'महिनाको एक लाख कमाउने आशामा भिजिट भिसामा यूएई जाँदा ठगिएँ'

 पुस १०, २०७७ शुक्रबार १३:१९:२१ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

केशरबहादुर शाही/दैलेख

गाउँका अरु साथीहरुझैं मैले पनि कामको लागि वैदेशिक रोजगारीको बाटो अंगाले । २०७० सालतिर पहिलोपटक म साउदी गएँ । त्यहाँ दुई वर्ष बिताएँ । साउदीको बसाइ ठीकै रह्यो । दुई वर्ष साउदीमा काम गरेर घर फर्केको थिएँ । यता भूकम्पले थलिएको थियो नेपाल । यतै केही काम गरौं भन्दा भनेअनुसारको कामै नपाइने । फेरि विदेश जानुपर्यो भनेर म काठमाण्डौ गएँ ।

काठमाण्डौको एक म्यानपावर । त्यही म्यानपावरमा काम गर्ने मोरङका  शंकर भट्टराईले मलाई यूएईमा राम्रो जागिर भएको र कमाइ महिनाको एक लाख रुपैयाँ भन्दा बढी भएको बताउनुभयो । म्यानपावरकै मान्छे हो झुठो के बोल्यो होला र भन्ने लाग्यो । राम्रो अवसरको पर्खाइमा रहेको मलाई शंकरका कुरामा विश्वास लाग्यो । शंकरका कुराले मेरो मनमा योजस्तो अवसर फेरि आउँदैन भन्ने भान पारिदियो । अनि मैले शंकरलाई उनले मागेजति साढेतीन लाख रुपैयाँ बुझाएँ । यो २०७३ सालको कुरा हो । 

पैसा बुझाएको केही दिनमै भिसा आयो । एकपटक विदेश गइसकेको मलाई भिजिट भिसा र श्रम भिसा चिन्न कुनै गाह्रो थिएन । आफ्नो हातमा भिजिट भिसा परेकोमा मलाई अचम्म लाग्यो । मैले शंकरसँग यो विषयमा कुरा गरेँ । भिजिट भिसामा पठाउन खोजेकोमा प्रतिवाद पनि गरेँ । तर उनका चिल्ला कुराको अगाडि मेरो विरोधको केही लागेन । मैले  पैसा बुझाइसकेको थिएँ, जाँदिन भन्यो भने पैसा गुम्ने हो कि भन्ने डर थियो मेरो मनमा । तर त्यतिबेला म मात्र थिइनँ । अरु २०/२१ जना पनि मेरै जसरी भिजिट भिसामा जाँदै थिए । सबैले तीनचार लाख रुपैयाँ बुझाएका थिए । यति धेरै जना जाँदै हुनुहुन्छ, चिन्ता मान्नुपर्ने केही छैन भनेर शंकरले सम्झायो । अरु साथीहरुले पनि खासै अप्ठ्यारो नहुने कुरा गरे । अनि हामी यूएई गयौं ।

त्यहाँ शंकरका मान्छेले नै हामीलाई एअरपोर्टबाट होटेलसम्म लिएर गए । त्यहाँ उनीहरुले कोठा खोजेर तयार पारेका रहेछन् । हामीलाई त्यही कोठामा राखेर शंकरका मान्छे सम्पर्कविहीन भए । कामको लागि फोन गर्यो भने भोलि/भोलि भन्दै टार्ने गर्थे । नेपालमा शंकरलाई फोन गर्दा उसले फोन उठाउँथेन । त्यो लगभग चार महिनाको अवधिमा निकै दुःख पाइयो । आफूले लगेको पैसा केही दिनमै सकियो । पछि साथीहरुसँग आपटसापट गरेर चलाइयो । कतिपटक घरबाट पैसा मागियो । कोही साथी कतै लागे, कोही कतै । धेरैले दुःख पाए । कोही नेपाल फर्के । यहाँ केही हुँदैन, पछि झन् दुःख हुन्छ भन्ने सोचेर मैले पनि घरबाट पैसा मगाएँ ।  यूएई गएकाे तीन महिना २१ दिनपछि म पनि नेपाल फर्किएँ ।

कहिलेकाहीँ अनुभवले मात्र पनि काम गर्दो रहेनछ । एकपटक वैदेशिक रोजगारीमा गएको अनुभव हुँदाहुँदै पनि म दोस्रो पटक ठगिएँ । त्यहाँबाट आएर मैले शंकरलाई भेटें । उनको जोरपाटीमा पसल थियो । उनीबाट डेढ लाख रुपैयाँ लिएँ । बाँकी रकम केही दिनमा दिन्छु भनेको थियो तर पछि त पसल नै बेचेर गइसकेको रहेछ, पछि भेट पनि भएन । त्यसपछि म पनि कतार गएँ । त्यहाँ दुई वर्ष बसेर ९ महिना पहिले मात्र म नेपाल फर्केको थिएँ । बीचमा कोरोनाले लकडाउन भयो कहीँ जान पाइएन । अझै मैले शंकरबाट करिब दुई लाख रुपैयाँ लिन बाँकी छ । त्यसैको लागि म वैदेशिक रोजगार विभाग लगायत अन्य निकायहरुमा पनि धाइरहेको छु ।

एजेण्टको विश्वास गर्दा म नराम्रोसँग ठगिएँ । अरुलाई पनि यो विषयमा सचेत रहन आग्रह गर्छु । भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा पठाएर हामीबाट एजेण्टले मोटो रकम लुट्दा रहेछन् । वैदेशिक रोजगारीमा जानै परे श्रम लिएर, कानुनी प्रक्रिया पूरा गरेर मात्र जान म सबैमा आग्रह गर्छु ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया