लोपोन्मुख लोहोरुङ भाषाको अभिलेखीकरण गर्न भाषा आयोगको टोली सङ्खुवासभामा

 मंसिर २८, २०७७ आइतबार १७:६:५७ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – लोपोन्मुख जातिको सूचीमा रहेको लोहोरुङ भाषाको अभिलेखीकरण सुरु भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका ४ गैरीपाम्मा पुगेको भाषा आयोगको टोलीले अभिलेखीकरणको काम सुरु गरेको हो । टोलीले लोहोरुङ भाषाका सरोकारवालाबीच छलफल र अन्तर्क्रिया गर्नेछ । 

१० हजारभन्दा कम जनसङ्ख्या रहेको लोपोन्मुख जातिमा रहेका राई थरभित्रको लोहोरुङ भाषाको संरक्षणका लागि संवैधानिक निकाय भाषा आयोगले कार्यक्रम गरेको हो । स्थलगत र सरोकारवालाबीच छलफल गरेर मात्रै अघिलेखीकरण गर्ने भाषा आयोगका उपसचिव गेहनाथ गौतमले जानकारी दिनुभयो । 

देशभर बोलिने एक सय २३ वटा भाषाभाषीमध्ये लोपोन्मुख जातिमा रहेको लोहोरुङ जातिको भाषाको संरक्षण, संवर्द्धन गर्न अघिल्लो वर्ष लोहोरुङ भाषाको वर्ण विन्यासलगायतको काम सकिएको र यो वर्ष स्थलगत रूपमा अध्ययन अनुसन्धानपछि पाठ्यक्रम तयार पार्ने योजना रहेको पनि बताउनुभयो । 

लोहोरुङ आदिवासी जनजातिभित्रको राईभित्रको उपथर हो । लोहोरुङ जातिको उद्गम स्थल सङ्खुवासभा जिल्लालाई नै मानिन्छ । लोहोरुङ भाषीहरू खाँदबारी नगरपालिका ४ काे गैरीपाम्मा, लोकेपाम्मा र डाँडापाम्मा बसोबास गर्ने गरेको पाइन्छ । 

त्यसका साथै सङ्खुवासभाको हेलुवा, खर्तुवा, दिदिङ्ग, मकालुलगायतका ठाउँमा समेत बसोबास गर्ने गरेको पाइन्छ । पछिल्लो समयमा यही ठाउँबाट विभिन्न कामको सिलसिलामा धरान, इटहरी, विराटनगर, काठमाण्डौ र देशबाहिर बेलायत, हङकङ र सिङ्गापुरमा समेत लोहोरुङ भाषीहरूको बसोबास पाइएको लोहोरुङ राई समाजले जनाएको छ । 

भाषा आयोगका कर्मचारीको टोलीसँगै लोहोरुङ जातिको बारेमा अध्ययन र अनुसन्धान गर्न भाषाविज्ञ डाक्टर कैलाशकुमार राई, अनुसन्धानकर्ता मिना राईसमेत हुनुहुन्छ । मातृभाषाको माया नगर्दा लोहोरुङ भाषा हराउँदै गएको लोहोरुङ राई समाजका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर लोहोरुङले बताउनुभयो । 

२०६८ सालको जनगणना अनुसार तीन हजार पाँच सय मात्रै लोहोरुङ भाषी रहेको तथ्याङ्क छ । तर अहिले पाँच हजारभन्दा बढी लोहोरुङ भाषीहरू रहेको अध्यक्ष राईले दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

2 Comments

  • Mr. Santa Rai

    Dec. 14, 2020, 9:32 p.m.

    Reporter Nabin ji, You have to correct the name of chairman. His name is Chitra Bahadur Rai, not Chandra Bahadur. Others are good to read.

  •  0 Reply
  • Anish Rai

    Dec. 14, 2020, 5:37 p.m.

    राम्रो समाचार छापी दिनु भएकोमा नबिन जि लाई धन्यवाद ! । केही मैले देखेका -केन्द्रिय अध्यक्ष्य त चन्द्र बहादुर कि चित्र बहादुर हो? चन्द्र बहादुर लेखेको छ त। अनी धनकुटा , सिक्किममा पनि छन भनेर त लेखेको पइएन है।

  •  0 Reply

तपाईको प्रतिक्रिया