‘महामारीपछि नेपालको पर्यटनमा सम्भावना झनै बढेको छ, सरकारको तयारी पुग्दो छैन’

 पुस २३, २०७७ बिहिबार ९:१८:२० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - कोरोना महामारीको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा ठूलो मारमा पर्यो । होटल व्यवसाय, विमान कम्पनी, ट्राभल कम्पनीलगायतका व्यवसाय मारमा पर्दा यसले देशको आर्थिक वृद्धिदरमै धक्का पुग्यो । 

कयौँको रोजगारी गुम्यो, व्यवसाय बन्द हुने अवस्थामा पुगे । सरकारले बेलैमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्यटन क्षेत्र खुला गरिदिएको भए अहिले यस्तो समस्या पर्ने थिएन भनेर पर्यटन क्षेत्रका विज्ञले भन्दै आएका छन् । 

पर्यटन क्षेत्रमा कोरोना महामारीले पारेको असर कमन गर्न अहिले पनि सरकारले काममा तीव्रता नदिएको र भविष्यको लागि पनि कुनै योजना नबनाएको भन्दै व्यवसायी चिन्तित छन् । 

पर्यटन क्षेत्रका विज्ञहरुले सरकारलाई विभिन्न सुझाव दिइरहेका छन् । पर्यटन क्षेत्रमा परेको असर र अबको योजनाबारे बुझ्न नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीले अग्रसरता लिनुभएको छ । यसैको लगि उहाँले पछिल्लो ४ महिनामा साढे ८ हजार किलोमिटर लामो यात्रा गर्दै विभिन्न क्षेत्रमा सरोकारवालासँग भेट्ने र  अवस्था बुझ्ने काम गर्नुभएको छ । 

कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको प्रभावको समिक्षा र अब गर्नुपर्ने कामको बारेमा अर्जुन पोख्रेलले नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीसँग गरेको कुराकानी :

पर्यटन बोर्डमा सीईओको रुपमा कार्यरत हुँदा तपाइँ निकै दौडधुप गर्नुहुन्थ्यो । पर्यटन क्षेत्रका हरेकजसो गतिविधिमा तपाइँलाई देख्न पाइन्थ्यो ।  अहिले त सरकारी पदमा हुनुहुन्न, दैनिकी कसरी बित्दैछ  ?

अहिले पनि मेरो व्यस्तता पहिले जस्तै छ । मेरो व्यवस्ता कुनै घरयासी या निजी कामको लागि नभएर पर्यटन क्षेत्रका काममै बढी हुने गरेको छ ।  

अहिले नेपालकै निजी क्षेत्रका साथीहरुको पहलमा सरकारी र निजी क्षेत्रले काम गर्ने गरी ‘टुरिजम रिकभरी टास्क फोर्स’ गठन भएको छ । त्यसमा मैले स्वयंसेवाको रुपमा संयोजकको हैसियतले काम गरिरहेको छु ।  यस्तै यही महामारीको बीचमा नै विश्वभरको पर्यटनमा नयाँ केही गर्न सकिन्छ कि भन्ने हिसाबले  विश्व पर्यटन सञ्जाल बनेर स्थापना गरेका छौँ ।  त्यो संस्थाको संस्थापक सदस्यको रुपमा रहेकाले मैले पनि धेरै काम गर्नुपर्ने हुन्छ । 

अहिले १ सय २६ वटा देशमा यसको सञ्जाल फैलाइसकेका छौँ । यसले महामारीपछि पर्यटन क्षेत्र कसरी उठाउने भन्ने विषयमा काम गरिरहेको छ । 

यो बीचमा तपाइँले धेरै ठाउँमा घुमघाम पनि गर्नुभयो, उद्देश्य के थियो ?

यो बीचमा मैले पर्यटन क्षेत्र कत्तिको प्रभावित भएको छ र यसलाई कसरी उकास्न सकिन्छ भन्ने विषयमा मेरो अध्ययन भ्रमण थियो । पछिल्लो ४ महिनामा मैले आफै गाडी हाँकेर साढे ८ हजार किलोमिटरभन्दा लामो यात्रा गरेँ । चितवन, बुटवल, पोखरा, बर्दिया, धनगढी हुँदै कञ्चनपुरसम्मका विभिन्न पर्यटकीय गन्तव्यको अध्ययन गरेँ । होटल सञ्चालकदेखि होमस्टेक सञ्चालकसँग कुरा गरेँ । 

स्थानीय स्तरमा रहेका पर्यटन उद्यमी र गन्तव्यसँग सम्बन्धित व्यक्तिलाई भेट्ने मेरो इच्छा थियो । मैले घुमघामको क्रममा कयौंसँग कुरा गरेँ र जानकारी लिने मौका पाएँ । 

सरकारले कडाइलाई खुकुलो बनाउँदै लगेको अवस्थामा कस्तो पाउनुभयो पर्यटन बजार, व्यवसायीको प्रतिक्रिया कस्तो रहेछ?

अहिले घुमफिरको वातावरण खुकुलो भएको छ । आन्तरिक उडान चल्न थालेका छन् । आन्तरिक पर्यटक घुम्न निस्किएका छन् । बर्दियाकै कुरा गर्दा त्यहाँका होटलमा ३०/३५ प्रतिशत अकुपेन्सी रहेको देखियो । यसले गर्दा व्यवसायीलाई टिक्न सक्ने रकम आर्जन हुन थालेको छ ।

विदेशमा पनि नेपालका गन्तव्यमा पर्यटक घुमघाममा निस्कन थालेको सन्देश गएको छ । हामी आफैंले पनि के कस्ता सुधार गर्न सक्छौँ भन्ने सिकाइ पनि भएको छ । 

अहिलेसम्मको क्षतिबाट सजिलै उठ्न सकिने अवस्था छ कि ?

सरकारले गरिरहेको व्यवहार अहिलेको जस्तो मात्रै भयो भने उहाँहरुलाई उठ्न निकै गाह्रो हुने देखिन्छ । धेरै व्यवसायी पीडादायी अवस्थामा हुनुहुन्छ । यसमा उहाँहरुले २/४ वटा आशा राख्नुभएको छ । 

एउटा त आन्तरिक घुमघाम बढाउनको लागि केन्द्र सरकार, प्रदेश सरकार वा स्थानीय सरोकारवालाबाट उहाँहरुले अझै राम्रो भरोसा र साथ चाहिरहनुभएको छ । नेतृत्व, समन्वय र सहयोगी भूमिकाको खोजीमा उहाँहरु हुनुहुन्छ । 

अर्को कुरा संघीय सरकारले पर्यटन क्षेत्रका उद्योगी व्यवसायीलाई लक्षित गरेर ५० अर्ब रुपैयाँको कोष बनाउने भनेको थियो, त्यो कोष अहिलेसम्म परिचालन भएको छैन । यस्तै अन्य मन्त्रालय र प्रदेश सरकारले पनि घोषणा गरेका राहतका प्याकेज चाँडै पाउन सकेमा घाउमा केही मलम हुन सक्छ भन्ने उहाँहरुको भनाइ छ ।

सुरक्षाको विषयलाई लिएर पनि व्यवसायी चिन्तित रहेको पाइयो । पाहुना आउँदा कसरी सेवा दिने, कसरी सुरक्षा सतर्कता अपनाउने, आएका पाहुनामा कोरोनाको लक्षण देखियो या बिरामी परे भने कहाँ सम्पर्क गर्नेलगायतका विषयमा उहाँहरु अलमलमा हुनुहुन्छ । यो विषयमा पनि उहाँहरुले सरकारी साथ र सहयोगको अपेक्षा गर्नुभएको छ । 

त्यस्तै पर्यटन क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरुका पनि पीडा छन् । उहाँहरुको लागि पनि कुनै न कुनै टास्क फोर्स बनाएर काम गर्न सकिन्छ । ट्रेकिङमा काम गर्नेहरुलाई ट्रेकिङ रुट मर्मतको काम दिन सकिन्छ । यस्ता अन्य थुप्रै क्षेत्रमा अहिले सुधारको अवसर छ  । एकातिर अहिले बेरोजगार भएका पर्यटन क्षेत्रका मजदुर तथा कर्मचारीले काम  पाउने र अर्कोतिर हाम्रा संरचना सुधार गर्नको लागि यो समय उत्तम देखिएको छ । 

विश्वका धेरै देशमा पर्यटकीय क्षेत्र खुला गर्दा नेपालमा भने लामो समयसम्म बन्द रह्यो । नेपालका पर्यटकीय क्षेत्र खुलाउन र पर्यटक भित्र्याउन ढिला गर्दा समस्या बढ्दै गएको कतिपयले गुनासो गरे पनि, तपाइँलाई के लाग्छ ?

मलाई पनि हामीले सबैभन्दा ठूलो कमजोरी यहि नै गर्यौँ भन्ने लाग्छ । विश्वका कयौंँ देशले मज्जाले पर्यटक तानिरहँदा हामीले भने आन्तरिक उडान पनि ठप्प बनाएर बस्यौँ । आखिर विदेशीलाई नेपाल आउन रोके पनि यहाँ महामारी त रोकिएन नि । हामीले स्वास्थ्यका कडा मापदण्ड बनाएर यो क्षेत्र धेरै पहिले खुलाउन सक्थ्यौँ । 

अहिले विश्वका धेरै ठाउँमा पर्यटकहरु कस्तो ठाउँमा जान रुचाइरहेका छन । कोरोनाको डरका कारण घुम्ने योजना कतिले स्थगित गरे भनेर सर्भेहरु भइरहेका छन् । त्यसमा पर्यटकको जवाफ के छ भने उनीहरु कोरोनाको डरले घुम्न जान डराएका छैनन्, बरु सरकारले लगाएका विभिन्न प्रतिबन्धका कारण घुम्न जान डराएको बताएका छन् ।

त्यसकारण अहिले संसारमा जुन गन्तव्यमा अलि खुलेर स्वागत पाइन्छ, व्यवहार राम्रो भएको छ, त्यहाँ पर्यटक गइरहेका छन्  । नेपालले पनि कोरोनाबाट बच्दै पर्यटकलाई खुलेर स्वागत गरेको भए ठूलो अवसर थियो । दुबई, माल्दिभ्स, टर्कीलगायतको देशमा धेरै पर्यटक जानुुको कारण त्यही थियो । 

महामारीपछि धेरै पर्यटक एकान्त र प्राकृतिक गन्तव्यमा जान चाहिरहेका छन्, नेपालले यो मौकाको फाइदा उठाउन सक्छ । 

सरकारले पीसीआर नेगेटिभ रिपोर्ट ल्याएर आउने पर्यटकलाई ७ दिनको क्वरेण्टीनमा बस्नैपर्ने भन्यो, यो नियमले गर्दा समस्या भयो भन्न खोज्नुभएको हो ?

हामीले पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने पर्यटकलाई ७ दिन क्वरेण्टीनमा बस्नुपर्ने नियम बनायौँ । यो नियम आफैंमा नराम्रो होइन । तर अहिले नेपाल आएका पर्यटक ७ दिन क्वरेण्टीमा बसे कि बसेनन् भने कुनै पनि निकायले अनुगमन गर्दा रहेनछन् ।

नेपाल आइसकेपछि पर्यटक जहिले जता गए पनि भएको छ । यदि यहाँ अनुगमन नहुने हो भने त हामीले ७ दिनको क्वरेण्टीन भनेर किन नियम बनाउने र किन हल्ला फैलाउने ? त्योभन्दा राम्रो त नेपालमा पीसीआर नेगेटीभ रिपोर्ट  लगेर गएमा क्वरेण्टीन नै बस्नु पर्दैन भनेर प्रचार गर्यो भने धेरै पर्यटक आउलान् नि त ।

हामीले पर्यटकको लागि विश्वकै कडामध्येको नियम बनायौँ । तर कोरोना महामारी पनि  थोरैमा रोक्न सकेनौँ । समन्वयको अभाव कत्तिको देखियो ?

हामीकहाँ समन्वयको निकै खाँचो देखिन्छ । नियम घोषणा गरिदिने तर कसले कहाँ कसरी जिम्मेवारी लिने भन्ने विषयमा चुस्त काम नै हुन नसक्ने ।

हामीले विदेशी पर्यटक पूरै रोकेको अवस्थामा यहाँभित्र पनि उत्तिकै सतर्कता अपनाएर महामारीलाई न्यूनतम संख्यामा सीमित गर्न सक्थ्यौँ । हामीले पर्यटक रोक लगाएर आम्दानी पनि गुमायौँ अनि यता महामारी पनि रोक्न सकेनौँ । समन्वयको अभाव त मज्जैले देखियो । 

समन्वयको कुरा गर्दा एउटा कुराको याद आयो । हामीकहाँ लामो समयसम्म आन्तरिक उडान खुलेन । सरकारले उडान खुलाउने कुरै गरेन । हामीले सानो अध्ययन गर्यौँ, विश्वका सबैजसो देशमा आन्तरिक उडानमा त बन्देज खुलिसकेको रहेछ ।

हामीले यही कुरा सरकारी अधिकारी समक्ष राख्दा उहाँहरु झस्किनुभयो । नेपालबाहेक बाँकी देशमा आन्तरिक उडान खुल्दा यहाँको निकायलाई थाहा नै नभएजस्तो देखियो । यस्ता यस्ता कयौँ कुरामा हामी पछि परेकैले समस्या हुने गरेको छ ।

यस्ता विषयमा सरकारले विज्ञहरु छलफल गर्ने, उनिहरुको अध्ययनलाई मनन गर्ने र सुधारका क्षेत्र खोजी गर्ने कुरालाई यहाँ कत्तिको महत्वका साथ हेरिने रहेछ ?

कुनै पनि क्षेत्रका विज्ञ, जानकार र लामो समय अनुभव बटुलेका व्यक्तिलाई धेरै विषय थाहा हुन्छ । सरकारले नीति बनाउँदा होस् या कार्यान्वयन गर्दा त्यस्ता विज्ञको खोजी गर्नुपर्ने हो । तर नेपालमा त्यस्ता विज्ञको खोजी गरिँदैन ।

सरकारी क्षेत्रमा सम्बन्धित क्षेत्रका जानकार व्यक्तिहरु पदमा  हुँदैनन्, जानेबुझेको मान्छे पदमा पुगिहाले पनि लामो समय बस्न पाउँदैनन्, सरुवा भएर गइहाल्छन् । पर्यटन क्षेत्रकै कुरा गर्दा पर्यटन मन्त्रालय र विभागमा कति पर्यटन बुझेका कर्मचारी छन् त ? 

सरकारसँग मान्छे नभए पनि यस्तो संकटका बेला कम्तीमा विज्ञहरुको समूह बनाउने, सुझाव लिने अनि अनुभव सुन्न सक्नुपर्छ । तर हाम्रोमा यस्तो संस्कृति नै बन्न सकेको छैन ।

तपाइँले अघि सर्भेको कुरा गर्नुभएको थियो, यो बेला पर्यटकले कस्ता गन्तव्य खोज्दा रहेछन्, नेपालले फाइदा लिन सक्ने अवस्था छ कि छैन त ?

अहिले विश्वभरि भएका सर्भले पर्यटकहरुले भीडभाड नहुने ठाउँ, प्राकृतिक वातावरणमा घुलमिल हुन पाइने र पर्वतीय पर्यटनमा रमाउन चाहेको देखिएको छ । नेपालले यसको मनग्य फाइदा लिन सक्छ ।

हामीकहाँ यतिधेरै ट्रेकिङ रुट छन्, हिमाल आरोहणका सम्भावना छन्, निकुञ्जहरु छन् । यी क्षेत्रलाई त हामीले पर्यटकको स्रोत बजारसम्म प्रचारप्रसार गरेर फाइदा लिन सक्छौँ नि । हामीले कोरोनाको नाममा यहाँ तपाइँहरुलाई झण्झट दिन्नौँ तर सुरक्षाप्रति उत्तिकै चनाखो छौँ है भनेर प्रचारप्रसार भने गर्नुपर्छ । 

कोरोनाको खोप आएका केही सुखद खबर आए पनि महामारी त अन्त्य भएको छैन, कोरोनाको नयाँ प्रकारले गर्दा झनै चिन्ता थपिएको छ । यस्तो अवस्थामा नेपालले पर्यटनको क्षेत्र कसरी अघि बढाउनुपर्ला ?

अहिले हामीले दुई वटा क्षेत्रमा रोडम्याप बनाएर जानुपर्छ । एउटा व्यवसाय बचाउने र अर्को व्यवसायलाई उठाउने  । 

व्यवसाय बचाउनको लागि सरकारले अहिले एउटा टास्क फोर्स बनाएर पर्यटनको कुन क्षेत्रमा कति नोक्सान भएको छ भनेर खोज्नुपर्छ । दुःखको कुरा अहिलेसम्म सरकारले राम्रोसँग एउटा अध्ययन पनि गरेको छैन, जोखिमको आँकलन पनि भएको छैन । अब कम्तीमा राम्रो अध्ययन गरेर अहिले व्यवसाय बचाउन सक्ने गरी सहयोग गर्नुपर्छ ।

उनीहरुलाई कस्तो मर्का परेको छ र सरकाले के गर्दा हुन्छ भनेर तत्कालै  निर्णय गरेर कार्यान्वयनमा लगिहाल्नुपर्छ । उनीहरुलाई सहयोगको लागि सरकारले बनाएका कोष र अरु निकायको सहायताबाट पनि रकम जुटाउन सकिन्छ ।

व्यवसाय उठाउने कुरा गर्दा सरकारले कम्तीमा ५/७ वटा काम गर्नुपर्छ । पहिलो कुरा हामीले पीसीआर नेगेटीभ रिपोर्ट लिएर आएपछि यहाँ क्वरेण्टीन नबसी घुम्ने गन्तव्यमा जान पाउने व्यवस्था गर्नुपर्छ । यो कुरा व्यापक प्रचार प्रचार गर्नुपर्छ । अहिले अनअराइभल भिसा रोकिएको कारण नेपाल आउन चाहनेले निकै दुःख पाएका छन् ।

अनअराइभल भिसाका कारण परेको अन्योल तत्कालै हटाउनुपर्छ । अध्यागमन, विमान कम्पनी, होटल अनि पर्यटकीय गन्तव्य लगायतले ल्याएका स्वास्थ्य सुरक्षाका निर्देशिका जारी गर्नुभएको छ । त्यो पूर्ण पालना भएको छ कि छैन भनेर कडाइकासाथ निगरानी गर्नुपर्छ । त्यसको लागि एउटा संयन्त्र बनाउनुपर्छ, संयन्त्रले नियमित अनुगमन गरोर, बरु मोबाइल एपलगायतका प्रविधिको प्रयोग गर्दा सजिलो पनि हुन्छ ।  आइसकेका पाहुनालाई कारणले कोरोना लाग्यो भने होटल, अस्पताल र संयन्त्रबीच तत्कालै समन्वय भएर सुरक्षित र सहज तरिकाले अस्पताल लैजाने र उपचारको व्यवस्था गर्नुपर्छ । 

अर्को कुरा यी गन्तव्य पूर्ण सुरक्षित छन् र यी गन्तव्यमा जाँदा ख्याल गर्नुहोला भनेर हामीले वर्गीकरण पनि गर्न सक्छौँ । जस्तो भूकम्पपछि घरहरुमा रातो र हरियो स्टिकर लगाउने गरेका थियौँ । अहिले पनि गन्तव्यमा त्यस्तै गर्न सकिन्छ  ।

यस्तो महामारीको बेलामा पनि गन्तव्यको ब्राण्डको प्रचार-प्रसारलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । पर्यटकको स्रोत बजारमा हाम्रा गन्तव्यको नियमित प्रचारप्रसार भइरहनुपर्छ । हामी तपाइँहरुलाई स्वागतको लागि यसरी तयार छौँ, सुरक्षाको व्यवस्था यस्तो छ, यो गन्तव्य यस्तो हो भनेर हामीले स्रोत बजारसँगको सम्बन्ध निरन्तर जोडिराख्नुपर्छ । 

पर्यटक किन हाम्रो देशमा आउने भन्ने बारेमा हामीले मनग्य प्रमाण दिनेगरी स्रोत बजारमा जानुपर्छ । यस्तो महामारीको अवस्थामा विश्वका अरु गन्तव्यभन्दा हामी यसरी फरक छौँ र हाम्रो विशेषता यो भनेर हामी प्रस्तुत हुनुपर्छ । 

हामीकहाँ अहिले रिकभरी प्लान बनिसकेको छैन, यस्तो अवस्थामा रिकभरी  प्लानलाई तत्कालै बनाउनुपर्छ र कुन बजारमा कसरी जाने भनेर छरितो योजना बनाउँदै कार्यान्वयन गर्नुपर्छ । 

हाम्रा गन्तव्य कत्तिको महँगा या सस्ता छन् भन्ने बारेमा पनि प्रष्ट जानकारी दिनुपर्छ । महामारीको बेलामा धेरैले जागिर गुमाएको या आम्दानीमा कमि आएको हुनाले हाम्रो जस्तो सस्तो गन्तव्य पर्यटकको रोजाई बन्न सक्ने कुरालाई ध्यान दिएर प्रचारप्रसार गर्नुपर्छ ।
 

अन्तिम अपडेट: माघ ११, २०७७

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया