‘पार्टीलाई एकताबद्ध बनाउने दुई अध्यक्षहरूले नै हो, समाधानको खोजी गरिरहेका छौँ’

 मंसिर २९, २०७७ सोमबार १०:७:७ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डाै – आइतबारको लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक औपचारिकतामा मात्रै सीमित रह्यो । पार्टीभित्रको विवादबारे छलफल भएन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सहभागी बैठकले अर्को बैठक पुस १ गते बस्ने निर्णय गरेको छ । 

आन्तरिक विवाद मिलाउन निकै हम्मेहम्मे परिरहेको सत्तारुढ दल नेकपामा दुई अध्यक्षबीचको मन मिलाउन केही नेताहरु दौडधुपमा छन् । तर, केही नेताहरु आफ्ना गुटका नेताको मन खुसी पार्नमै व्यस्त देखिन्छन् । अन्तरविरोध अन्त्यका लागि नेकपाभित्र भैरहेको कसरतबारे टेकमान शाक्यले नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसँग कुरा गर्नुभएको छ ।

नेकपाको स्थायी कमिटी बैठक मंगलबार बस्ने भएको छ । अहिलेसम्म विवाद समाधान गर्ने प्रयास स्वरुप के कस्ता कसरतहरु भए ?

आइतबारको बैठकमा हाम्रा पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाप्रति श्रद्धाञ्जली अर्पण गरियो । बैठक पुष १ गतेसम्मका लागि सरेको छ । थप दुई दिन समय प्राप्त भएको छ ।

यो समयमा दुई अध्यक्षको बीचमा छलफल र सरसल्लाह हुने, अरु विभिन्न तहका कमरेडहरुको बीचमा छलफल र भेटघाट हुनेलगायत तय गरिएका अनौपचारिक र औपचारिक कार्यक्रमहरु छन् । अहिले पनि हामी भेटघाटमै व्यस्त छौँ । उदाहरणका लागि मैले आइतबार मात्रै कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेको थिएँ ।

आइतबारको भेटमा कार्यकारी अध्यक्ष प्रचण्डसँग के-के विषयमा छलफल गर्नुभयो ?

उहाँको निमन्त्रणामा म खुमलटार पुगेको  थिएँ । पार्टीलाई एकताबद्ध बनाउनुपर्छ, पार्टी एकता जोगाउनुको विकल्प नै छैन, यो हाम्रो प्रतिबद्धता हो, आम नागरिक र पार्टी पङ्क्ति पार्टी एकता होस् भन्ने चाहिरहेका छन् । यसै विषयमा हामीबीच छलफल भयो । यसका लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्यो भनेर अध्यक्ष प्रचण्डले मलाई भन्नुभयो । अध्यक्ष प्रचण्डले म त्यसका लागि तयार र सकारात्मक छु भनेर भन्नुभएको छ ।

अब बस्ने स्थायी कमिटी बैठकले दुवै अध्यक्षको प्रस्तावलाई मिलाएर संयुक्त रुपमा अघि बढाउने सम्भावना कत्तिको छ ?

अहिले यही भन्नुभन्दा पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि एउटा आधार तयार गर्न स्थायी कमिटीले भूमिका खेल्नुपर्छ । विगतमा स्थायी कमिटीले नै एउटा आधार तय गरेको छ ।

त्यही आधारमा उभिएर त्यसमा आवश्यकताअनुसार परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ भन्ने धेरै स्थायी कमिटी सदस्यहरुको भनाइ रहेको छ । यो स्थायी कमिटी बैठकले त्यस किसिमको भूमिका खेलोस् भन्ने सबैको चाहना छ ।

तर, अध्यक्ष प्रचण्ड बैठकमा छलफल गर्नुपर्ने भन्नुहुन्छ, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली प्रस्ताव फिर्ता नलिए बैठकमा सहभागी नै नहुने भन्नुहुन्छ । समस्या त निक्कै जकडियो नि हैन ?

प्रचण्ड कमरेडले औपचारिक र अनौपचारिक छलफल गर्दै बैठकमा ती विषयहरुलाई प्रवेश गराएर एउटा टुङ्गोमा पुग्नुपर्छ भन्दै आउनुभएको छ । आइतबार बिहान मसँगको छलफलमा पनि उहाँले त्यही कुरा गर्नुभयो । त्यसै गरेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि पार्टी बैठकमा उपस्थित भएर छलफल गरेर त्यसलाई एउटा टुङ्गो​मा  पुर्याउनुपर्ने पक्षमा हुनुहुन्छ ।

तर, यसअघिको बैठकमा त प्रधानमन्त्री ओलीले प्रस्तावमाथि छलफल नै गर्न नसकिने आशयको  पत्र पठाउनुभयो नि ?

प्रधानमन्त्री ओलीले बैठकमा पेस हुने प्रस्तावमा दुवै अध्यक्षको सल्लाह र सहमति हुनुपर्छ भन्नुभएको छ । प्रचण्डले ल्याउनुभएको प्रस्ताव बनाउँदा आफ्नो सल्लाह र सहमति नभएकोले त्यसमा छलफल नै गर्न नसकिने उहाँको अडान हो ।

बैठक नै नबस्ने र छलफल नै नगर्ने भन्ने मनशाय उहाँको होइन । दुई अध्यक्षबीच सल्लाह नै नगरि ल्याइएको प्रस्ताव प्रस्ताव नै हुँदैन, त्यसको आधारमा हुने छलफलमा आफूले भाग लिनु ठिक हुँदैन भनेर उहाँले भन्नुभएको हो । त्यसमा सहमति र विमति हुन पाइन्छ । म त्यो विषयमा धेरै बहस गर्न चाहन्न । तर खास कुरा के हो त भन्दा बैठकमै सहभागी नहुने भन्ने उहाँको धारणा छैन ।

त्यसो भए अध्यक्ष प्रचण्डले आफूले पेस गरेको एकल प्रस्ताव फिर्ता लिनुहोला त ? तपाईसँगको भेटमा उहाँले यसबारे के भन्नुभयो ?

अब अहिले नै म अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता नै लिनुहुन्छ होला भनेर भन्न सक्दिनँ । दुई अध्यक्षलगायत हामी सबै छलफल गरिरहेका छौँ । एउटा निष्कर्षमा पुग्न सकिन्छ भन्ने हामीलाई विश्वास छ ।

प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने या केपी शर्मा ओली प्रस्तावमाथि छलफल गर्न तयार हुनुपर्ने भन्नेमा तपाईको धारणा चाहिँ के हो ?

अहिले मैले यसबारे भनेँ भने त फेरि मैले यसो गरेर मिलाउँ भन्ने ठाउँ नै रहँदैन नि । म यति भन्छु, पार्टीलाई एकताबद्ध गर्नुपर्छ । त्यसका लागि हामी सबै लाग्नुपर्छ ।

तर, कतै गुटगत संगठनको भेला, कतै गुटगत शक्ति प्रदर्शन भैरहेको छ । नेकपाका तपाइँहरु भने विवाद समाधान हुन्छ भनेर आश गरेर बसिरहनुभएको छ । समाधानको आश कसरी गर्ने ?

पार्टीलाई एकताबद्ध बनाउने यीनै दुई अध्यक्षहरु हुन् । दुई अध्यक्षले नै पार्टी एकताको घोषणा गरेका हुन् । पार्टी एकताको घोषणाका क्रममा कतिपय नेताहरुलाई धेरै कुरामा चित्त बुझेको थिएन । तर मनले नमानी नमानी पनि चित्त बझाएका थियौँ । हामीले मान्यौँ । सबै सयमा सय हामीलाई पनि चित्त बुझेको छैन । म यति भन्छु जसरी हुन्छ पार्टी एकतालाई  जोगाउनुपर्छ । त्यसबाट पछि हट्ने छुट हामीलाई छैन । समाधानको खोजी गरिरहेका छौँ ।

समस्या समाधानका लागि नेकपाका नेतृत्वहरुलाई कहाँनिर समस्या भैरहेको छ ?

दुई भिन्न परिवेशबाट आएका दुई ठूला पार्टीहरुबीच एकता हुनु भनेको नै धेरै ठूलो चुनौतीको कुरा हो । त्यो चुनौतीहरुलाई पार लगाउँदै  हामी अन्ततः एउटा सकारात्मक टुङ्गोमा पुग्छौँ भन्ने लाग्छ । हामी विश्वस्त छौँ ।

अन्त्यमा, पार्टीभित्रको विवाद मत्थर कहिले हुन्छ भनेर नेकपाका कार्यकर्ता र अरुलाई पनि चासो छ । यसको जवाफ कसरी दिनुहुन्छ ?

तिमीहरु कहिले मिलिसक्छौ भनेर उहाँहरुले निरन्तर ताकेता गरिरहनुभएको छ । यसले हामीलाई उत्साह नै प्राप्त भैरहेको छ । मलाई विश्वास छ, जतिसक्दो चाँडो हामी पार्टीलाई मिलाउन लागिरहेका छौँ र लाग्छौँ पनि ।

अन्तिम अपडेट: चैत ५, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया