खाँदबारीमा कुकुरको टोकाइबाट १३ जना घाइते, बाहिर हिँडडुल गर्नै जोखिम

 मंसिर २१, २०७७ आइतबार १६:४५:३६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका – ३ र ४ मा बौलाहा कुकुरको टोकाइबाट एक हप्ताको अवधिमा १३ जना घाइते भएका छन् । 

खाँदबारी–३ मा ६ जना मानिस र ९ वटा पशुचौपया र खाँदबारी–४ मा ७ जना गरि जम्मा १३ जनालाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको हो । बाटोमा हिँडिरहेको समयमा एक्कासी पछाडिबाट आएर बौलाहा कुकुरले टोकेको स्थानीयले बताएका छन् ।

गएको बिहिबार र शुक्रबार खाँदबारी—४ सेकाहाको चिप्लेगाउँमा विद्यालय जाँदै गरेका ७ जनालाई टोकेर घाइते बनाएको हाे । काममा जाँदै गरेको अवस्थामा दुईजना अभिभावक टकबहादुर राई र देवराज राई लगायत अन्य ५ जना बालबालिकालाई बौलाहा कुकुरले टोकेर घाइते बनाएकाे चिप्लेगाउँका स्थानीय शिशिर राईले बताउनुभयो ।

केहिदिन अगाडि मात्रै खाँदबारी नगरपालिका–३ मानेभञ्याङ्ग बजारमा बौलाहा कुकुरले टोकेर ६ जना मानिस र ९ वटा पशुचौपया घाइते बनाएको थियो । कुकुरको टोकाइबाट गम्भीर घाइते सात वर्षीय बालकको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको र त्यहाँ उपचार भइरहेको खाँदबारी–३ का वडाध्यक्ष भरतकुमार घिमिरेले जानकारी दिनुभयो ।

बजार क्षेत्र र गाउँमा छाडा कुकुरका कारण स्थानीयहरु आतङ्कित बनेका छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया