कोरोनालाई जित्नु भनेको खोप लगाएको भन्दा पनि राम्रो हो

 पुस १, २०७७ बुधबार ९:५:१ | डा. समीरमणि दीक्षित
unn.prixa.net

अहिले कसैैले कोरोनाको जोखिम टरेकोे छ भन्ने  सोचेकोे छ भने त्यो गलत सोचाइ हो । घटेको भने अवश्य हो, तर त्यसको जोखिम टरेको भने होइन ।

एक जनामा मात्र पनि भाइरस संक्रमण छ भने त्यसले अरुलाई पनि भाइरस सार्न सक्छ । त्यो एक जनाले अहिलेसम्म संक्रमण नभएका जोकोहीलाई पनि त्यसले सार्न सक्छ । त्यसैले यसलाई एकदम हलुको तरिकाले लिनु हुँदैन ।

यस्तै चिसोमा कारोनाको जोखिम बढ्छ भन्ने पनि हल्ला फैलिएको सुनिन्छ । तर चिसो वा तातोले भाइरसलाई खासै असर पर्दैन । भाइरसले प्राकृतिक नियमलाई नै उछिनेर अगाडि बढेको हुन्छ । तर हाम्रो मानव शरीर गर्मीमा भन्दा जाडोमा अलि कमजोर हुन्छ । किनभने मुटुले धेरै काम गर्छ, फोक्सोले धेरै काम गर्छ, त्यसैले जाडोले रोग प्रतिरोधात्मक शक्तिलाई कमजोर बनाएको हुन्छ । 

त्यसैले भाइरसले कमजोर बनाउने होइन कि मानव शरीर कमजोर हुने हो । जुन अहिले हामी कोरोनाको अवस्थामा छौं, यदि वरिपरि कोरोना संक्रमित छैनन् भने त्यही गतिमा कोरोना बढ्छ भन्ने पनि छैन ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको नेपाली समाजको कुरा गर्दा राति र बिहान जाडो बढी हुन्छ । यस्तोबेला राति कोठा बन्द गरेर लामो समयसम्म बसिदिन्छौं । यदि त्यो कोठामा कोरोना संक्रमण भएको रहेछ कसैलाई भने त्यसको मुखबाट निस्किने थुकका छिटाबाट कोरोना अरुलाई पनि सर्छ । त्यसैले सकेसम्म जाडोमा वृद्धवृद्धा, बालबालिका र जोखिम समूह भएका व्यक्तिहरु बसेको बन्द कोठामा जानु हुँदैन । बरु उहाँसँग अन्तरक्रिया गर्नुछ भने बाहिर बसेको बेला भेट्ने र उहाँहरुलाई मास्क प्रयोग गर्न लगाउने गर्नुपर्छ ।

लापरबाही गरे दोस्रो लहर सुरु हुन सक्छ

नेपालमा कोरोनाको दोस्रो लहर सुरु हुन्छ कि हुँदैन भन्ने धेरैलाई चासो छ । त्यो हुनको लागि पहिलो लहर सकिनुपर्छ । पहिलो लहर नसकिकन दोस्रो लहर सुरु हुँदैन । अहिले नेपालको अवस्था हेर्दा कसैले पहिलो भन्छन्, कसैले दोस्रो भन्छन् । विशेषगरी भारतबाट फर्किएकाहरु जो क्वरेण्टिनमा बस्नुभएको थियो र उहाँहरुमा धेरै संक्रमण देखिन्थ्यो, त्यो अवस्थालाई धेरैजसोले पहिलो लहर माने । तर खासमा त्यसलाई पहिलो लहर भन्न मिल्दैन । त्यो त एउटा सीमित समूहमा सीमित अवस्थामा देखिएको संक्रमण थियो । 

खास भन्ने हो भने, जब समुदायमा संक्रमण छिर्छ त्यो देखिने लहरलाई पहिलो लहर भन्नुपर्छ । अहिले हामी त्यही पहिलो लहरमा छौं । यो लहर घट्ने क्रममा छ । यो क्रमलाई हामी कसरी अगाडि बढाउँछौं, त्यसैले नै दोस्रो लहर आउने या नआउने निर्धारण गर्छ । अहिलेको जस्तै सुरक्षाका उपाय अपनायौं भने जाडोमा पनि दोस्रो लहर नआउन सक्छ । तर लापरबाही गर्दै गयौं, बिहे भोज भनेर खुलेआम हुन थाल्यौं भने दोस्रो मात्र होइन, तेस्रो चौथो लहर पनि आउन सक्छ ।

दोस्रो लहर भनेको अहिलेको कोरोना संक्रमणको ग्राफ जुन घटिरहेको छ, त्यो अकस्मात संक्रमित र मृत्यु हुनेको संख्या दुई तीन हप्तासम्म लगातार बढ्यो भने त्यसलाई दोस्रो लहर सुरु भएको भन्न सकिन्छ । 

परीक्षण र संक्रमण दुवै घटेको हो 

धेरैले परीक्षण नै कम भएर संक्रमण दर घटेको भन्ने गरेका छन् । कुनैबेला दैनिक २० हजार परीक्षण गरेका थियौं । तर अहिले आएर ६/७ हजारमा सीमित हुन थालेका छौं । परीक्षणको मात्र घटेपछि निश्चय पनि संक्रमितको दर पनि घट्छ नै । तर बिर्सन नहुने कुरा भनेको, जो व्यक्तिहरु पहिलोपटक कोरोना परीक्षण गर्न आउँथे, त्यो संख्या नै घटेको छ । उहाँहरु नै कम आउन थाल्नुभयो ।

अहिले राज्यले निकालेको नयाँ मापदण्डअनुसार यदि पहिलो परीक्षण गरेको वा पोजेटिभ भएको १५ दिनमा लगातार तीन दिनसम्म ज्वरो छैन भने दोस्रो परीक्षण गर्न जरुरी छैन भनेको छ । नेपालको मापदण्डले पनि र विश्व स्वास्थ्य संगठनको मापदण्डले पनि यही भनिरहेको छ । कुनै कुनै देशमा दश दिनको अवधिमा यदि तीन दिन लगातार ज्वरो छैन भने पछि पुनः परीक्षण गर्नै पर्दैन भनेको छ ।

यस कारणले गर्दा दोस्रो परीक्षण गर्न मानिसहरु आउनै छाड्नुभएको छ । त्यसले गर्दा त दुई गुणा नै घट्यो । तर पहिलो पटक परीक्षण गर्न पनि मानिसहरु आइरहेका छैनन । पहिलेसम्म घरपरिवारमा कोही संक्रमित हुन्थे र कन्ट्याक्ट ट्रेसिङ भन्दै परीक्षण गर्न आउँथे भने अब त्यो घरमा संक्रमित नै छैनन् भने परीक्षण गर्न आउने कुरै भएन । त्यसैले पनि पहिलेको भन्दा संक्रमण घटेकै हो । त्यसैले हामीले दुवैलाई मानेता पनि संक्रमण घटेको कुरामा प्रश्न चिन्ह गर्न मिल्दैन ।

संक्रमित भएर निको भएकाहरुले ख्याल गर्नुपर्ने कुरा

अहिलेको विश्व तथ्यांक हेर्ने हो भने एकपटक कोरोना संक्रमित भइसकेकाहरु पुनः संक्रमित हुने दर निकै न्यून छ । करोडौं संक्रमितमा पुनः संक्रमण भएकाको संख्या हजार पनि नपुगेको अवस्था छ । एकदमै न्यूनमा मात्र संक्रमण दोहोरिएको देखिएको छ । तिनमा पनि परीक्षण नै गलत भएको हो कि भनेर शंका गर्ने ठाउँहरु पनि छन् । अझ पुनः संक्रमण भएकाको अवस्थामा अझ कडा हुनेको संख्या झन् कम छ । किनभने संक्रमण हुनु भनेको खोप लगाएजस्तै हो । भनेपछि संक्रमण भएका व्यक्तिले पुनः भाइरस छिर्न खोज्यो भने त्यो भाइरसलाई मारिदिन्छ ।

त्यति भन्दाभन्दै कडा लक्षण भएकाहरुको फोक्सोमा असर गर्ने पनि बताइएको छ । ठीक भएता पनि केही समयसम्म कमजोरी हुने, स्वाश फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखिएका छन् । 

निको भएको ३० दिनसम्म पनि शरीरमा भाइरस छ कि छैन भनेर विज्ञानले पनि भन्न सकेको छैन । किनको कसैकसैको ३० दिनसम्म पनि पीसीआर गर्दा पोजेटिभ देखाएको छ । त्यसैले एकपटक संक्रमणबाट निको भएकाहरुले पनि स्वास्थ्य सावधानी भने अपनाइरहनुपर्छ । उहाँहरु एक प्रकारले जोखिममुक्त हुनुभयो, तर उहाँले अरुलाई रोग सार्न सक्नुहुन्छ । हुन त संक्रमणबाट निको भएर फर्किनेबित्तिकै अरुलाई तत्कालै रोग सार्न सक्दैन । 

विज्ञानले बताएअनुसार एकपटक संक्रमण भइसकेका मानिसलाई ६ देखि ९ महिनासम्म पुनः संक्रमण हुने सम्भावना एकदमै न्यून हुन्छ । किनभने उसको शरीरमा प्रतिरोधात्मक कोषहरु विकसित भइसकेका हुन्छन् । त्यसैले उसलाई तीन देखि नौ महिनासम्म भ्याक्सिन चाहिँदैन । कोरोनालाई जित्नु भनेको खोप लगाएको भन्दा पनि राम्रो हो ।

यस्तै १५ वर्षभन्दा मुनिका बालबालिकालाई पनि तत्कालै खोपको आवश्यकता पर्दैन । तथ्य र तथ्यांकलाई मान्ने हो भने संक्रमण सबैलाई हुन्छ । तर यो समुहका व्यक्तिमा लक्षण कडा हुने र अरुलाई सार्ने सम्भावना एकदमै कम देखिन्छ । त्यही कारणले पनि होला, युरोपका विभिन्न देशमा दोस्रो लकडाउन भएको बेला कुनै पनि देशले विद्यालय बन्द गरेनन् ।

नेपालमा पनि विद्यालय खोल्नमा कुनै पनि व्यवधान छैन । विद्यालय खोल्दा संक्रमण फैलिनु भनेको विज्ञान विपरीत कुरा हो । त्यसैले त्यो समूहलाई केही पछि खोप दिए पनि हुन्छ । १५ देखि ४० सम्म एक चरणमा हुन्छ भने ४० देखि माथि जोखिम झन् बढ्दै जान्छ । त्यसैले सुरुमा सुरुमा जोखिम समूहलाई खोप दिनुपर्छ । 

यति चाँडै खोप आउनु विज्ञानको जित

अहिले कोरोनाको खोप बजारमा आउने तयारीमा छन् । कति ठाउँमा प्रयोग पनि सुरु भइसकेको छ । कम्तिमा पनि तीन महिनाभित्रमा ३५ देखि ४० खोप कम्पनीले आफ्ना खोपहरु अगाडि ल्याइसक्नेछन् । अधिकांश दोस्रो तेस्रो चरणमा काम गरिरहेका छन्् । जसरी अहिले जुन रफ्तारमा काम अगाडि बढाइरहेका छन्, त्यो हेर्ने हो भने अबको तीन महिनाभित्रमा कोरोनाको खोप बजारमा आइसक्नेछ ।

मानव जातीले चन्द्रमामा खुट्टा राखेपछिको सबैभन्दा ठूलो उपलब्धि हो जस्तो मलाई लाग्छ । यत्रो महामारीको बेला पनि यति चाँडो खोप आउनु भनेको ठूलो कुरा हो । सामान्य अवस्थामा साधारण खोप बन्न र त्यसलाई बजारमा ल्याउनको लागि पाँचदेखि छ वर्षसम्म लाग्छ । किनभने खोप भनेको सानोतिनो कुरा होइन । खोपले मानव जीवनसँग खेल्छ । यसले मानवमा सकारात्मक र नकारात्मक प्रभाव पार्छ । गलत खोप हो भने त्यसले अन्य रोग तथा समस्या निम्त्याउन सक्छ । जुन पहिला पनि भएको थियो । त्यसैले खोप निर्माण भएर प्रयोगमा आउनसम्म चार, पाँच वर्ष लाग्छ । तर कोरोनाको खोप भने ११ महिनामै बनेर प्रयोगमा आइसक्यो । यो निकै खुसीको कुरा हो । त्यसैले पनि यति चाँडै खोप आउनुलाई मैले विज्ञानको जित भन्ने गरेको छु ।

राज्यको इच्छाशक्ति भए दुई महिनामै आउँछ खोप

विश्वमा आएको खोप नेपालमा कहिले भित्रिने भन्ने कुरा राज्यको इच्छाशक्तिमा भर पर्छ । आजको दिनमा पनि ६÷७ वाटा भ्याक्सिन त विश्वमा तयार भइसकेको छ । रसियाको आफ्नै छ, चीनको छ, बेलायतको पनि छ । हाम्रो देशको सरकारले खोप निर्माता देश तथा मित्र राष्ट्र देशसँग कसरी सल्लाह गर्छ, खोप कति राम्रो छ र कसरी कुटनीतिक पहल गर्छ भन्ने कुराम महत्वपूर्ण हुन्छ ।  

भारतले अबको तीन हप्ताभित्र अक्सफोर्ड विश्वविद्यालय र एक्सटरजेनिका भन्ने कम्पनीले बनाएको खोप सुरु गर्छ । चीनले दुईवटा खोप त सुरु गरिसक्यो, अरु दुई खोप सुरु गर्दैछ । भारतमा भारत बायोटेक र इन्टर काउन्टर अफ मेडिकल रिसोर्सले बनाएको भ्याक्सिन पनि दुई महिनाभित्रै ल्याउँछ । भनेपछि चार, पाँच वटा भ्याक्सिन त हामीले भारत र चीनसँग माग्यो भने उनीहरुले दिन सक्छन् ।

अहिले भ्याक्सिनको लागि हामीले अमेरिका र युरोप ताक्नै पर्दैन । हाम्रो जनसंख्या तीन करोड भनेको त भारतको राजधानी दिल्लीको जनसंख्या हो । त्यत्रो भारतलाई भ्याक्सिन पुर्याउन सक्नेले हामीलाई दिन कुनै पनि गाह्रो कुरा होइन । हामी किन्छौं त्यो भ्याक्सिन, त्यतिकै देउ पनि भनेको होइन । यस्तै त्यत्रो विशाल जनसंख्या भएको चीनको लागि पनि नेपालको जनसंख्या के हो र ? हामीले चाह्यो भने चीनले पनि सजिलै उपलब्ध गराउन सकिहाल्छ ।

तर हाम्रो राज्यको इच्छाशक्ति कति छ र मित्र राष्ट्रसँग कसरी वार्ता गर्न सकिन्छ भन्ने महत्वपूर्ण कुरा हो । हाम्रो देशका राजनीतिज्ञको भूमिका यहाँनेर बुझिन्छ । 

हामीले कोभ्याक्सलाई पर्खिने होइन । उसले ९२ देशको लागि भनेर पहल गरेको छ । हामी आफूले पनि पहल गर्नुपर्यो नि । राष्ट्रप्रमुखले नै जुन देशले भ्याक्सिन लगाउन थालेको छ त्यो देशका प्रमुखसँग व्यक्तिगत रुपमा कुरा गरेर आफ्नो देशलाई पनि चाहिएको छ भनेर भन्न सक्नुपर्यो । 

चाँडो भ्याक्सिन ल्याउने हो भने भारत, चीन र अमेरिका यी तीन देशहरुसँग कुटनीतिक सम्बन्ध राम्रोसँग अगाडि बढाएर लैजानुपर्छ । ती देशहरुसँगको मैत्रीपूर्ण सम्बन्धको बारेमा अवगत गराउँदै उनीहरुलाई दुःख परेको बेला सहयोग गर्छौ कि गर्दैनौ भनेर सिधै प्रश्न गर्नुपर्यो । कोभ्याक्स बाहिरको भ्याक्सिन पनि हुन सक्छ, कोभ्याक्सकै लागि कुर्नुपर्छ भन्ने पनि छैन । यदि चीनले अहिलेलाई २० लाख भ्याक्सिन उपलब्ध गराउँछ भने त्यो भ्याक्सिनलाई हामीले उच्च जोखिम समूहमा प्रयोग गर्न सक्छौं । 

चीन र भारतको अहिलेको भ्याक्सिनलाई हेर्ने हो भने नयाँ कुरा केही पनि चाहिँदैन । भण्डारणको लागि फाइजरमा माइनस १७ डिग्री भनेको छ, मोडेर्नामा पनि माइनस २० भनेको छ । त्यसलाई भण्डारण गर्न विशेष फिचर चाहिन्छ । तर जुन एक्स्टाभेनेगा छ, भारत र चीनले ल्याउन लागेको जुन भ्याक्सिन छ, त्यसको लागि भण्डारण गर्न कुनै गाह्रो छैन ।

नेपालको खोप कार्यक्रमलाई विश्वकै उदाहरणीय मानिन्छ । यो खोपको जिम्मेवारी पनि नेपाल सरकारले परिवार कल्याण महाशाखालाई दिइसकेको छ । जसको पुरा अनुभव छ । त्यसैले त्यो गाह्रो विषय नै भएन । रसियाले बनाएको भ्याक्सिन पनि भण्डारण गर्न कुनै गाह्रो छैन । ती तीनवटा देशसँग कुरा गरेर त्यहाँबाट ल्याउने हो भने ल्याएर परिचालन गर्न कुनै गाह्रो छैन, तर ल्याउनु पर्यो ।

अबको चार महिनापछि त झन् १२ वटा जति यस्ता भ्याक्सिन आउँदै छन् जसको भण्डारण साधारण खोपहरुको जस्तै हुन्छ । जसलाई प्रयोग गर्न निकै सजिलो हुनेछ । हामीले तिनीहरुबाट पनि लिन सक्छौं । विकल्प यति धेरै छन् तर हामीले सुरुवात भने गर्नुपर्यो । 

नेपालमा खोप उत्पादन !

तत्कालै नेपालमा खोप उत्पाद हुने कुनै पनि सम्भावना देखिदैन । त्यसको लागि पूर्वाधार हुनुपर्यो । अहिले जहाँ पनि खोप बने ती देशमा पहिलेदेखि नै पूर्वाधार तयार थिए । 

कुनै नयाँ कम्पनी आएर तत्कालै खोप बनाउँछु भन्न सक्दैन, किनकी यो महामारीको अवस्था हो । तर हामीले महामारी बाहेकका अन्य खोप बनाउन सुरु गर्न सक्छौं । यदि हामीले भ्याक्सिन ल्याउने हो भने त्यो भ्याक्सिन निर्माताहरुसँग पनि कुरा गर्न थालौं । त्यही भ्याक्सिन नेपालमा बनाउनको, पूर्वाधार तयारदेखि जनशक्ति निर्माणको लागि निर्माताहरुसँग कुरा गर्नुपर्यो । 

(जनस्वास्थ्य वैज्ञानिक डा. दीक्षितसँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: पुस २७, २०७७

डा. समीरमणि दीक्षित

डा. दीक्षित जनस्वास्थ्य विज्ञ हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया