६० जना अपाङ्गता भएकाहरु अटाएकाे सिर्जनशील केन्द्र : गाँस, बास र पढाइको सुविधा

 मंसिर १९, २०७७ शुक्रबार ८:१०:२८ | देव पचभैया
unn.prixa.net

पाल्पा - १० वर्षदेखि संचालनमा आएको पाल्पाको सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रले  फरक क्षमता भएकाहरुलाई रोजगारी प्रदान गर्नुका साथै पढाइ र आवासको समेत सुविधा प्रदान गर्दै आएको छ ।१४ जनाले रोजगारी पाएका छन् ।

नर्सरीदेखि स्नातकोत्तर तहसम्मका ४० जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गरि पढाउँदै आएको सिर्जनशील अपाङ्ग केन्द्रमा  १४ जना कामदार र ६ जना कर्मचारी छन् । झोल साबुन, फिनेल, अगरबत्ती, चिया पत्ती, स्यानिटाइजर, बाँसको र्याक, मुढा, अम्रिसोको कुचो, ट्वाइलेट क्लिनर, मास्क, गुडिया, कुलिनजस्ता दर्जनभन्दा बढी उपयोगी सामाग्री उत्पादन र बिक्रीवितरणमा खटिने सबै १४ जना अपांगता भएकाहरु हुन् ।  

पाल्पाका ६, गोरखा र अर्घाखाँचीका २/२ जना र रुपन्देहीका ४ जनालाई रोजगारी दिएको भन्दै केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले सीप, जाँगर  र इच्छा भएका जोसुकै फरक क्षमताका आए पनि संस्थाले रोजगारी दिन तयार रहेको बताउनुभयो । 

संस्थामा उत्पादित सामानहरु उनीहरु आफैंले कार्यालय, संघसंस्था र पसल तथा घर-घरमा बिक्री गर्दै आएका छन् । ८ वर्षदेखि यही संस्थामा कार्यरत पाल्पा छहराका ४६ वर्षीय प्रेमबहादुर रानाले बेच्दा कमिसन र बनाउँदा ज्याला पाउने गरेको बताउनुभयो ।

कामका आधारमा मासिक ५ हजारदेखि १५ हजार रुपैयाँसम्म आम्दानी हुने अर्का कर्मचारी २८ वर्षीया तुलसा पौडेलले बताउनुभयो । जिउने आधार नै सिर्जनशील अपाङ्गता केन्द्र भएको उनीहरुको भनाइ छ ।  

विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा संचालन हुँदै आएको केन्द्रलाई स्थानीय सरकारले भने वास्ता नगरेको अध्यक्ष भट्टराईको गुनासो छ । उनीहरु ३ वर्षदेखि आफ्नै भवन निर्माण गरी सामूहिक रुपमा बस्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया