नेकपामा नयाँ पुस्ता : अस्तित्व र भूमिकाको खोजी

 मंसिर २५, २०७७ बिहिबार ९:१०:४८ | हरि ज्ञवाली
unn.prixa.net

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भित्र नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बहस यतिखेर अत्यन्तै चर्चामा छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समकक्षी नेताहरुलाई पार्टीको जिम्मेवारी पटक-पटक नलिन र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न धेरै पटक आग्रह गर्नुभएको छ । 

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको प्रस्ताव र प्रसङ्ग औपचारिकरुपमा पटक-पटक उठिरहँदा र चर्चा भइरहँदा पनि नेकपाभित्र नयाँ पुस्ता भने यसप्रति उदासीन र बेखबरजस्तै देखिन्छ  । नयाँ पुस्ता न पूर्णरुपमा विश्वस्त भएको छ न त उत्साहित र जागरुक नै । त्यस प्रस्तावका लागि दरिलो आँट गर्ने दोस्रो पुस्ताका कुनै नेता अहिलेसम्म अग्रसर भएको पाइँदैन । त्यस्तो हिम्मत गर्ने नयाँ पुस्ता अहिलेसम्म देखा परेका छैनन् । यो नै आश्चर्यको विषय हो । 

अटेरी र स्वेच्छाचारी नेतृत्व  

यतिखेर नेकपाको शीर्ष नेतृत्व एकअर्कामा आरोप-प्रत्यारोप र पोल खोलाखोलको चरम उत्कर्षमा छ । एक-अर्कालाई खुइल्याएर नाङ्गेझार बनाउने तीव्र होडबाजी नै चलेको छ शीर्ष तहमा । एक-अर्काविरुद्ध यति धेरै आपत्तिजनक र गम्भीर आरोप-प्रत्यारोपहरु आइरहेका छन् कि अब नेकपा एक रहिरहन असम्भव जस्तै देखिन्छ ।

उनीहरुबीच न मिलापत्र हुन सकेको छ, न छोडपत्र नै । दुवै अध्यक्षले पार्टी एकताको भावना, विधि र पद्धति मिच्दै स्वेच्छाचारी बनेर  पोल खोलाखोलको चरम उत्कर्षमा रहँदासमेत दोस्रो पुस्ता भने मौनजस्तै छ । सार्वजनिक रुपमा आवाज उठाउने आँट गर्न सकिरहेको छैन । नेतृत्व र आन्दोलनले पहिलो पुस्ताकै नेतालाई परिक्रमा गरिरहेकाले नै नेकपा अहिले संकटबाट गुज्रिरहेको छ । 

नेकपाका शीर्ष नेतृत्वका आन्तरिक विवादले पार्टी विभाजनको अन्तिम तयारीमा छ । शीर्ष नेताहरु पार्टीको अस्तित्व नै संकटमा पर्ने गरी आपसी किचलोमा लागेका छन् । नेकपामा पहिलो पुस्ता यतिखेर ज्यादै अटेरी  र जिद्दी बन्दै छ । एकदमै निरङ्कुश र स्वेच्छाचारी पनि शीर्ष तहको आफ्नो मर्यादासमेत बिर्सेर पार्टीमा एकपछि अर्काे विवाद चर्काउँदै छ । एकपछि अर्को गर्दै समस्या झन् बल्झाउँदै छ ।

दिशाहीन र निरीह नयाँ पुस्ता 

देशको संकटका बेला नागरिकको बेअहिलेभन्दा पदीय भागबण्डा नेकपा शीर्ष नेतृत्वको प्राथमिकता बनेको छ । यस्तो बेला पनि सरकार र पार्टीको नेतृत्वलाई नागरिकका पीडामा केन्द्रीत हुनका लागि दबाब दिन दोस्रो पुस्ताले कुनै हस्तक्षेपकारी भूमिका बहन गर्न सकेको देखिँदैन ।

दोस्रो पुस्ता गतिहीन र अत्यन्तै निरीह बन्दै छ । उमेर, जोस, जाँगरका हिसाबले पार्टी राजनीतिलाई  काँध थाप्नुपर्ने यो संकटको बेलामा दोस्रो पुस्ता भने यतिखेर के गर्दैछ ? अत्तोपत्तो छैन ।  पक्कै पनि यो पुस्ता गुटगत राजनीतिमा लागेर पहिलो पुस्ताकै आसपास फन्को लगाइरहेको भेटिन्छ ।

नेकपामा प्रभावहीन र दिशाहीन जस्तै देखिएको यो पुस्ताले स्वयम् संकटका बेला नेतृत्व गर्नुपर्ने अवसर गुमाउँदै गएको छ, अनि पहिलो पुस्ताको असफलताको भागिदार बन्ने खतरा पनि सँगसँगै बोकिरहेको छ । गुटगुटमा विभक्त पार्टीभित्र दोस्रो र नयाँ पुस्ताका नेताहरु पनि कुनै न कुनै गुटसँग आबद्ध भएका छन् ।

नेकपाभित्रको दोस्रो पुस्ता सक्रिय भए पनि निरीह र पहिलो पुस्ताको लाचार छायाँमात्र भइरहेको आभास हुन्छ । देश र नागरिकको आशा, भरोसाको केन्द्रका रुपमा स्थापित भएको नेकपाको भविष्य अब शीर्ष नेतृत्वबाट चल्न सक्दैन भन्ने उनीहरुकै हर्कत र आन्तरिक झगडाले नै स्पष्ट पारेका छन्  ।

दोस्रो पुस्ता चाहिंँ यति निरीह र गतिहीन बन्दै छ कि संकटका बेला समाधानका उपायसहित नेतृत्वमा हस्तक्षेप गर्ने आँट र हिम्मत गर्न सकिरहेको छैन । नेकपाको नेतृत्व पुरानै पुस्ताको हातमा छ । नेतृत्व तहमा रहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल अहिले, माधवकुमार, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल २०२६-२०३५ को दशकबाट राजनीतिमा सक्रिय बनेका पुस्ताका हुन् । नेकपाका पहिलो तहका सबै नेता ६५ वर्षभन्दा माथि पुगिसकेका छन् । 

लामो समयदेखि नेकपाको बागडोर यही पुरानो पुस्ताको हातमा छ । नौ सदस्यीय सचिवालयमा रहेको यही बुढो पुस्ताले नेकपा हाँकिरहेको छ । त्यसैले त सचिवालय बालुवाटार, खुमलटार र कोटेश्वरको चौघेराभित्र मात्रै अल्मलिएको देखिन्छ । यही पुस्ता नै पदीय भागबन्डाका लागि बहुमत र अल्पमतको खिचातानीमै व्यस्त छ । गुटगत स्वार्थको लडाइँमा तल्लीन छ ।  

पुरानो पुस्ताको यही झगडाले नेकपा पार्टीलाई नै समाप्त पार्न लागिरहेको छ । त्यसो त नेपालका कम्युनिस्ट पार्टी र यसको नेतृत्व पुस्तान्तरणको अहिलेसम्मको इतिहास हेर्दा एकाध पार्टीलाई छोडेर आम कम्युनिस्ट पार्टीमा एउटै नेतृत्व दशकौंदेखि कायम रहेको पाइन्छ  ।

मसालका मोहनविक्रम सिंह, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपाका प्रचण्ड ३० वर्षदेखि मसाल, माओवादी, माओवादी केन्द्र हुँदै नेकपासम्म आइपुग्दा पनि अध्यक्ष नै छन् । १६ वर्ष पार्टीमा एकछत्र राज गर्दा पनि नेता माधव नेपाललाई नेतृत्वको भोक अझै पनि जागेकै छ । ३१ वर्षसम्म सक्रिय नेतृत्व हाँकेर पनि प्रचण्डमा लोभ, लालच र पदप्रतिको आसक्ति  घटेको छैन, बरु झन् बढ्दो छ । यतिखेर यिनै पुराना पुस्ताले नै पार्टीमा सबैभन्दा बढी समस्या सिर्जना गरेका छन् ।

देश र नागरिकले आशा गरेका धेरै अनुहार नेकपाको नयाँ पुस्तामा छन् । धेरै आशलाग्दा र देश-नागरिकलाई गोलबद्ध गरेर शासन प्रणाली हाँक्ने क्षमतावान् पुस्ताको ठूलै पंक्ति छ । प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, विन्दा पाण्डे, योगेश भट्टराई, जनार्दन शर्मा, घनश्याम भुसाल, देवेन्द्र पौडेल जस्ता निडर, आदर्शवान्, सैद्धान्तिक र बौद्धिक व्यक्तिहरु मूल नेतृत्वबाहिर नै छन् ।

वर्षमान पुन, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, ठाकुर गैरेजस्ता क्षमतावान् पुस्ताले नेतृत्व नपाउनु देशको लागि ठूलो घाटा हो । तर सम्भावनाको नजरले हेरिएका नेकपाको दोस्रो पुस्ताका नेताहरु पहिलो पुस्ताकै स्वार्थ र गुटको बचाउ गर्ने पंक्तिमा लामबद्ध बन्दा नेकपाको भविष्य संकटपूर्ण अवस्थाबाट बाहिर निस्कन सकेको छैन । नेकपाको दोस्रो पुस्ता नेतृत्व लिन सक्षम त छ, तर अवसर नआउला र पद नपाउँला भन्ने मनोगत भयमा बसेको देखिन्छ । मूल समस्या यही नै हो । 

स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्माले नेतृत्वप्रति बेलाबेला खबरदारी गरे पनि उनीहरु पनि गुटगत स्वार्थभन्दा माथि अझै उठ्न सकेको देखिँदैन । वर्षमान पुनले अहिले रोल्पामा उठाएको प्रसङ्ग पनि त्यस्तै हो । उदयीमान नेताका रुपमा परिचित घनश्याम भुसाल र योगेश भट्टराईको यतिखेरको मौनता रहस्यमय मानिँदै छ । 

यतिखेर देशले चाहेको, खोजेको र अपेक्षा गरेको आमूल परिवर्तन हो । जुन परिवर्तन नेकपाको पुरानो पुस्ता र नेतृत्वबाट अब संभव देखिँदैन ।  नयाँ पुस्ताले पहिलो पुस्ताकै नेतालाई परिक्रमा गरिरहेकाले परिवर्तनको आशा पनि क्षीण बन्दै गएको छ ।

चाकडीमा लिप्त, दिशाविहीन र निरीह पुस्ताका रुपमा नयाँ पुस्ताले बाटो बिराएजस्तो देखिन्छ । पछिल्लो समय नयाँ पुस्ताका नेतृत्वहरु आत्मकेन्द्रीत हुने, शक्तिकेन्द्र धाउने, पार्टी र सत्ताकै लेनदेनमा बिचौलियाको भूमिकामा देखिन थालेपछि झन् झन् संकट गहिरिँदै छ ।

आखिर पहल कसले गर्ने ? 

कम्युनिस्ट पार्टी संगठन कार्यकर्तामा आधारित हुन्छ । अझ जनताको बहुदलीय जनवादको स्कुलमा हुर्किएको एमाले र त्यसैको फेरो समात्दै अघि बढेको नेकपाको प्रमुख विशेषता कार्यकर्ताले नेता चुन्ने र छान्ने नै हो । जनताबाट पार्टी अनुमोदित हुने र कार्यकर्ताबाट नेता अनुमोदित हुने अहिलेको कम्युनिस्ट आन्दोलनको सौन्दर्य पनि हो । परन्तु एक दुई व्यक्तिलाई केन्द्र बनाएर आन्दोलनले फेरो मारिरहँदा त्यसले कम्युनिस्ट पार्टी होइन, सामन्त या दासप्रथाको झल्को दिन थालेको छ । यो कदापि राम्रो संकेत होइन । 

तत्कालीन एमालेका नवौैंँ महाधिवेशनबाट पारित विधानमा उमेर हदको व्यवस्था  गरिएको थियो  । विधानअनुसार सबै कार्यकारिणी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष थियो । केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारी एउटा पदमा दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था गरिएको थियो । तर पार्टी एकतापछि बनेको अन्तरिम विधानमा उमेर हदको प्रावधान हटाइएपछि पुनः पाका नेताहरुमा नै नेतृत्व रहिरहेको छ । नेतृत्व पुस्तान्तरण फर्किएर पुरानै ठाउँमा पुगेको छ । समस्या सुल्झिनुभन्दा झन् बल्झिन थालेका छन् ।  

कहाँ के गर्दैछ युवा पुस्ता ?

नेकपाभित्र उदीयमान युवाका रुपमा थुुप्रै नेताहरु देखिन्छन् । विनोद श्रेष्ठ ,रामकुमारी झाँक्री, ऐन महर, अमृता थापा, रामप्रसाद सापकोटा, रमेश पौडेल, रञ्जित तामाङ, नवीना लामालगायतकोे सक्रिय संघर्षपूर्ण इतिहास ताजै छ ।

पार्टी संकटको यो घडीमा उनीहरुको मौनता पनि रहस्यपूर्ण मानिँदैैछ  । आशाका केन्द्र युवाहरु यतिखेर किन गुमनाम र निरीह बनिरहेका छन्  ? थाहा छैन । शायद ती सबै युवा एउटा न एउटा वृद्ध नेताको फेरो समाएर आफ्नो राजनीतिक भविष्य उज्ज्वल पार्न चाहन्छन् । या त युवाहरु विचार र सिद्धान्तबाट क्रमशः विचलित हुँदैछन् या उनीहरुको लगाव पद र  पैसाप्रति केन्द्रीत भएको छ ।

सांसद् भएका मन्त्री भइ अहिले, युवा विद्यार्थीहरु तिनै मन्त्रीको पीए र सल्लाहकार बन्ने । कर्मचारीको सरुवा बढुवामा पैसा खाने । ठेक्कापट्टामा कमिसन खाने र आफ्नो आर्थिक स्थितिलाई मजबुत बनाउनमै युवाहरुको आशक्ति बढेको हो कि ? आशंका व्याप्त छ ।

नेकपाको दोस्रो पुस्ता वा युवा पुस्ता यतिखेर अत्यन्तै निरीह  बनेको छ  । न यो पुस्ताले पार्टी एकता जोगाउन पहल गरेको छ न त ओली-प्रचण्डहरुलाई बिदा गरेर आफ्नो पुस्ताबाट नेतृत्व दिन नै हिम्मत गर्न सकेको छ । दोस्रो पुस्ताले अब हामी पहिलो पुस्तालाई बिदा गरेर नयाँ ढंगले पार्टी चलाउँछौं भनेर कार्यकर्ताबीच देशव्यापी अभियान चलाउन किन आँट गर्न सक्दैन ? बुझिनसक्नु छ ।

पहिलो पुस्ताका नेताले आफ्नो हैसियत र योगदानभन्दा बढी पाइसकेका छन्  । पुस्तान्तरणको यो अभियान त्यति सजिलो त नहोला, तर पार्टी र देशको निकासका लागि यो अपरिहार्य अभियान भने पक्कै सुरु हुनुपर्ने देखिन्छ ।  पुरानो पुस्ताको जयजयकारमा आफ्नो सामर्थ्य र समय खर्च गर्नुभन्दा विचार र राजनीतिलाई हतियार बनाएर आफूलाई देश र नागरिकप्रति समर्पित गर्नु नयाँ पुस्ताका लागि जरुरी छ । त्यो अपरिहार्य पनि हो ।  

अब पनि शीर्ष नेताहरुको दौराको फेर समातेर एउटा गुटमा रमाउँदै बस्ने कि देश र नागरिकको आशा-भरोसाको एउटा आदर्श, नैतिकवान, अनुशासित र गतिशील विचार केन्द्रका रुपमा आफूलाई उभ्याउने ?  श्रमजीवी सर्वहारा वर्गको मुक्ति आन्दोलनका रुपमा, राष्ट्रियता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र समृद्धिको नायक बन्ने कि शीर्ष नेताको गुटको डम्फु बजाउँदै व्यक्तिगत फाइदाका लागि निरीह अनुचर बनिरहने ?

पुरानै अटेरी र जिद्दी पुस्ताको स्वार्थगत लडाइँमा पक्ष-विपक्ष भएर पार्टीसँगै आफूहरु पनि सिद्धिने कि देशको परिवर्तनको नायक बन्न हिम्मत गर्ने ? आफ्नो अस्तित्व र भूमिकाका लागि नयाँ पुस्ताले एउटा निर्णय त गर्नैपर्छ ।  अस्तु ।  
 

  

अन्तिम अपडेट: पुस २४, २०७७

हरि ज्ञवाली

ज्ञवाली रूपन्देहीका वाम बुद्धिजीवी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया