एसियाली खेलकुद : यसपटक नेपाली खेलाडीले धेरै पदक जित्ने राखेपको दावी

 साउन ३०, २०७५ बुधबार १४:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले आसन्न एसियाली खेलकुदमा विगतको भन्दा धेरै पदक भित्रिने दावी गरेको छ । १८औं एसियाडको उद्घाटन भदौ २ गते इण्डोनेसियाको जाकार्तामा हुनेछ ।

एसियाली राष्ट्रको ओलम्पिक भनिने एसियाली खेलकुदमा ४५ राष्ट्रका एघार हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालबाट २९ खेलका २८५ खेलाडीले सहभागिता जनाउँदैछन् । जसमध्ये १२९ पुरुष र ५६ महिला खेलाडीले इण्डोनेसियामा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनीहरुको साथमा ४८ प्रशिक्षक, २४ व्यवस्थापक, २७ अफिसियल र एक जना दोभाषे रहेका छन् ।

एसियाडबारे जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद् राखेपले गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव केशवकुमार विष्टले विगतको भन्दा यसपटकको तयारी राम्रो भएकाले पदकको संख्यामा वृद्धि हुने दावी गरे ।

अघिल्लो संस्करणको एसियाडमा करातेकी विमला तामाङले कास्य पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएकी थिइन् । त्यसअघि चीनको ग्वान्जाउमा भएको संस्करणमा पनि बक्सिङका दिपक महर्जन नेपालका लागि पदक जित्ने एक्ला खेलाडी थिए ।

पत्रकार सम्मेलनमा सदस्य सचिव विष्टले नेपालले मार्सल आर्टमा पदक भित्रिने आँकलन गर्दै पहिलो पटक समावेश प्याराग्लाइडिङबाट पनि पदकको अपेक्षा गरिएको बताए । एसियाडका लागि २९ मध्य २१ खेलका खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पठाइएको र उनीहरुको मेहनतले गर्दा पनि नतिजामा सकारात्मक प्रभाव पार्ने जिकिर गरे ।

सेफ द मिसन समेत रहेका सदस्य सचिव विष्टले खेलाडी र व्यवस्थापक बाहेक एक सय जना भन्दा बढी नेपाली पदाधिकारी इण्डोनेसिया जाने बताए । यो टोलीमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र पत्रकार रहनेछन् । विगतमा अनावश्यक व्यक्तिहरुको भिड हुने गरेकोमा यस पटक आवश्यकता अनुसारको व्यक्तिलाई मात्र इण्डोनेसियामा जान सिफारिस गरिएको सदस्य सचिव विष्टको भनाई छ ।

सदस्य सचिवले २९ मध्य २१ खेलका खेलाडीहरु एसियाडका लागि प्रस्थान गरिसकेको जानकारी दिए । उनले बाँकी खेलाडी र पदाधिकारी आफ्नो तालिका अनुसार त्यसतर्फ लाग्ने जानकारी दिए ।

२९ खेलमा सहभागिता जनाउन लागेको नेपालले २३ वटा खेल जाकार्ता र ६ वटा खेल पालेम्बाङमा खेल्ने छ ।

नेपालले आर्चरी, एथलेटिक्स, थ्री अन थ्री बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाईडिङ, लनटेनिस, सुटिङ, ट्रयथलन, सेपाकताक्रो, स्पोर्टस क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ ।

राखेपले एसियाडको तयारीका लागि सरकारसँग ८ करोड रुपैयाँ माग गरेको थियो । तर  सरकारले पाँच करोड निकासा गरेको र बाँकी नपुगेको रकम प्रतियोगिताबाट फर्किएपछि निकासा गर्ने आश्वासन दिएको सदस्य सचिब विष्टको भनाई छ ।

अहिलेसम्म नेपाल २ वटा एसियाडबाहेक सबै संस्करणमा सहभागी भएको छ । नेपाल १९५४ मा फिलिपिन्सको मनिलामा र १९६२ मा इन्डोनेसियाको जाकनर्तामा भएको प्रतियोगितामा सहभागिता जनाएको छैन । नेपालले पहिलो एसियाली पदक सन् १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको संस्करणमा जितेको थियो ।

त्यसयता नेपालले जम्मा एक रजत र २२ कास्य गरी २३ पदकमात्र हात पारेको छ । 

नेपाललाई एकमात्र एसियाली रजत पदक जिताउने खेलाडी तेक्वान्दोकी सविता राजभण्डारी हुन् । तेक्वान्दोमा नेपालले १३ कास्य पनि जितेको छ । यस्तै बक्सिङमा ६ र करातेमा तीन कास्य पनि नेपाल भित्रिएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया