धनगढीमा प्रधानमन्त्री ओलीको ४५ मिनेट लामो सम्बोधन : अधिकांश समय दाहाल–नेपालको आलोचनामा बित्याे

 पुस २४, २०७७ शुक्रबार २०:१६:१५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – प्रतिनिधि सभा विघटनपछि शुक्रबार पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली उपत्यकाबाहिर आउनुभयो । उहाँको पहिलो रोजाइमा पर्‍याे सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी । प्रधानमन्त्रीको सुदूरपश्चिम मोह वर्तमान मन्त्रिपरिषदमा चार जना मन्त्री बनाउँदा पनि देखिएको थियो ।

देशव्यापी दौडाहाको पहिलो गन्तव्य सुदूरपश्चिम बनाउनुमा थुप्रै कारण छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुनुअघि पार्टीभित्र ओलीका चर्को विरोधीका रुपमा चिनिन्थे, भीम रावल । सुदूरपश्चिम रावलको गृह क्षेत्र हो । रावललाई गृह क्षेत्रमा कमजोर बनाउनका लागि ओलीले सुदूरपश्चिम रोजेको कतिपयको धारणा छ । धनगढीमा प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका विकासे योजनासँगै रहस्यमा रहेका कतिपय घटनाबारे सम्बोधन गर्लान् भन्ने आँकलन सुदूरपश्चिमवासीको थियो । 

४५ मिनेटको सम्बोधनमा धेरै समय समय नेकपाकै इतर समूहका नाममा खर्चिनुभयाे । त्यसबाहेक मञ्चमा रहेका नेताहरूलाई नाम सोधीसोधी सुदूरपश्चिमका चर्चित तर अधुरा योजनाबारे भने सम्बोधन गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अब सुदूरपश्चिम प्रदेशलाई कसैले पनि पछाडि पार्न सक्दैन् ।’ 

अधिकांश समय दाहाल–नेपाललाई कटाक्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहलाई दश सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ । ओलीले दाहाल–नेपाल चुनाव लड्न डराएको भन्दै दुई अङ्कमा जितेर देखाउन चुनौती दिनुभयो । ‘देशभरमा १० सिट जितेर देखाउनुस् । म चुनौती दिन्छु’, ओलीले भन्नुभयो । तीन करोड नागरिक भएको ठाउँमा दुई सय ६५ जनाले पार्टी छाडेर हिँड्दैमा कुनै असर नपर्ने ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताउँदै प्रचण्डलाई कटाक्ष गर्नुभयो । ओलीले आफू सरकारको नेतृत्वमा भए पनि कोही एक जना आफन्तलाई कतै नियुक्ति नदिएको दाबी गर्नुभयो । दाहाल– नेपालले आफू र आफ्ना नातागोताको फाइदाका लागि पार्टीमा झगडा गरेको उहाँले बताउनुभयो ।

‘उहाँहरुका आँखा देशतिर लगाउनु भनेको व्यर्थ हो । छोरी–ज्वाई नातागोता आदिमा मात्रै उहाँको ध्यान छ । अवसरै अवसरको तर मारेकाहरु अहिले छटपटाइरहेका छन्’, ओलीले भन्नुभयो । आफूले ५० वर्ष अघिदेखि नै एकता–एकीकरणको अभियानको थालनी गरेको उहाँले बताउनुभयो । प्रचण्डलाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र ‘लाटोकोसेरोले घाम लागेको बेला देख्न नसके’ जस्तै सरकारले काम थालेको देख्न नसकेको ओलीले टिप्पणी गर्नुभयो ।  

ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई भगौडाको संज्ञा दिनुभयो । ओलीले पार्टी छाडेर गएका केही भगौडाहरुको कुरा नसुन्न पनि आग्रह गर्नुभयो । ‘पार्टी छाडेर भागेका केही भगौडाहरुका कुरा सुन्नुभएको होला । केन्द्रीय कमिटी बैठकमा नआएर बाटोमा बसेर हामी यहाँ छौँ भनिरहेका रहेछन्’ उहाँले भन्नुभयो, ‘सडकमा गएर गालीगलौज गरेर, मुख छाडेर बसेका रहेछन् । प्रचण्ड र माधव नेपाल अघि लागेका जुलुसमा अश्लील गाली लाग्छन् । गाली गर्ने, दन्तबझान गर्ने हामीलाई फुर्सद छैन ।’

भीम रावलमाथि व्यङ्ग्य : मन्त्री बनाउन नमानेपछि पीर पर्‍याे 

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम पुगेर नेकपाको प्रचण्ड–नेपाल समूहका नेता भीम रावलमाथि मन्त्री बन्न नपाएर छटपटिएको आरोप लगाउनुभयो । मन्त्री बन्न नपाएपछि रावलले आफूलाई गाली गर्दै हिँडेको ओलीको भनाइ छ । ‘एउटा प्रदेशबाट मात्र एक जनालाई मन्त्री बनाउने ? मैँले बनाउन मानिनँ । उहाँलाई पिर पर्यो’, भीम रावलतर्फ सङ्केत गर्दै ओलीले भन्नुभयो । सुदूरपश्चिमले यस पटक चार जना मन्त्री पाउँदा खुशी हुनुपर्नेमा रावल भने खुसी नभएको उहाँले बताउनुभयो । रावलले मन्त्री बन्न हत्ते गरेको र नपाएपछि आफ्नो उछितो काटेर हिँडेको ओलीको भनाइ छ । 

ओलीले आफूलाई गणतन्त्रवादी होइन भनि तर्क गर्नेहरुलाई चुनौती दिँदै आफूले ५० वर्ष गणतन्त्रका लागि सङ्घर्ष गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गणतन्त्रका लागि सङ्घर्षको मैदानमा ५० वर्षअघि उत्रने मै हुँ । १४ वर्ष जेल बसेको थिएँ । अहिले गणतन्त्रवादी होइन भन्दै हिँड्ने ?’ गुमेको भूमिलाई समेटेर नक्सा प्रकाशन गरिएको भन्दै त्यसबाट बाहिर राष्ट्रवाद देखिने र भित्र उखरमाउलो चलखेल गर्नेहरु छटपटिएको उहाँले बताउनुभयो । उहाँले देशको गुमेको भूमि समेटेर नक्सा बनाइएको समेत बताउनुभयो । 

वैशाख १७ र २७ मै चुनाव हुने दाबी 

ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दाबी गर्नुभयो । उहाँले प्रतिनिधि सभा विघटन गैर–संवैधानिक भन्नेलाई संविधानको कोरा कुरा मात्र नगरेर राजनीति बुझ्न सुझाव दिनुभयो । ‘कतिपयले ओलीले चुनाव गर्दैन भनेका छन्, दोहो¥याएर होइन तेहे¥याएर भन्न चाहन्छु वैशाख १७ र २७ गते नै चुनाव हुन्छ’, उहाँले भन्नुभयो, ‘खराब तत्त्वलाई तलैबाट ठेगान लगाएर पठाउनुस्, हात जोडेर भन्न चाहन्छु, देशद्रोही तत्त्वलाई गाउँगाउँबाटै ठेगान लगाउनुस्, तिनलाई भोट नहाले पुग्छ ।’ उहाँले थप्नुभयो, ‘तपाईँहरु भोट हाल्न तयार हुनुहोस् । माथि गएर बदमासी र भ्रष्टाचार गर्नेहरुलाई तपाईँहरुले गाउँमै ठेगान लगाएर पठाउनुस् नत्र माथि दुःख दिन्छन् ।’  प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा कुनै हालतमा पुनस्र्थापना नहुने बताउनुभया । ‘म ६४ प्रतिशत मतसहितको प्रधानमन्त्री हो, बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ । अर्को विकल्प नै छैन’, उहाँले भन्नुभयो, ‘अब प्रतिनिधि सभा चुनावबाटै आउँछ, पुनस्र्थापना हुन सक्दैन, चुनावबाटै फर्किन्छ ।’

सुदूरपश्चिम अब कहिल्यै पछाडि पर्दैन

ओलीले देश विकासमा आफ्नो सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले आमसभाको सुरुवातमा भाषणको सुरुमा सुदूरपश्चिम प्रदेशको खुलेर तारिफ गर्दै सुदूरको प्राकृतिक स्रोतको चर्चा गर्नुभएको थियो । उहाँले सुदूरसँगै नेपाल पनि पछि परेको बताउनुभयो ।

‘यहाँका मान्छे भारत गएका छन् । नेपालीका रगत पसिनाले थुप्रै देश बनेको छ, सुदूरमा अशिक्षा र गरिबीको समस्या स्वास्थ्य र रोजगारीका समस्या छन्, सुकुम्वासीका र सिँचाइका समस्या छन्, यो मैले बुझेको छु’, उहाँले भन्नुभयो ।

चाँदनी, दोधाराका लागि शारदा नदीबाट पानी छाड्ने योजना भारतसँग गरेको सुनाउँदै सिँचाइको समस्या समाधान हुने ओलीले आश्वासन दिनुभयो । कञ्चनपुर र कैलालीमात्र नभइ यस प्रदेशमा असाधारण लाभ हुने उहाँले बताउनुभयो ।  

पञ्चेश्वर परियोजना पनि अघि बढाइने ओलीले बताउनुभयो । गेटा मेडिकल कलेज र मेडिकल कलेज विश्वविद्यालयको काम अघि बढाइएको उहाँले बताउनुभयो । अत्तरिया–धनगढी बाटो बेलैमा अघि बढाइने ओलीले आश्वासन दिनुभयो । गौरीफन्टा नाका व्यवस्थापन गर्न भारतसँग वार्ता गरिने र त्यस सम्बन्धमा ध्यान दिइने उहाँले बताउनुभयो । आउँदो १४ तारिखमा परराष्ट्रमन्त्री भारत जाँदा यस विषयलाई उठाउने उहाँको भनाइ छ ।

सेती लोकमार्ग र महाकाली करिडोरको काम अघि बढिरहेको पनि उहाँले बताउनुभयो । छाङ्गरुसम्मको बाटो मोटरेबल हुने बताउँदै ओलीले बैतडीमा चरेस खानी पत्ता लागेकाले विकास गरिने बताउनुभयो । विभिन्न कारणले गर्दा मन्त्रालय अगाडि बढ्न नसकेकाले ढिलो गतिमा काम भएकाले अब पश्चिम सेतीलाई अघि बढाइने उहाँको भनाइ छ ।  

उरै नाका हुँदै ताक्लाकोटको नाकाको काम पनि अघि बढाइने ओलीले बताउनुभयो । ‘सुक्खा बन्दरगाह र सिँचाइको मैले कुरा गरेँ । महाकालीमा पुल बनिसकेको छ । दार्चुला र बैतडीमा झोलुङ्गे पु्ल बन्दै गरेको छ’, उहाँले भन्नुभयो । ओलीले मन्त्री गणेश ठगुन्नालाई देखाउँदै भारतसँग नेपालको झोलुङ्गे पुलको काम अघि बढाइने बताउनुभयो ।  

निर्मलाको बलात्कारी खै ? टिसर्ट लगाउने ६ युवा पक्राउ तर निर्मलाका लागि एक शब्द बोल्नुभएन  

जनसभामा निर्मलाको बलात्कारी खै ? भन्दै टिसर्ट लगाएका युवालाई प्रहरीले पक्राउ गर्यो । कार्यक्रममा निर्मलाको बलात्कारी खै ? र  ‘जस्टिस फर निर्मला’ लेखेका टिसर्ट लगाएका युवालाई पक्राउ गर्दै जिल्ला प्रहरी कार्यालय लगियो । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी पन्तको हत्यामा संलग्न अझै पक्राउ नपरेकाले दोषीलाई कारबाहीको मागसहित ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएको प्रतिक्रिया उनीहरूको थियो ।

उनीहरूले निर्मलाको बलात्कार गरी हत्या भएको दुई वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए । तर पौने घण्टा भाषण गर्नुभएका प्रधानमन्त्री ओलीले त्यस घटनाबारे एक शब्द पनि बोल्नुभएन । सुदूरपश्चिम आएर पनि प्रधानमन्त्री ओलीले निर्मला घटनाबारे एक शब्द बोल्नुभएन । २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाको  उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । बलात्कार र हत्या प्रकरणको अनुसन्धान अहिलेसम्म चलिरहेको छ ।

थरुहटप्रति कडा अभिव्यक्ति, ‘केही गर्न सक्ने अवस्थामा छैनौँ’

लामो समयदेखि आन्दोलनरत थरुहट थारुवान आन्दोलनकारीप्रति प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत हुनुभयो । उहाँले जेलमा रहेका नेताहरुका लागि केही गर्न नसकिने बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘यहाँ जात–जातको बीचमा मारमारको अवस्था ल्याए । टीकापुर काण्डको विभिन्न ढङ्गले रचना गरियो । नक्कली मान्छे ल्याए, उचाले, नागरिकको बीचमा कसैले थारुको नारा लगाए, कसैले पहाडियाका । नागरिक–नागरिकमा विभाजन ल्याउन खोजे ।’ उहाँले अगाडि थप्नुभयो, ‘अहिले पनि कतिपय थारु नेता जेलमा छन् । कसैलाई वारेण्ट होला । यी सबै हामीले हेरिरहेका छौँ । पहिले नै अदालती प्रक्रियामा गइसकेका, पहिले नै असहज कुरामा फसिसकेकालाई किनारामा नलगाइ केही गर्न सकिने हुँदैन, कानुनी हिसाबले ।’

त्यस्तै उहाँले पहिचानको राजनीति गरेर विध्वंश मच्चाउने काम भइरहेको टिप्पणी गर्नुभयो । तराईमा जारी पहिचानको राजनीतिलाई रुवाण्डा नरसंहारसँगै जोड्दै ओलीले थारु जातिले विकासमा सरकारलाई सहयोग गर्नुपर्ने समेत बताए ।

मन्त्रीद्वारा मुख्यमन्त्रीको आलोचना : ‘तपाईँ कस्तो मुख्यमन्त्री हो ?’

वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको आलोचना गर्नुभएको छ । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्रीको आलोचना गर्नुभएको हो । आलेले मुख्यमन्त्री भट्टमा सामान्य संस्कारसमेत नरहेको बताउँदै भन्नुभयो, ‘तपाईँ कस्तो मुख्यमन्त्री हो ? देशको प्रधानमन्त्री आउँदा स्वागतसमेत नगर्ने ।’ 

आज प्रधानमन्त्री ओली धनगढी आउँदा प्रदेश प्रमुख विमानस्थल पुग्नुभएको थियो भने मुख्यमन्त्रीले आफूलाई जानकारी नभएको भन्दै स्वागतमा जानुभएको थिएन ।

प्रधानमन्त्रीको स्वागतमा सुदूरपश्चिमका मुख्यमन्त्री गएनन् प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी विमानस्थल पुग्नुभएन । मुख्यमन्त्रीबाहेक प्रदेश सरकारका अन्य मन्त्रीहरु पनि धनगढी विमानस्थल पुगेनन् । नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएकाले स्वागतका लागि नपुगेको बताइएको छ । जनसभा आयोजकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री मातहतका मुख्य सचिव र सचिवहरूलाई स्वागतको लागि पत्राचार गरेको जनाएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीहरुलाई कुनै औपचारिक जानकारी नआएपछि प्रधानमन्त्रीको स्वागतमा नगएको मुख्यमन्त्रीका स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिनुभयो । उहाँले गुटको भेला भएका कारण पनि जानकारी नगराइएको हुन सक्ने बताउनुभयो । यसैबीच प्रधानमन्त्री ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेश प्रमुख विमानस्थल पुग्नुभएको थियो । प्रदेश प्रमुख शर्मिला पन्तले विमानस्थल पुगेर प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो । प्रदेश प्रमुख पन्तसँगै कैलालीका प्रमुख जिल्ला अधिकारी यत्रराज बोहरा, सुरक्षा निकायका प्रमुख र नेकपाका नेताहरु विमानस्थल पुगेका थिए । 

जिल्ला प्रशासन कार्यालयको आग्रहमा मुख्यमन्त्रीले प्रधानमन्त्रीका लागि गाडी भने पठाउनुभएको थियो । 

कार्यक्रमका लागि कार्यकर्ता ल्याउन पठाइएका बस रित्तै फर्किए

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन भएको सभाका लागि नेता तथा कार्यकर्ता ल्याउन पठाइएको बस रित्तै फर्किएका छन् । जनसभाकाा लागि नेता कार्यकर्ता ल्याउन कैलालीको कैलारी गाउँपालिकाको हसुलिया पुगेका चार बस रित्तै फर्किएका हुन् । 

प्रधानमन्त्री ओलीविरुद्ध विरोध र प्रदर्शन, कालो बेलुन र झण्डा देखाइयो 

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरिएको छ । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्न धनगढीका पुगेपछि प्रधानमन्त्री ओलीलाई विरोध स्वरुप कालो बेलुन र झण्डा देखाएर प्रदर्शन गरिएको हो । अनेरास्ववियु कैलालीले हिमालयन बैंक र सनराइज बैंक अगाडि कालो झण्डा देखाएको हो । साझा युवा सङ्गठनले कालो बेलुन पनि उडाएको थियो । 

‘प्रधानमन्त्रीज्यू ! उत्ताउलाहरूको प्रदेशमा स्वागत छ’

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधसहित स्वागत गरिएको छ । विवेकशील साझा पार्टी, सुदूरपश्चिम प्रदेश कार्यालयबाट साझा युवा सङ्गठनले विरोधसहित स्वागत गरेको हो । सङ्गठनले बेलुन उडाएर प्रधानमन्त्रीको विरोधसहित स्वागत गरेको हो । बेलुनमा ‘प्रधानमन्त्रीज्यू, उत्ताउलाहरूको प्रदेशमा स्वागत छ ।’ लेखिएको थियो ।

कोरोना सङ्क्रमणको सुरुवाती अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमवासी उत्ताउला भएको र उनीहरुकै कारण नेपालमा कोरोना सर्ने सम्भावना बढेर गएको प्रतिक्रिया दिनुभएको थियो । त्यो अभिव्यक्तिको सुदूरपश्चिममा आलोचना भएको थियो । यस्तै अनेरास्ववियुले पनि धनगढीमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको थियो ।  

अन्तिम अपडेट: चैत १६, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया