सुदूरपश्चिमका ७ जना नेकपा सांसद ओली पक्षमा खुले, नयाँ सरकार बनाउन ६ जना अपुग

 पुस २३, २०७७ बिहिबार ७:१२:१८ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिममा प्रधानमन्त्री केपी ओलीको पक्षमा खुल्ने नेकपा सांसदको संख्या सात पुगेको छ । 

बुधबार आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिंदै ओली पक्षलाई साथ दिएपछि संख्या सात पुगेको हो । जनभावना अनुसार काम गर्न समस्या भएको भन्दै उहाँले राजीनामा दिनुुभएको हो । 

प्रदेश सरकार फेरबदल हुने सम्भावना कति छ ? भन्ने प्रश्नमा बोहराले भन्नुुभयो, ‘अर्को पक्ष (प्रचण्ड-नेपाल) को गुण र दोष हेरेर हामीले नीति बनाउँछौँ।’ यसअघि भौतिक पूूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट बर्खास्त गर्नुुभएको थियो ।

बोहराले ओली पक्षलाई साथ दिएको भन्दै बर्खास्त गरिएको थियो । ओली पक्षलाई प्रदेशसभा सदस्य लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले पनि साथ दिएका छन् । 

ओली पक्षलाई कांग्रेस र जनता समाजवादीसँग मिलेर सरकार बनाउन अझै नेकपाका ६ जना प्रदेशसभा सदस्य अपुग देखिएको छ । प्रदेशसभामा ३९ नेकपा, १२ कांग्रेस र २ जसपाका प्रदेशसभा सदस्य रहेका छन् । 

अर्थमन्त्री बोहराको राजीनामा 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिनुभएको छ । 

नेकपा विभाजनको विवादबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिनुभएको हो । उहाँले काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएको बताउनुभयो ।

उहाँ ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले लाइन क्लियर गर्न नभए राजीनामा दिन निर्देशन दिनुभएको थियो भने ओली पक्षले राजीनामा दिन दबाब दिंदै आएको थियो ।

सुदूरपश्चिम सरकारमा प्रचण्ड–नेपाल समूहको वर्चश्व छ ।  ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गर्नुभएको थियो । 

बर्खास्त गरिएका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहोरा पहिलेदेखि नै ओली समूहमा खुलेर लाग्दै आउनुभएको थियो । अर्थमन्त्री झपट बोहरा भने राजीनामा दिएपछि ओली समूहमा खुलेर लाग्नुभएको छ । 

बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित हुनुभएको थियो , तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

 नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट निकट मानिने बोहराले यसअघि पार्टी एकताकै पक्षमा रहेको बताउँदै आउनुभएको थियो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया