रुकुम पश्चिम : एकैदिन १७ कार्यालयका ९८ कर्मचारी अनुपस्थित, प्रशासनले तीन दिने स्पष्टीकरण सोध्यो

 पुस २, २०७७ बिहिबार १६:४:५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा रहेका सरकारी कार्यालयमध्ये एकैदिन १७ कार्यालयका ९८ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । सङ्घ तथा प्रदेश मातहत कार्यालयमा बुधबार जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनको क्रममा यति धेरै कर्मचारी अनुपस्थित रहेको पाइएको हो । 

अनुगमन गरिएका १७ वटा कार्यालयमध्ये ६ वटा कार्यालयका प्रमुख नै कार्यालय हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । १७ कार्यालयमध्ये १३ कार्यालयका कर्मचारी अनुपस्थित भेटिएका प्रजिअ गैह्रेले बताउनुभयो ।

विना जानकारी र बिदा स्वीकृत नगराइ कार्यालयमा अनुपस्थित भएको तथा केही कर्मचारीहरु लामो समयदेखि कार्यालयमा अनुपस्थित भएको समेत पाइएको पाइएको प्रजिअ गैह्रेले जनाउनुुभयो । 

कार्यालय प्रमुखसहितका कर्मचारीलाई तीन दिने स्पष्टीकरण

नियमित र तोकिएको समयमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुखसहितका ९८ कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयले तीन दिने स्पष्टीकरण सोधेको छ । कर्मचारीलाई नियमितता र समयको पालना नगराउने, बिदा स्वीकृत नगराइ बिदामा छाड्ने तथा कर्मचारीको उपस्थिति अभिलेख व्यवस्थित नगराउने कार्यालय प्रमुखलाई समेत स्पष्टीकरण सोधिएको छ । 

छड्के अनुगमनको क्रममा समयमा कार्यालयमा उपस्थित नभएको, हाजिरी रजिस्टरमा कैफियत देखिएको भन्दै के–कस्तो कारणले उपस्थित नभएको ? समयको पालना किन नगरेको ? बिदा स्वीकृत नगरि बिदामा किन बसेको ? निजामती सेवा ऐन २०४९ को दफा ४१ बमोजिमको आचरण किन पालना नगरेको लगायतका प्रश्न स्पष्टीकरणमा सोधिएको छ । 

यसका साथै सम्बन्धित कार्यालयका प्रमुखलाई समेत स्पष्टीकरण सोधिएको छ । कार्यालय प्रमुखले कर्मचारीको उपस्थिति नियमित गर्न नसक्नुको कारण, समय पालना गराउन नसक्नुको कारण, बिदा स्वीकृत नगराइ बिदामा छोड्नुको कारण, हाजिरी रजिस्टर अद्यावधिक नगर्नुको कारण तीन दिनभित्र खुलाउन पत्र पठाइएको प्रशासन कार्यालयले जनाएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिएमा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने समेत जनाइएको छ ।  

बुधबार जिल्ला प्रशासन कार्यालयले जिल्ला समन्वय समिति, ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना, जिल्ला हुलाक कार्यालय, जिल्ला मालपोत कार्यालयको छड्के अनुगमन गरेको थियो ।

यसैगरी खानेपानी, सिचाइँ तथा ऊर्जा विकास कार्यालय, नापी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, स्वास्थ्य सेवा कार्यालयको पनि छड्के अनुगमनमा परेका हुन् । तरकारी बीउ उत्पादन केन्द्र, डिभिजन वन कार्यालय, पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) परियोजना, तथ्याङ्क कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, समाजिक विकास कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र कृषि विकास कार्यालयमा छड्के अनुगमन गरिएको हो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया