नगरपालिकाले एक करोड ऋण दियाे, दुई जना पाइलट बने, १७ जना प्राविधिक विषय पढ्दै

 पुस २८, २०७७ मंगलबार १३:५८:४६ | राजु लामिछाने
unn.prixa.net

पाइलटद्वय ललित भण्डारी र गाेविन्द केसी

रुकुम पश्चिम – ‘ठूलो भएपछि डाक्टर बन्छु, पाइलट हुन्छु, इञ्जिनियर बन्छु’ सानोमा धेरैले यस्तै सपना देख्छन् । आर्थिक कमजोरी र भौगोलिक विकटताले यस्ता सपना तुहिन्छन् नै, उच्च शिक्षा प्राप्तिको अवसरसमेत पाउँदैनन् । तर जब राज्यले नेतृत्व दुरदर्शी पाउँछ र जनमुखी सरकार बन्छ, यस्ता सपनाले मूर्तरूप लिन आइतबार पर्खन पर्दैन । 

यसको गतिलो उदाहरणका रूपमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई लिन सकिन्छ । नगरपालिकाले उच्च शिक्षा पढ्न चाहनेलाई सघाउन गरेको महत्त्वपूर्ण निर्णयको कारण अहिले दुई जना युवाले पाइलट कोर्स पूरा गरेका छन् । आठबीसकोट नगरपालिका ५ का ललित भण्डारी र वडा १० का गोविन्द केसीले व्यावसायिक पाइलटको लाइसेन्स परीक्षा पास गरेका छन् । 

उनीहरुको अध्ययन र तालिमका लागि नगरपालिकाले एक करोड रुपैयाँ ऋण सहयोग गरेपछि १४ महिने कोर्स पूरा गर्न सम्भव भएको हो । फिलिपिन्समा पढाइ सकेर नेपाल आएका उनीहरुले व्यावसायिक पाइलटको लाइसेन्स प्राप्त गरेपछि अब हवाई सेवा कम्पनीले पाइलट माग्दा जान तयार छन् । ‘सानैदेखि ठूलो मान्छे बन्ने रहर थियो, पैसा थिएन’, केसीले भन्नुभयो, ‘नगरपालिकाले गर्दा पाइलट बन्ने बाटो समात्न र सपना पूरा गर्न सम्भव भएको हो ।’

नगरपालिकाको सहयोगका कारण दुर्गम र कमजोर आर्थिक अवस्थामा रहेका भण्डारी र केसीले फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीबाट पाइलट कोर्स पूरा गरेका हुन् । नगरपालिकाले उनीहरूलाई ५०/५० लाख रुपैयाँ स्थानीय आठबीसकोट बचत तथा ऋण सहकारी संस्थामार्फत विना ब्याज ऋण दिएको हो ।

‘पाइलट पढ्न चाहनेका लागि दिइने ऋण धितो जमानीमा दिने व्यवस्था गरिए पनि लिनेले ब्याज तिर्नुपर्दैन’, आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले भन्नुभयो, ‘पढेर जागिरमा जोडिएपछि ऋण तिर्ने किस्ता सुरु हुन्छ ।’

नगरप्रमुख केसीले गएकाे आर्थिक वर्षदेखि विभिन्न क्षेत्रमा पठनपाठनका लागि ऋण सहयोग गर्ने नगरपालिकाको नीतिअनुसार दुई युवाले पाइलट बन्ने अवसर पाएको बताउनुभयो । 

युवालाई रोजगारीमा अवसर दिन पाइलटमात्र होइन, इञ्जिनियर र स्वास्थ्यसम्बन्धी विषय पनि पढाउन थालिएको प्रमुख केसीले बताउनुभयो । उहाँकाअनुसार नगरपालिकाले कार्यविधि नै बनाएर अध्ययनका लागि ऋण तथा आर्थिक सहयोग गर्ने कार्यक्रम ल्याएको थियो र पहिलो वर्ष दुई पाइलट, दुई डाक्टर र दुई इञ्जिनियर उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

नगरपालिकाले त्यति पैसा नजुटाइदिएको भए पढ्न जान सम्भव नभएको र काममा लागेपछि मात्रै ऋण तिर्न सुरु हुने भएकाले धेरै ठूलो गुण नगरपालिकाले लगाएको केसी र भण्डारीको भनाइ छ । 

नगरपालिकाको रोहबरमा सहकारी संस्थाबाट ऋण लिएर पढेकाले जागिर नपाउँदासम्म ब्याज नलाग्ने र जागिर सुरु भएपछि ६ प्रतिशत ब्याज लाग्ने कार्यविधि बनाइएको छ । ऋण चुक्ता गरिसक्ने अवधि भने नतोकिएको सहकारीका अध्यक्ष हरिप्रसाद शर्माले बताउनुभयो । नगरपालिकाकै सहयोगमा इञ्जिनियरिङ, एचए र नर्सिङ पनि पढाइरहेको शर्माको भनाइ छ ।

१७ जना प्राविधिक तयार हुँदै 

नगरपालिकाले १७ जना विद्यार्थीलाई विभिन्न प्राविधिक शिक्षासमेत अध्ययन गराइरहेको छ । दक्ष जनशक्ति उत्पादन गर्न १२ छात्र र पाँच छात्रालाई पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाइरहेको हो । जेहनदार भए पनि गरिबीका कारण पढ्न नसकेका विद्यार्थीहरु तीन वर्षे कोर्ष अध्ययनका क्रममा रहेको नगरपालिकाले जनाएको छ । 

अहिले दुई जनाले हेल्थ एसिस्टेन्ट र तीन जनाले इञ्जिनियरिङको अध्ययन गरिरहेका छन् ।  त्यसैगरी तीन जनाले सब–इञ्जिनियर, दुई जनाले कानुन, तीन जनाले प्राविधिक (आईटी), दुई जनाले कृषि र दुई जनाले स्टाफ नर्स अध्ययन गरिरहेका छन् । कोर्ष पूरा गर्दा लाग्ने कलेजको सम्पूर्ण शुल्क तिरेर विद्यार्थीलाई पढाइरहेको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । खाने र बस्ने व्यवस्था भने विद्यार्थी आफैले गरिरहेका छन् । 

नगरपालिकाका अनुसार २०७५ मा पाँच र २०७६ सालमा १२ जनालाई छात्रवृत्ति सुविधा दिइएको छ । शिक्षा पाउनु सबैको मौलिक हक रहेको र पैसाकै कारण कोही पनि पढ्नबाट बञ्चित नहुने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार १७ जना विद्यार्थी पढाउन ३९ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । जसमा एक जना विद्यार्थीले एक लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म सहयोग पाएका छन् ।

नगरपालिकामै यस्तो जनशक्ति तयार पारेपछि काम गर्ने दक्ष जनशक्ति अभाव नहुने र समृद्ध नगरको अभियान सफल हुने उद्देश्य नगरपालिकाले लिएको छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया