विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र सहायकले लाखौं रकम हिनामिना गरेको आरोप

 मंसिर २०, २०७७ शनिबार १२:४८:१९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र कार्यालय सहायकलाई स्थानीयले लाखौं रकम हिनामिना गरेको आरोप लगाएका छन् । 

जिल्लाको बाँफिकोट गाउँपालिका-९ मा रहेको जनकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटा, प्रधानाध्यापक बलबहादुर खत्री र कार्यालय सहायक सदु विकले विद्यालयको लाखौं रकम हिनामिना गरेको भन्दै स्थानीयले आन्दोलन समेत गरेका छन् । सदु विकले विद्यालयको लेखापालको काम गर्दै आएको बताइएको छ । 

पटक-पटक विद्यालयको आयव्यय रकम माग्दा पनि वास्ता नगरेको, विद्यालयको अडिट लुकाउने गरेको, निर्माण भएका र निर्माणाधिन भौतिक संरचनाको रकम पारदर्शी नगराएको लगायतका आरोपसहित स्थानीयले विद्यालयमा नारा जुलुस गरेपछि तीनै जना आरोपितलाई प्रहरीले सुरक्षा दिएको थियो । आफूहरुमाथि असुरक्षाको महशुस भएपछि उनीहरुले विद्यालयमै प्रहरी बोलाएर नारा जुलुसबाट भागेको स्थानीयले बताएका छन् । 

प्राप्त जानकारी अनुसार, विद्यालयको करिब ३ वर्षको आम्दानी खर्च लुकाएकाे पाइएकाे छ । स्थानीयले २०७४ सालदेखि विद्यालयको एक-एक हिसाब खोजे  तापनि उनीहरुले आनाकानी गर्दै आएको नाम प्रकाशन नगर्ने सर्तमा एक स्थानीयले बताउनुभयो । उहाँका अनुसार, विगतदेखि नै शिक्षकहरुले पाउने तलबबाट समेत रकम कट्टा गरिएको छ भने विद्यार्थीबाट लिइएको मार्कसिट, सर्टिफिकेट र रजिष्ट्रेशन शुल्क लुकाउने गरिएको छ ।

कार्यरत शिक्षकहरुको चाडपर्व खर्च, अनुदान रकम समेत मिलोमतोमा कुम्ल्याइएको गुनासो स्थानीयकाे रहेको छ । त्यसैगरी गएकाे वर्ष एसईईमा विद्यालय उत्कृष्ट हुँदा पाएको पुरस्कार रकम, विद्यालयका प्रशासनिक खर्चको लागि गाउँपालिकाबाट पाएको रकम, कक्षा १ देखि ३ सम्मको विद्यार्थीको ड्रेस शुल्क, बाल शिक्षाको फाराम शुल्कमा समेत अनियमितता गरेको आरोप छ । ‘विद्यालयको सोलार समेत बेचिएको छ,’ अर्का स्थानीयले भने ‘विद्यालयको पुरानो भवन भत्काउँदा निकालेका ८४ थान टिनका पाता समेत गायब गरिएको छ ।’

विद्यालयमा अभिभावक शुल्क भनेर १५ सय रकम लिने गरिएको, ट्युसन र रजिष्ट्रेशन शुल्कको पैसाले केही शिक्षकलाई तलब व्यवस्था गर्ने गरिएको बताइएतापनि यस कुराको पारदर्शिता नभएकोमा स्थानीयको आपत्ति रहेको छ । 

विद्यालयको भवन निर्माणमा समेत रकम अनियमितता भएको उनीहरुको दाबी छ । जिल्ला शिक्षा कार्यालयबाट १६ लाख रकम प्राप्त भएको तर भवन निर्माणको लागि १२ लाख ९० हजारमा ठेक्का परेर काम सम्पन्न भएको थियो । त्यसबापत विद्यालयमा बचेको ३ लाख दश हजार रकम समेत तीन जनाले मिलेर खाएको स्थानीयको आरोप छ । 

यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटाले निराधार र कपोलकल्पित आरोप भएको जनाउनुभयो । उहाँले अराजक समूहले गाउँमा डरलाग्दाे वातावरण सिर्जना गरेर विद्यालयमा हस्तक्षेप गर्न खोजेको बताउनुभयो । 

'हिसाब किताब देखाउने पनि कानुन र  विधिसम्मत तरिका  हुन्छ, यहाँ त होहल्ला गरेर,पढाइ नै प्रभावित पार्ने काम भयो’ उहाँले भन्नुभयो, ‘हिसाब किताब जान्न पाउनुपर्ने, देखाउनु पर्ने नाममा अर्काको चरित्र हत्या गर्ने काम भयो ।' विद्यालय भवन निर्माणको विषय आफू अध्यक्ष हुुनुभन्दा पहिले नै भएको प्रतिक्रिया दिनु हुँदै उहाँले आफूमाथि लागेको आरोपको कानुनी बाटो समात्ने जनाउनुभयो । 

विवादले चर्को रुप लिएपछि प्रहरीले अध्यक्ष, प्रधानाध्यापक र कार्यालय सहायकलाई जिल्ला ल्याएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको एक छलफलमा दुवै पक्षका व्यक्तिहरु बसेर पौष १५ गतेभित्र अभिभावक भेला बोलाएर सामाजिक परीक्षणमार्फत विद्यालयको आयव्यय र प्रगति सार्वजनिक गर्ने निर्णय गरेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको अध्यक्षतामा बसेको बैठकले यस निर्णय गरेको हो । 

शिक्षा नियमावली अनुसार अभिभावक भेला बोलाएर आयव्यय सार्वजनिक गर्ने  र कोही कसैलाई धम्क्याउने कार्य कसैले नगर्ने गरी पठाइएको छ, प्रजिअ बद्रिनाथ गैरेले भन्नुभयो ‘हिसाबकिताब देखाउँदा पनि अभिभावकहरुलाई शंका लागेमा थप छानबिन गरी कारबाहीको प्रक्रिया सुरु गरिनेछ ।’ 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया