सरकारले गरेका गलत कामहरूकाे असन्तुष्टि सडकमा देखिएकाे हाे : कांग्रेस

‘सरकार सच्चिए विराेध प्रदर्शन हुँदैन’

 मंसिर २३, २०७७ मंगलबार १७:७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरूले सरकारका गलत कामको परिणाम स्वरुप सडकमा असन्तुष्टि देखिएको बताएका छन् । 

बैठकमा सहभागी भएका नेपाली कांग्रेसका नेताहरूले वर्तमान सरकारले गरेका गलत कामहरूको असन्तुष्टि सडकमा देखिएको बताएका हुन् । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले गरेका गलत कामको परिणाम स्वरुप सडकमा असन्तुष्टि देखिएको कुरा कांग्रेसले राखेको बताउनुभएको हो । 

प्रणाली र लोकतन्त्रको खराबी नभइ सरकार सञ्चालन गर्नेहरूको खराबीले सडकमा असन्तुष्टि देखिएको पनि नेताहरूले बताएका छन् । नेता महतले सरकार सच्चिएर लोकतान्त्रिक पद्धतिको मर्मअनुसार काम गरेमा कुनै पनि विरोध प्रदर्शन नहुने कुरा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको असन्तुष्टि भनेको मुलभूत रूपमा वर्तमान सरकारप्रतिको असन्तुष्टि हो । त्यो असन्तुष्टिलाई विभिन्न कोणबाट आफ्नो पक्षमा उपयोग गर्ने कोसिस गरिएको छ । त्यसकारण सरकार सच्चियो भने लोकतान्त्रिक पद्धति जुन स्थापित गरेका छौँ त्यो प्रद्धति अनुरूप, त्यसको मर्मअनुसार सरकार चल्ने हो भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन । हामीले जुन संविधान निर्माण गरेका छौँ, त्याे हाम्रो सबैको सहमतिबाट बनेको हो । यो कार्यान्वयनमा विभेदकारी किसिमबाट निर्वाचित सरकारले उपयोग गर्ने कोसिस गरेको छ, त्यसले गर्दा देशमा असन्तुष्टि बढेको छ । त्यसकारण सरकारले सच्चिएर संविधानको मर्मअनुसार चल्यो भने सबै कुरा ठिक हुन्छ ।’

यस्तै सरकारले आफू भन्दा फरक विचार राख्नेहरूमाथि गरेको दमनकारी व्यवहारबाट आजित भएर पनि सडकमा असन्तुष्टि देखा परेको कुरा राखेको पनि सहमहामन्त्री महतले बताउनुभयो । सरकारले लोकतान्त्रिक संस्थाहरूलाई चलाएर लोकतान्त्रिक संविधानको मर्म विपरीत काम गरेकाले पनि समस्या उत्पन्न भएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विभेदकारी र दमनकारी खालको प्रवृत्ति, दमन गर्ने, आफूभन्दा अलग विचार राख्नेहरूलाई दमन गर्ने र राज्यको साधन स्रोतको वितरणमा पनि विभेद गर्ने र राज्यको लोकतान्त्रिक संस्था, जुन लोकतान्त्रिक संविधान बनायौँ, त्यसको मर्मलाई पनि कमजोर गर्ने प्रयास भएको छ । तनहुँमा रामचन्द्र पौडललाई रोकेको, छेकेको भनेको कुरा एउटा प्रतीक हो । देशभरि आम नागरिकदेखि विपक्षी दलका नेता कार्यकर्ताहरूले दमन भोगिरहेको र विभिन्न अध्यादेशमार्फत देश चलाउन खोजेको र संसद् पनि नबोलाइएका विषयलाई हामीले गम्भीर रूपमा उठायौंँ ।’

तत्काल संसद् बैठक बोलाउन माग गरिएको पनि नेता महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समग्र विषयकाे छलफल गर्ने थलो भनेको निर्वाचित जनप्रतिनिधिहरुको थलो संसद् हो । संसद्को तत्काल बैठक डाक्न पनि माग गर्‍याैँ ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले पनि आफ्नो कुरा स्पष्टसँग राखेको तर कुनै पनि नेताहरूबाट प्रतिक्रिया नआएको बताएका छन् । राप्रपा नेता दीपक बोहराले सर्वदलीय बैठक राखेर राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने विषयमा छलफल गर्न प्रस्ताव गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वदलीय बैठक राखेर दुई वटा विषयमा, खासगरी राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने कुरामा त्यो प्रस्ताव गरेपछि त्यसमा कसैतिरबाट पनि जवाफ आएन ।’

नेता बोहराले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा आफूहरूको नैतिक समर्थन रहेको पनि बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया