मकवानपुरका पत्रकारलाई मासिक ४ हजार पेन्सन दिइने

 मंसिर २४, २०७७ बुधबार १८:१:२१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारलाई मासिक चार हजार रुपैयाँका दरले पेन्सन दिने भएको छ । पत्रकार महासङ्घ मकवानपुर शाखाको बुधबारको कार्यसमिति बैठकले ज्येष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधि २०७७ पास गर्दै पेन्सन दिनका लागि सुरुवात गर्न लागेको हो ।

पेन्सन दिनका लागि हेटौँडा उपमहानगरपालिकाले कोषमा दश लाख रुपैयाँ यसअघि नै हस्तान्तरण गरेको छ । पत्रकार महासङ्घ मकवानपुर शाखाले वाणिज्य बैंकको मुद्दती खातामा रहेको दुई लाख रुपैयाँसमेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको दश लाखको ब्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईँले बताउनुभयो । 

महासङ्घ मकवानपुर शाखामा आबद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्ति विकास गर्न पेन्सन दिन लागिएको हो । 

ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछि कोषबाट मासिक चार हजार रुपैयाँ प्रदान गरिने र कोषमा रकम वृद्धि भएसँगै पेन्सन रकम पनि बढ्ने जनाइएको छ । राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा केन्द्र सरकार, प्रदेश सरकार वा पालिकाबाट कुनै पनि सङ्घ संस्था, गैरसरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईँले बताउनुभयो । 

ज्येष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निवेदन र कागजपत्रका आधारमा सिफारिस गरिने छ । सिफारिसका लागि पत्रकार महासङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासङ्घ मकवानपुर शाखाको पूर्व अध्यक्षहरू मध्येबाट एक जना सदस्य र पत्रकार महासङ्घ मकवानपुरको वर्तमान अध्यक्ष सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था छ । 

मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरेमा वा निधन भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनको लागि त्यसको जानकारी घरका सदस्यले महासङ्घ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम बनाइएको छ । 

पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासङ्घ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर बीस वर्ष पत्रकारितालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनीमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र त्यस संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष पुगेपछि सक्रिय पत्रकारिता छोडेर विश्राम लिएको हुनुपर्नेछ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया