पर्यटकलाई लोभ्याउने ‘नारच्याङ’ झरना (फोटोफिचर)

 माघ ३, २०७७ शनिबार १८:३९:३७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – अग्लो र भिरालो पहाड । पहाडको टुप्पोबाट बग्ने झरना । त्यही भीर तथा पहराको सहारामा बगेको झरनाको चिसो पानी । पहरोमा लडीबुडी खेल्दै बगेको झरना हेर्दा र त्यसको आवाजले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउँछ । 

झरनाको फेदीबाट माथि हेर्दा सिरमा लगाएको टोपी र ओढेको पछ्यौरी भुइँमा खसेको पत्तो हुँदैन । यस्तो आकर्षण बोकेको झरना उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्दछ । यसलाई स्थानीयवासीले नारच्याङ झरना भनेर नामाकरण गरेका छन् । पहाडको टुप्पोबाट कलकल गर्दै खस्ने निकै सुन्दर, आकर्षक अनि मनमोहक झरना पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । झरनाकै कारणले गर्दा पछिल्लोपटक नारच्याङ गाउँमा पर्यटकको चहलपहल बढेको छ । 

समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा अवस्थित नारच्याङ झरनाको उचाई मात्र ३ सय मिटरभन्दा बढी छ । नारच्याङ गाउँमा मानव बस्तीभन्दा धेरै पहिलेदेखि नै त्यस ठाउँमा झरना रहेको स्थानीयहरुको अनुमान छ । आफ्नै खालको विशेषता बोकेको यस झरनामा म्याग्दी, बागलुङ, मुस्ताङ र पोखरासहित देशका विभिन्न स्थान र विदेशबाट पर्यटकहरु आउने गरेको सिर्जनशील आमा समूह नारच्याङका अध्यक्ष नरिमाया पूर्जा पुनले बताउनुभयो । 

बेनी–जोमसोम–कोरला राजमार्गबाट पनि सहजै देखिने तथा नजिकमा पर्ने भएकाले अधिकांश पर्यटकहरु नारच्याङ झरनामा पुगेर रमाउने गर्दछन् । पर्यटकलाई लक्षित गरेर नारच्याङ गाउँमा होमस्टे समेत सञ्चालन गरिएको छ । नारच्याङ झरनाभन्दा माथि मानव बस्ती नभएको हुँदा झरना एकदमै सफा रहेको छ भने झरनाको तल फेदीमा भुमेथानको मन्दिर बनाइएको छ ।

झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले थप रौनकता थपिदिएको छ । वर्षको एकपटक भुमेथानको मन्दिरमा पूजा गर्ने गरिन्छ । यो मन्दिरमा बोका र कुखुराको भालेको बलि दिइन्छ । मन्दिरमा भाकल तथा पूजा गरेमा मनोकामना समेत पूरा हुने जनविश्वास रहिआएको छ । 

नारच्याङ झरना टाढा टाढाबाट पनि देख्न सकिने भएकाले यसको विशेष महत्व रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो

झरनाको महत्व र विशेषता छुट्टै

नारच्याङको बेंसी गाउँको सिरमा अवस्थित नारच्याङ झरनाको महत्व र विशेषताहरु छुट्टै खालका छन् । यसले बेंसी गाउँलाई सितलता प्रदान गर्नुका साथै सिँचाई र खानेपानीको आपूर्तिमा सहयोग पु¥याइरहेको छ । त्यस्तै ‘साइटसिन’को पनि मज्जा लिन सकिन्छ ।

बेनी–जोमसोम सडकखण्ड र त्यस आसपासको क्षेत्रबाट अवलोकन तथा फोटोसेसन गर्न सकिने भएकाले यसको महत्व अन्य झरनाहरुको भन्दा अलग्गै रहेको छ । नारच्याङको बेंसी गाउँबाट आधा घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । गाउँको सिरमा भएर पनि झरनाले अहिलेसम्म कुनै प्रकारको मानवीय एवं भौतिक क्षति नपुर्याई आफ्नो अनुशासनमा निरन्तर बगिरहेको छ ।  

पर्यटकको गन्तव्य बन्दै झरना

पछिल्लो समय नारच्याङ झरना पर्यटकहरुका लागि गन्तव्य बनिरहेको छ । झरनाबाट झरेको पानीको छाँगामा पुगेर भिज्न, खेल्न, रुझ्न र हेर्नका लागि भनेर पर्यटकहरु पुग्ने गर्दछन् । झरनामा हिजोआज नेपाली पर्यटकहरु धेरै जाने गरेका छन् । शनिबार तथा बिदाको दिन पारेर सयौंको सङ्ख्यामा पर्यटकहरु नारच्याङ झरनामा आउने गरेको स्थानीयबासीको भनाइ छ । केही वर्षयता झरनालाई लक्षित गरी नारच्याङ पुगेर बनभोज खाने चलन पनि विस्तारै फस्टाउँदै जान थालेको छ । झरनालाई पृष्ठभूमीमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन सकिने भएकाले फोटो, भिडियो खिच्न र टिकटिक बनाउन जानेहरु धेरै छन् । घाम परेको समयमा झरनामा इन्द्रेणी समेत देखिन्छ ।

कसरी जाने त झरनामा ?

पर्यटकीयस्थल नारच्याङ झरनामा जानका लागि म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्कबाट सवारीसाधनहरु सजिलै पाइन्छ । बेनी–जोमसोम सडकखण्ड भएर चल्ने यात्रुबाहक बस, जिप र ट्याक्सी पाइन्छन् । उसो त आफ्नो निजी सवारीसाधन लिएर पनि झरनामा पुग्न सकिन्छ । नारच्याङको गाउँसम्मै सडकको पहुँच विस्तार भएकाले साढे २ घण्टाको समयमा बेनीबाट नारच्याङ पुगिने हुँदा बेलुका नारच्याङमा बास बसेर पनि बिहान झरनामा पुगेर रमाउन सकिन्छ । 

भौतिक पूर्वाधारका संरचना थपिँदै

गाउँमा रौनकता थपेको नारच्याङ झरनाको प्रचारप्रसार बढेसँगै झरनासम्म पुग्नका लागि भौतिक पूर्वाधारको विस्तार समेन गर्न थालिएको छ । विगतमा झरना र मन्दिर जानका लागि त्यहाँ पुग्ने गोरेटो बाटो अन्नपूर्ण युवा क्लबले बनाएको थियो । अहिले गाउँलेले गोरेटो बाटो मर्मत गरेर ढुङ्गाको सिँढी लगाएका छन् ।

झरना अवलोकन गर्न जानेहरुको सङ्ख्या बढेपछि झरनाभन्दा केही तल रेष्टुरेण्ट निर्माणको काम भैरहेको छ । झरनामा पुग्ने बाटैमा रेष्टुरेण्ट बनेपछि खाने, बस्ने सुविधासँगै पर्यटकको आगमन बढ्ने देखिन्छ । झरनाको फेदीमा न्यु वेष्ट प्वाइन्ट कलेज बेनीको इन्फ्लुन्सियल ब्याचलर्स क्लबले ‘नारच्याङ वाटर फल’ नाम लेखेर बोर्ड राखिदिएको छ । 

पर्यटकीय क्षेत्रको विकासमा जोड

जिल्लामा पर्यटकीय क्षेत्रको हिसाबले अन्नपूर्ण गाउँपालिका अब्बल मानिन्छ । गाउँपालिकाभित्र रहेका पर्यटकीय, धार्मिक एवं ऐतिहासिक क्षेत्रको विकास र प्रवद्र्धनका लागि जोड दिएको पालिकाले जनाएको छ । नारच्याङ झरना र हिस्तानको महभीर झरनाको विकास गर्न गाउँपालिकामार्फत डिपिआर बनाएर केन्द्रमा बजेट माग गर्नका लागि आवश्यक पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर बताउनहुन्छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया