‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने कुरालाई हामीले मन्त्र जस्तै बनायौँ : मन्त्री ज्ञवाली

 मंसिर २१, २०७७ आइतबार १७:४८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति २०७७’ सार्वजनिक गर्नुभएको हो । 

कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही शत्रुता नभइ सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार आइसकेपछि मन्त्र जस्तै बनायौँ । ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने कुरालाई हामीले मन्त्र जस्तै बनायौं ।’

संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दा भिन्दै प्रणाली रहेको भए पनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निश्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको स्पष्ट पार्नुभयो । कुनै पनि देशसँग नजिकको वा टाढाको भनेर कुटनीतिक व्यवहारमा फरक पार्न नखोजिएको पनि मन्त्री ज्ञवालीले बताउनुभयो । परराष्ट्र नीतिले आर्थिक कुटनीतिलाई प्राथमिकता दिँदै जलवायु परिवर्तन, अन्तराष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थानलगायतका विषयमा समेत जोड दिएको मन्त्री ज्ञवालीले बताउनुभयो ।   

स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको संवर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको छ । छिमेकीलगायत सबै देशसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने पनि परराष्ट्र नीतिमा उल्लेख छ । 

यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्द्धन गर्ने विषयलाई समेत समावेश गरिएको छ । विदेशमा पेसा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानुनी व्यक्तिको हितको संरक्षण गर्ने विषय पनि परराष्ट्र नीतिमा समावेश गरिएको मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने समेत प्रष्ट पार्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया