म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन घट्ने

राेग र किराकाे प्रकाेप

 मंसिर १६, २०७७ मंगलबार २०:२७:२४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा यस वर्ष विगतको तुलनामा सुन्तला उत्पादन घट्ने भएको छ । चाइनिज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको हो । सुन्तलाको बोटमा औंसा किरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि किसानहरू चिन्तित भएका छन् । 

बेनी नगरपालिका ३ भकिम्लीको राखु, मरेक तथा ४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मंगला र मालिका गाउँपालिकाको विभिन्न वडामा लगाइएको सुन्तला खेतीमा औंसा किराको प्रकोप देखिएको छ । रोग र किराको प्रकोपका कारणले गर्दा बोटमा लागेको दाना (फल) ठूलो भए पनि यस वर्ष विगतको तुलनामा सुन्तला उत्पादन घट्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । 

बोटमा औंसा किरा लागेर पाक्न लागेको सुन्तला झरेपछि आफूहरु समस्यामा परेको बास्कुनाका अगुवा किसान तिलक गुरुङले गुनासो गर्नुभयो । बास्कुना, सुर्केमेला र थामडाँडा क्षेत्रमा मात्रै ७० घरधुरीले २० हजार बोट सुन्तला लगाएका छन् भने तीमध्ये सात हजार बोटले उत्पादन दिन थालेको उहाँले जानकारी दिनुभयो । किसान गुरुङका अनुसार गएको वर्ष बास्कुना–सुर्केमेला र थामडाँडा क्षेत्रबाट मात्रै ४० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । 

बास्कुना क्षेत्रमा उत्पादित सुन्तला बास्कुना कृषि सहकारीमार्फत बिक्री वितरणको व्यवस्था मिलाइएको छ । प्रतिकेजी ६५ रुपैयाँ मूल्य तोकिएको सुन्तला बिक्रीबाट उत्पादनको २ प्रतिशत रकम सहकारीलाई दिइने अध्यक्ष गुरुङको भनाइ छ । यसपटक बास्कुनामा ‘ए’ र ‘बी’ ग्रेडका मात्रै सुन्तला रहेका छन् । नवलपरासी, कास्कीलगायत जिल्लाबाट सुन्तला खरिद गर्न ठेकेदारहरूले सम्पर्क गरेर बारीमै आउने गरेको किसानहरू बताउँछन् । म्याग्दीका अधिकांश किसानहरूले सुन्तला ठेक्कामा बेच्दै आएका छन् । 

सुन्तलाको बोटमा औंसा किरा लागेका कारण यसपटक २० देखि २५ प्रतिशतले सुन्तला उत्पादन घट्ने ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । सुन्तलामा रोग, किराको प्रकोप देखिएपछि आफूले स्थलगत रुपमा अनुगमन गरेको बताउँदै उहाँले किरा लागेर झरेको दानालाई सङ्कलन गर्न किसानहरुलाई प्लास्टिक सहयोग गरिएको जानकारी दिनुभयो । औंसा किरा जुनारपछि सुन्तला खेतीमा लागेको हुँदा झरेका सुन्तला सङ्कलन गरी व्यवस्थापन गर्न किसानलाई आग्रह गरिएको छ । 

रोग, किराको प्रकोप तथा यस वर्ष अत्यधिक वर्षाका कारण गुणस्तरमा कमी आएको हुँदा सुन्तला उत्पादन घट्ने कृषि प्रसार अधिकृत पाण्डेको भनाइ छ । रोग एवं किराको उपचार गर्न आउँदा दिनमा सुन्तला उत्पादक किसानहरुको बगैंचा र बोटमा प्रोटिन बेट (खाद्य पासो) थापेर औंसा किरालाई नियन्त्रण गरिने उहाँले जानकारी दिनुभयो । गएको आर्थिक वर्षसम्म म्याग्दीमा कुल सात सय ६ हेक्टर क्षेत्रफलको जमिनमा सुन्तला खेती गरिएकोमा त्यसमध्ये तीन सय ३५ हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिएको थियो । गएको वर्ष दुई हजार चार सय १२ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा वार्षिक ७ दशमलव २ प्रतिशत उत्पादकत्व रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

यस वर्ष थप २४ हेक्टरको जमिनमा सुन्तला खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दीमा स्थानीय (लोकल) जातको सुन्तला लगाउने गरिएको छ । जिल्लाको भकिम्ली, सिङ्गा, ताकम, विम, देवीस्थान, मुदी, मराङ, बेगखोला, बराङ्जा, दाना, नारच्याङ, भूरुङ–तातोपानी, दोवा, घार, घतान, पात्लेखेत, राखुभगवती र पिप्ले सुन्तला उत्पादनका हिसाबले अब्बल क्षेत्र मानिन्छन् । 

म्याग्दीमा उत्पादित सुन्तलाको बजार सदरमुकाम बेनी हुँदै पर्वत, बागलुङ, पोखरा, नारायणघाट, बुटवल र काठमाण्डौसम्म पुग्ने गरेको छ । पछिल्लो समय खाद्यान्न बालीभन्दा फलफुल खेतीको उत्पादन राम्रो हुनुका साथै आम्दानीसमेत बढ्न थालेपछि किसानहरू व्यावसायिक फलफुल खेतीतर्फ आकर्षित भएका छन् ।   

अन्तिम अपडेट: चैत १३, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया