स्थायी कमिटीलाई ओलीको पत्र, ‘प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा आउँदिन’

 मंसिर २१, २०७७ आइतबार १६:१४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  आउँदो २८ गते अर्को बैठक बस्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति विना नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठक दुवै अध्यक्षका प्रस्तावमाथि सामान्य छलफलपछि स्थगित भएको हो ।

आइतबारको बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको प्रस्ताव र पार्टीमा उत्पन्न विवादबारे सामान्य छलफल भएको स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । अब २८ गते स्थायी कमिटीको बैठक र मङ्सिर २५ गतेको लागि बोलाइएको केन्द्रीय समितिको बैठक पुस ५ गते बस्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

आइतबारको बैठकमा उपस्थित नभएका ओलीले पत्र पठाउनुभएको थियो । ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावमा आफूलाई निराधार आरोप लगाइएको र त्यो प्रस्ताव फिर्ता नभएसम्म आफू बैठकमा आउन नसक्ने जानकारीसहितको पत्र पठाउनुभएको पनि नेता पौडेलले जानकारी दिनुभयो ।

‘अध्यक्ष प्रचण्डको डकुमेन्टलाई राजनीतिक प्रस्ताव भन्न मिल्दैन र त्यो आरोपपत्रको बारेमा स्थायी कमिटीमा छलफल नै गर्न हुन्न’ ओलीले पठाएको पत्रमा भनिएको छ ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया