अबको 'मिसन' विघटित प्रतिनिधि सभाको पुनर्स्थापना : याेगेश भट्टराई

 पुस १२, २०७७ आइतबार २०:३८:४६ | गोविन्द शर्मा
unn.prixa.net

फाइल फाेटाे

बाँके – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गर्नु सबैभन्दा ठूलो अपराध भएको आरोप लगाउनुभएको छ ।

अहिलेको अवस्थामा प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएको उहाँले बताउनुभयो । पार्टीको बाँके जिल्लास्तरीय भेला तथा प्रशिक्षणलाई आइतबार नेपालगञ्जमा सम्बोधन गर्दै नेता भट्टराईले भन्नुभयो, ‘कम्युनिस्टको बहुमत भएको संसद् विघटन गरी मुलुकलाई कहाँ पुर्याउन खोजिँदैछ । प्रधानमन्त्री ओलीलाई साविकको नेकपा एमाले र जनताको बहुदलीय जनवादभन्दा प्रधानमन्त्रीको कुर्सी प्यारो लाग्यो ।’ 

पार्टी एकतापछि साविक एमाले र माओवादीको रुपमा कित्ताकाट नहुने भन्दै उहाँले अबको आवश्यकता एकताबद्ध नेकपा नै भएको बताउनुभयो । विवादअघिको केन्द्रीय कमिटीको बहुमत पक्ष नै आधिकारिक हुने भन्दै उहाँले नेकपा र सूर्य चुनाव चिह्न आफूहरूको नै हुने दाबी गर्नुभयो । चुनाव गर्नका लागि मिति घोषणा नभएको दाबी गर्दै उहाँले अबको मिसन विघटित प्रतिनिधि सभाको पुनर्स्थापना नै भएको टिप्पणी गर्नुभयो ।

दुई अध्यक्षबीच सरकारको आलोपालो नेतृत्व गर्ने सहमतिबाट प्रचण्ड पछि हटेर प्रधानमन्त्रीलाई सहयोग गरेको, वरिष्ठ नेता माधव नेपालले एमालेको संसदीय दलको नेतामा ओलीलाई प्रस्ताव गरेको भन्दै उहाँले प्रधानमन्त्री ओलीमा म नै राज्य हो भन्ने अहमले गर्दा समस्या निम्त्याएको दाबी गर्नुभयो ।

‘प्रतिनिधि सभाको पुनर्स्थापना हुन्छ, नेकपा र सूर्य चिह्न हाम्रो हुनेछ’, उहाँले भन्नुभयो, ‘सरकार हामी बनाउँछौँ, दुई वर्ष पनि बहुमत पनि हाम्रो हुनेछ ।’ आत्मालोचनासहित आएमा प्रधानमन्त्री ओलीलाई पार्टीमा ल्याइने उहाँको भनाइ छ ।

कार्यक्रममा संविधानसभा सदस्य दलबहादुर सुनार, नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, सचिव अशोक कोइरालाले आफूहरु नै आधिकारिक भएको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

1 Comments

  • Dipen

    Dec. 28, 2020, 1:08 a.m.

    राम्रो नेता लाग्थ्यो भुसाल र भट्टराई ...केन्द्रिय नेताहरु सबैलाई हराउने हो , रुख मै भोट हाल्न किन नपरोस /

  •  0 Reply

तपाईको प्रतिक्रिया