मनहरी गाउँपालिकाकी उपाध्यक्षकाे राजीनामा स्वीकृत

‘मैले राजीनामा दिएकै छैन’

 पुस १९, २०७७ आइतबार १६:२०:४२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको राजीनामा गाउँपालिकाले स्वीकृत गरेको छ । गएकाे मङ्सिर २९ गते गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई दिएको राजीनामा स्वीकृत भएको हो ।

२० दिन अगाडि दिइएको राजीनामा आइतबार (आज) स्वीकृत भएको हो । उपाध्यक्ष विष्टको राजीनामा शुक्रबार स्वीकृत भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । राजीनामा दिएपछि नेपाली कांग्रेसबाट जितेका वडाध्यक्ष र नेकपाबाट जितेका कार्यपालिकाका सदस्यहरूले गाउँपालिकाको कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी दिएपछि राजीनामा स्वीकृत भएको उहाँकाे भनाइ छ । 

कांग्रेस र नेकपाका कार्यपालिकाका सदस्यहरूले उपाध्यक्ष विष्टले दिएको राजीनामा सार्वजनिक गर्न माग गरेका थिए । राजीनामाको विषयमा जानकारी नदिएमा कार्यपालिकाको बैठक नै बस्न नदिने भएपछि राजीनामा स्वीकृत गर्न बाध्य भएको अध्यक्ष उप्रेतीले बताउनुभयो । 

तर गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले भने आफूले अध्यक्षलाई राजीनामा नबुझाएकाे बताउनुभएको छ । अहिले पनि आफू गाउँपालिकाको कार्यालयमा काम गर्दै गरेको जानकारी दिँदै उहाँले राजीनामा नदिएको बताउनुभयो ।

गएकाे शुक्रबार अपराह्न ५ बजेपछि दुई जना कर्मचारीले राजीनामा दर्ता गरेको भन्ने कुरा आफूले बुझेको उहाँकाे भनाइ छ । तर आफूले राजीनामा नै नदिएको उपाध्यक्ष विष्टले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया