नेकपाको फुट : मतदाता र कार्यकर्ताका लागि कागलाई बेल बराबर !

 पुस १४, २०७७ मंगलबार १२:२९:५१ | मिलन तिमिल्सिना
unn.prixa.net

अस्तिताकासम्म आफ्नो पार्टीको सरकार छ, केन्द्रदेखि पालिकासम्म बहुमत छ भनेर गजक्क पर्ने नेकपाका नेता/कार्यकर्ता हिजो–आज रुझेको बिरालो जस्ता देखिन्छन् । एक–अर्कालाई तथानाम गाली गर्दै गुटगत भेला र सभामा बाँडिएका नेताहरूकै अनुहारमा पनि कुनै चमक छैन । आफ्नो गुटका नेताको बखान र अर्को गुटका नेताको विरोध गर्न व्यस्त कार्यकर्ताको स्वरमा कुनै जोश छैन । दुई पार्टी मिलेपछि देशमा के–के न हुन्छ भनेर उत्साहित भएका नेकपाका मतदाता र कार्यकर्ता दुःखी र निराश छन् । झगडा गरिरहने दाजुभाइ छुट्टा–भिन्न भइ घरलाई लथालिङ्ग पारेर हिँडेको परिवारको हाल जस्तै भएको छ, नेकपा कार्यकर्ताको अहिलेको अवस्था । 

पार्टीको चुनाव चिह्न घाम घुर्मैलो भए पनि घामजत्तिकै छर्लङ्ग कुरा के हो भने सङ्घका स्वनामधन्य र शीर्ष नेताहरूको कार्यशैली र व्यवहार सम्झेर कार्यकर्ता दुःखी हुनुपर्ने कारण नै छैन । पार्टी फुट्यो भनेर रुने अवस्थामा पुगेका नेकपाका नेताकार्यकर्तालाई राम्रोसँग थाहा छ– नेताहरू कुनै सिद्धान्त नमिलेर, चुनावताका पार्टीको घोषणापत्रमा उल्लेख गरेका काम गर्दा अप्ठेरो परेर वा नागरिकका समस्या समाधान गर्न खोज्दा व्यवधान पैदा भएर विभाजनको बाटो लागेका होइनन्, बरु धनको लालच, पदको लोभ, आफन्त, ठेकेदार र आफ्नो स्वार्थ समूहलाई खोजेको भाग नपाएर दुई दिशामा लागेका हुन् ।

मलाई काम गर्न दिएनन् भनेर हाकाहाकी झुट बोल्ने केपी शर्मा ओली र ओलीले एकलौटी गरे भनेर गनगन गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालका गुटका पृष्ठभूमि हेरौँ न । 

सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्याउन ढिलो गर्‍याे, छिटो ल्याउन पर्‍याे भनेर प्रचण्ड–नेपाल समूहले कहिल्यै ओलीलाई दबाब दिए ? दिएनन् । 

कोरोना सङ्क्रमणका कारण आमनागरिकको स्वास्थ्य, रोजगारी र जीविकामा समस्या भएकाले यसरी–यसरी राहतका कार्यक्रम ल्याउनुपर्‍याे भनेर सरकारलाई भने ? भनेको सुनिएन । 

चुनावी घोषणा पत्रअनुसार सुखी र समृद्ध नेपाल बनाउन ढिलो भयो छिटो गरौँ भनेर प्रचण्ड–नेपालहरूले ओलीलाई खबरदारी गरे त ? गरेनन् ।

अनि रेलदेखि पानीजहाज चलाउन, कोरोना रोकथाम र नियन्त्रण गर्न, महँगी, भ्रष्टाचार, ढिलासुस्ती, बेथिति रोकेर विकासका काम गर्न ओलीलाई प्रचण्ड र नेपालले कुनै दिन रोके त ? रोकेनन् ।

समृद्ध नेपाल र सुखी नेपाली अभियान पूरा गर्न मेरो यस्तो योजना छ, लौ पार्टीले सहयोग गर्नुपर्‍याे भनेर ओलीले कहिल्यै आफ्नो दल, नेता र कार्यकर्तासित भनेको सुन्नु भो त ? कसैले आजसम्म सुनेको छैन । 

अनि अहिले आ–आफूलाई ठूलो र शक्तिशाली देखाउन जिल्ला–जिल्ला र गाउँगाउँमा नेता कार्यकर्ता खोजी हिँडेका दुवै पक्षले यसअघि आफ्ना कार्यकर्ताको पिर, मर्का र अप्ठ्याराबारे सोधी–खोजी गरे त ? गरेनन् । 

स्पष्टै छ ओली, प्रचण्ड, माधव नेपाल र अरू शीर्ष नेताले सत्तामा पुगेपछि कार्यकर्ता र मतदाताको धज्जी उडाइरहे, अहिले पनि आ–आफ्ना डम्फु बजाएर उडाइरहेकै छन् । सुविधाजनक बहुमत पाएर पनि नेकपाले नागरिक र देशका लागि जनहितका र राष्ट्रहितका काम गर्न खोजेन, खोजेको देखिएन । देश विकास गर्ने वाचा गरेर चुनाव जितेपछि उनीहरू सत्ताकै दाउपेचमा रुमल्लिए । पदमा रहेका ओलीलाई आफै सर्वेसर्वा हो अरूलाई किन भाउ दिइरहनु पर्‍याे भन्ने अहम् भयो । अनि छिटै पदमा पुग्ने छाँट नदेखेपछि प्रचण्ड, नेपाल र खनालहरूको छटपटी बढ्यो ।

एउटा सत्य के हो भने प्रचण्डलाई पहिले लागेको थियो– ओलीलाई स्वास्थ्यले साथ दिँदैन, एक/दुई वर्षपछि प्रधानमन्त्री हुने पालो मेरै हो । प्रचण्डको पालो आएपछि आफूहरू पनि अगाडि बढ्ने पालो आउँछ भन्ने नेपाल र खनाललाई पनि लागेको थियो । तर मिर्गौला फेरिएपछि ओली झन् तगडा भए । पूरै कार्यकाल प्रधानमन्त्री हुने बाटोतिर लम्किए । अनि प्रचण्ड, नेपाल र खनालहरूको छटपटी दिन दुगुना र रात चौगुना बढ्यो । चुनाव हारेका नारायणकाजी र वामदेवलाई राष्ट्रिय सभामा पठाउन बाध्य पारि ओलीको तेजोवध गरे । उनीहरुलाई तेजोवध गर्न ओलीले प्रतिनिधि सभा विघटन गरेर न रहे बाँस न बजे बाँसुरी हुने गरि देशलाई नै अन्धकार गुफामा धकेलिदिए । महाभारतमा युधिष्ठिरले राज्य, भाइ र श्रीमतीलाई जुवाको दाउमा राखेर हारेका थिए, अहिले ओलीले देशलाई दाउमा राखेर सबैले हार्ने जुवा खेले । 

त्यसो त कम्युनिस्ट पार्टीमा अहिलेसम्म भएका सबै जुट र फुट व्यक्तिगत टकराव र स्वार्थकै कारण भएका थिए तर कतिपय नेता फुटलाई सिद्धान्तको जलप लगाउन सफल भएका मात्र थिए । धेरै टाढा नजाऔँ, पहिले एमालेबाट माले फुटेको र प्रचण्डलाई अरू नेताले छोडेको उदाहरण नै हेरौँ न । प्रचण्डले कहिल्यै पद नछोडेपछि मोहन वैद्य, बाबुराम भट्टराईलगायतका नेताहरू पार्टी छोडेर हिँड्न बाध्य भए । कम्युनिस्ट सिद्धान्तलाई छोड्न नचाहने मोहन वैद्य राजनीतिको मैदानबाट अहिले निकै पर पुगिसकेका छन् । सिद्धान्त र व्यवहार आफ्नो स्वार्थका लागि चाहिने बाबुराम कहिले यो पार्टी र कहिले ऊ गर्दै अहिले मधेश पुगेका छन् । जोसँग मिल्दा फाइदा हुन्छ उतै ढल्कने स्वभाव भएका प्रचण्ड कहिले ओली र कहिले नेपाल खनाललाई नचाइरहेछन् । 

२०५२ सालमा एमाले चोइटिएर माले गठन गर्दा सीपी, आरके र वामदेव गौतमले महाकाली सन्धिलाई कारण देखाएका थिए तर त्यो देखाउनका लागि मात्र थियो । २०५४ सालको चुनावमा माले हराएर एमाले पनि सानो भएपछि फुटेर गएको मालेका धेरै नेता एमालेमा फर्किए । अर्थात् महाकाली सन्धिलाई राष्ट्रघात भनेर गएका नेताहरू त्यसको छिनोफानो नभए पनि पार्टीगत स्वार्थ पूरा नभएपछि एमालेमा फर्किए ।

स्वार्थ पूरा नभए फुट्ने र स्वार्थ पूरा हुने देखे जुट्ने स्वभाव कम्युनिस्ट नेताको जन्मजात गुण भइसकेको छ । साढे दुई वर्षअघि तत्कालीन एमाले र माओवादीलाई ओली र प्रचण्डको यही जन्मजात स्वभावले जोडेको थियो । स्थानीय चुनावमा कांग्रेससँग मिलेर पनि हार खाँदै विलीन हुने डर लागेर प्रचण्डलाई एमालेको माया लागेको थियो । प्रचण्डलाई कांग्रेससँग मिल्न दिएर कहिले कांग्रेस र कहिले माओवादीको वैशाखी टेकेर सरकार बनाउनुभन्दा माओवादी नामको घोडालाई तबेलामा पाल्दा फाइदा हुने देखेपछि ओलीको आँखाबाट प्रचण्डका लागि प्रेमका आँसु बर्सिएका थिए ।

यसरी स्वार्थ मिलेपछि माओवादी र एमाले मिल्दै गएर नेकपा बनेको थियो । अहिले फेरि स्वार्थ मिलेन, दुवै अलग–अलग भएका छन् । नेकपा न त मतदाता र कार्यकर्ताको भलाइका लागि जुटेको थियो, न त कार्यकर्ता र मतदाताकै स्वार्थमा फुटेको छ । त्यसैले, पार्टी फुट्यो भनेर कार्यकर्ताको रोइ–कराइ आवश्यक छैन । यो गुट ठिक कि त्यो गुट ठिक भनेर गर्ने बहसको त झन् कुनै अर्थ छैन । अहिलेको फुट र फुटपछि जे भइरहेको छ, त्यो केही नेताको स्वार्थका लागि मात्र भइरहेको छ । स्वार्थ मिलेको खण्डमा फेरि उस्तै चोचोमोचो सुरु हुनेछ र लुटको भागबण्डा पनि ।  

कम्युनिस्टहरू फुट्ने र जुट्ने प्रक्रिया संसारभरि नै छ र नेपालमा स्थापनाकालदेखि नै हरेक वर्ष टुटफुट चलिरहेकै छ । पहिले र अहिलेका फुटमा फरक भनेको ओलीले प्रतिनिधि सभा भङ्ग गरेर रोजेको आत्मघाती बाटो हो, जसले नेकपालाई मात्र होइन, देश र नागरिकलाई नै भड्खालोमा हाल्ने स्पष्ट छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०७८

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया