन । त्यसपछि म घर फर्किंए,’ गोपी सम्झनुहुन्छ, ‘घरबाट म निस्कनु अघि ढोकाको आवाजले आमाको निन्द्रा खुलेछ, मेरो कोठामा आएर हेर्दा देख्नु भएनछ । म घर फर्किएपछि मात्रै उहाँको चिन्ता दूर भयो ।’
सुखद स्मृति पनि छन्– स्कुल स्तरीय, जिल्ला स्तरीय हुँदै क्षेत्रसम्म उहाँले लगालग एथलेटिक्समा स्वर्ण जित्नुभयो । त्यसपछि गाउँमा ठूलै इज्जत मिल्यो । स्थानीय पत्रपत्रिका र रेडियोमा उहाँसँगै गौरीपुरको नाम जोडिएर आयो । गाउँले पनि दंग परे । छरछिमेकबाट तारिफ सुनेपछि आमा–बाबु त खुसी हुने नै भए ।
गोपी सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै अन्तर–विद्यालय स्तरीय राष्ट्रिय प्रतियोगिता खेल्न काठमाण्डौ जाँदा उहाँमा गर्व र खेल जितेरै छाड्ने आत्मविश्वास थियो । तर, आठ खेलाडी सहभागी भएको चार सय मिटरतर्फको प्रतिस्पर्धामा उहाँ अन्तिम हुनुभयो ।
पहिलो हुने खेलाडी टेलिभिजनका क्यामेरा र फोटोग्राफरबाट घेरिए, पुछारका गोपीलाई न कसैले चिन्यो न गन्यो । खेलकुदमा जित्न मात्रै जान्नुभएका गोपीले हार्नुको पीडा पहिलोपल्ट अनुभूति गर्नुभयो । केही महिनापछि अर्को प्रतिस्पर्धा खेल्न उहाँ फेरि काठमाण्डौ जानुभयो । यस पटक उहाँको प्रदर्शन केही सुध्रिएको थियो । अन्य क्षेत्रबाट सिनियर खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
राम्रो प्रदर्शन पुलिस, आर्मी र एपीएफका खेलाडीले गरे । राम्रो प्रदर्शनका लागि राम्रै तयारी, सन्तुलित आहार र पर्याप्त प्रशिक्षण चाहिन्छ भन्ने गोपीले बुझ्नुभयो ।
खेलाडी बन्ने हुटहुटीले नै उहाँलाई शसस्त्र प्रहरी बनायो । ०६६ सालमा सशस्त्र प्रहरी बल (एपीएफ) मा भर्ना भए । अत्तरिया स्थित वैद्यनाथ बाहिनीमा तालिम लिएर केही समयपछि उहाँ ड्युटीका लागि खप्तड गुल्म, अछाममा खटिएनुभयो ।
अग्ला सुन्दर पहाडझैं गाेपीकाे सपना पनि उँचाे थियाे । यही बुझेर खप्तड युनिटले गोपीलाई छैठौँ राष्ट्रिय प्रतियोगिताको छनोट खेल्न कैलालीको अत्तरिया पठायो, त्यहाँ उहाँ जिल्ला प्रथम हुनुभयो । तर, छनोट यात्रा यसभन्दा अघि बढेन । त्यसपछि उहाँलाई लाग्यो राम्रो खेलाडी बन्नका लागि यहाँ होईन, काठमाण्डौको एपीएफ क्लबमा बसेर नियमित प्रशिक्षण गर्नुपर्छ । त्यसका लागि खप्तडबाट काठमाण्डौ आएर उहाँले सिसम ५ एसटिएफ कार्यदल गणमा तालिम लिए ।
‘स्पेसल टास्क फोर्स (एसटीएफ) निकै कठिन तालिम हो । यहाँ, १८ केजी बालुवा बोकेर तीन घन्टा कुद्नुपर्छ । मलाई हरेक चुनौतीसँग लड्न सक्ने गरी आत्मविश्वासी बनाउन तालिमको ठूलो भूमिका रह्यो । पाँच हजार मिटर दौडमा एपीएफ क्लबको आन्तरिक प्रतिस्पर्धामा प्रथम भएपछि एपीएफ क्लबमा आबद्ध हुने ढोका खुल्यो ।
एसटीएफ बटालियनका तत्कालीन गणपति नारायणदत्त पौडेल, एथलेटिक्स प्रशिक्षक सुनिल नरसिंह राणा र एपीएफ क्लबका तत्कालीन शाखा इन्चार्ज तत्कालीन डिएसपी माधव रेग्मीले उहाँलाई क्लबमा ल्याउन ठूलो योगदान गर्नुभएको थियो ।
एपीएफ क्लबमा आएको तीन महिनामै गोपी राष्ट्रिय टोलीमा छनोट हुनुभयो । तर, यसपछिको यात्रा कम चुनौतीपूर्ण थिएन । उहाँले दक्षिण कोरियाको ईन्चोनमा भएको १७ औँ एसियाली खेलकुदमा पाँच हजार मिटरतर्फ प्रतिस्पर्धा गर्नुभयो तर, प्रदर्शन राम्रो भएन । १२ औँ सागमा १० हजार मिटरमा प्रतिस्पर्धा गर्नुभयो, त्यहाँ पनि पदक जित्न सक्नुभएन् ।
जित–हारले युवावस्थामै गोपीलाई परिपक्व बनाउँदै थियो, तर स्वास्थ्यले एक्कासी धोका दियो– उहाँलाई कडा खाले जण्डिस भयो । जीवन–मरणको दोसाँधमा पुगेका गोपीलाई गाउँका धामी–झाँक्री त के भारत पञ्जाबका विशिष्ट डाक्टरको औषधीले पनि छोएन । एथलेटिक्ससँगको नाता टुट्यो ।
परिवारले चिकित्सककै परामर्शमा आयुर्वेदिक औषधि सेवन गरायो, जसले सोचेभन्दा चाँडो सुधार ल्यायोे । अलि निको भएपछि गोपीले फेरि सपना देख्ने साहस गर्नुभयो ‘कुद् गोपी कुद्,’ सायद मनले यस्तै भन्यो । १२ औं साग खेलेर भारतबाट फर्किएको केही महिनामै उहाँमा जण्डिस दोहोरियो । फेरि थला पर्नुभयो । नौ महिना प्रशिक्षण प्रभावित भयो ।
०७२ फागुनमा बिरामी हुनु भएका गोपी ०७३ कात्तिकमा आएर बल्ल हल्का दौडन सक्ने हुनुभयो । सातौँ राष्ट्रिय खेलकुदका लागि दुई महिना मात्रै प्रशिक्षण गर्नुभएका गोपीचन्द्रले प्रतियोगितामा १० हजार मिटर र पाँच हजार मिटर दौडमा स्वर्ण जित्नुभयो । आठौँमा पनि यी दुवै इभेन्टस्मा सफलता दोहोर्याउनुभयो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ९ को एउटा गाउँ गौरीपुर । भारतसँग सीमा जोडिएको मोहना नदीले छुट्टाएको छ, गाउँको सीमा । वडा नम्बर ९ अधिकांश पहाडतिरबाट बसाई सरी आएका र राना थारु समुदायको बाक्लो उपस्थिति । त्यही वडाको एउटा गाउँ हो गौरीपुर ।
आधा शताब्दीभन्दा वढी भईसकेको छ यो गाउँ फडानी भएको । यही गाउँमा डोटीको दिपायल सिलगढी नगरपालिकाको धामी गाउँबाट बसाई सरी आएको पार्की परिवारको पनि बसोबास छ । ७६ वर्षीय भजन पार्की र ६६ वर्षीया मनु पार्कीले जीवनको उत्तरार्द्धमा मानसम्मान र खुशी पाउनुभएको छ । काईंलो छोरा गोपीचन्द्र पार्कीले नाम मात्रै चम्काउनुभएको छैन, गाउँघरमा मानसम्मान पनि दिनुभएको छ । गोपीको परिवारमा ५ जना दाजुभाई हुनुहुन्छ ।
सबैभन्दा जेठा लक्ष्मण घरमै ट्याक्टर चलाउनुहुन्छ । माईला जगन्नाथले गाउँ नजिकै साईकल मर्मतको पसल राख्नुभएको छ । साईंला रबिन्द्र रोजगारीका लागि भारतको मुम्बईमा हुनुहुन्छ । कान्छो शिवराज सशस्त्र प्रहरीमा जागिरे हुनुहुन्छ । उहाँ पनि खेलाडी नै हुनुहुन्छ । बुबा आमाले हलो जोतेरै भएको खेत लगाएर हुर्काउनु भएको हो सबै छोराछोरीलाई ।
घरमा बाँसका नाङला बनाएरै सबै छोराछोरीहरुलाई स्कुल पढाउनुभयो भजन र मनुले । उनीहरुले पढ्दै छोड्दै आफ्नो बाटो समाते । त्यसमा सबैभन्दा बढी समयसम्म स्कुल जाने गोपी नै हुन् । स्थानीय भवानी माविमा कक्षा ८ सम्म पढ्नुभयो । नाङलाहरु बनाएर गोपीका लागि किताब कापी र कपडाको जोहो गरेको भजन सम्झिनुहुन्छ । आठमा पढ्दै गर्दा बुवको स्थिति देखेर गोपीले अब आफू काम गर्ने काम खोज्न बुवालाई भन्नुभयो ।
उहाँका बुबा काम खोज्न धनगढी बजार आउनुभयो । नचिनेको र नजानेको त्यसमा कलिलो छोरालाई के काम खोज्ने भनेर दुविधाकै बीचमा धनगढीको मुख्य बजार आउनु भएका उहाँका बुबाले काम पाउनु भएन । ‘काम गर्छु खोजिदिआ बा भन्यो म काम खोज्न बजार आए । केही काम नै पाइएन ।’ डोटेली भाषामै भजनले भन्नुभयोे–‘नरायाले केही काम भए भनौंला भने । सिलगढीका मान्से त मुख लई बोलेनन् ।’
ओलम्पिक खेल्नका लागि गोपी छनोट भएपछि उहाँका परिवार र गाउँलेहरुमा खुशीयाली छाएको छ । चार पाँच कक्षामा पढ्दाखेरि नै उनका घरमा मेडल र सिल्डहरु भरिन थालेका थिए । स्कुल पठाएर छोराले प्रगति नै गरेछ भने बुवा आमा पनि खुशी नहुने कुरै भएन् ।
‘घडीमा कति बज्यो भन्ने पनि थाहा हुन्थेन भाइलाई । कति दिन त रातिको दुई बजे नै गएर दौड्थ्यो', गोपीका जेठा दाजु लक्ष्मणले भन्नुभयो– ‘पछि आर्थिक अवस्थाले पढ्न नपाए पनि अहिले दौडेर देशको नाम राखेको छ । सुदूरपश्चिमको नाम राखेको छ । हामी सबैको नाम राखेको छ । आत्मैदेखि खुशी छौं । अबको ओलम्पिकमा पनि राम्रो हाेस्, हामी सबैको आशीर्वाद छ ।’
गोपीको सफलताले परिवार र छिमेकलाई पनि उत्साहित बनाएको छ । ‘हामी पिछडिएको वर्गबाट माथि उठेर यहाँसम्म पुग्ला भन्ने कल्पना पनि गरेका थिएनौं । गोपीको सफलताले सपनामा देखेका चिजहरु पनि पुरा हुन्छन् भन्ने लाग्न थालेको हामी सबै गाउँलेहरुलाई ।’
स्थानीय तथा गोपीका आफन्त समेत रहेका हुकुम सिंह पार्कीले भने– ‘दाजु भाउजूले आधा पेट खाएरै भए पनि मेहनत गर्नुभएको थियो । त्यसलाई गोपीले सार्थक बनायो । टोकियो ओलम्पिकमा पनि राम्रो गरोस् भन्ने शुभकामना दिन चाहन्छौं ।’ १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपाललाई ऐतिहासिक गुमेको गोल्ड मेडल फिर्ता ल्याएपछि वडाको पहलमा उनलाई सम्मान गराउने कार्यक्रम तय गरिएको थियो । तर त्यो कार्यक्रम कोरोनाका कारण हुन नसकेको वडा नम्बर ९ का वडाध्यक्ष प्रेमबहादुर भण्डारीले बताउनुभयाे ।
‘गोपी टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । यो हामी धनगढीबासी, वडावबासीहरुका लागि गौरबको कुरा हो । हामी सबैले सहयोग गर्नुपर्छ ।’ वडाध्यक्ष भण्डारीले भन्नुभयोे– ‘गोपी यो ठाउँको गहना हो । गोपीलाई गर्न सकिने सहयोग हामी वडाको तर्फबाट गर्छौ । धनगढी उपमहानगरपालिकालाई पनि सहयोगका लागि पहल गर्छौ ।’
गोपीका परिवारका सवै दाजु र एक भाइको विहे भइसकेको छ । उहाँको मात्रै विवाह गर्न बाँकी छ । उहाँका बुवा आमाले बुहारी भित्र्याउन धेरै ठाउँमा नगएका होइनन् । कतिपय युवतीसँग विहेको कुरा पनि अन्तिम तयारी भइसकेको थियो । तर गोपीले त्यसलाई अस्वीकार गरे ।
३० वर्ष उमेर पुगेका गोपीलाई बुवा आमाले बिहे गर्नका लागि धेरै ठाउँमा केटी पनि हेरे । तर उहाँले विहेभन्दा पनि ओलम्पिक खेल्नुलाई पहिलो प्राथमिकता दिएको आमा मनु र बुवा भजनले सुनाउनुभयो । छोराले ओलम्पिक खेलेपछि बुवा आमामा बुहारी पनि चाँडै घर आउने आशा पलाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।