एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’, आफ्नाे नाममा सिम कार्ड नहुँदा समस्या

 माघ ४, २०७७ आइतबार १३:५९:५१ | रासस
unn.prixa.net

काठमाण्डाै – ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । 

यस एप एन्ड्रोइडमा आइतबार १२ बजेसम्म एक लाख ६२ हजार पाँच सय प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्ने मध्येबाट अहिलेसम्म ४० हजार बढी प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका (खाता खोल्न सफल भएको) छन् । 

धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भए पनि विभिन्न कारणले गर्दा एक लाख २२ हजार बढीको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार धेरै प्रयोगकर्ताको आफ्नै नाममा सिम कार्ड नहुनु, गृह मन्त्रालयको तथ्याङ्कअनुसार नागरिकता नम्बर र राहदानी नम्बर फरक हुँदा विवरण प्रमाणीकरण हुन नसकेको हो । परीक्षणका क्रममा रहेको यस एपमा प्रयोकर्ताको आकर्षण देखिए पनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाइ देखिएको उहाँ बताउनुहुन्छ । 

नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिम कार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरू बताउँछन् । 

सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई 'डिजिटलाइज' गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याइएको हो । यस एपबाट नागरिकले प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सक्नेछन् । एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्नेछन् । 

सुरुवाती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी यस एपमा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

3 Comments

  • Arjun Sapkota

    Jan. 20, 2021, 7:39 p.m.

    बकम्फुसे apps

  •  0 Reply
  • Gopal Bhandari

    Jan. 18, 2021, 8:11 a.m.

    यो एप आफ्नो नाममा सिमकार्ड छ भने सजिलै रजिस्ट्रार गर्न सकिदो रहेछ । मैले मलेशियाबाट नि यो एप सन्चालन गरि सके । मेरो नामको सिम घरमा चलिरहेको हुदा मैले सजिलै सन्चालन गरे। नागरिकको लागि धेरै लाभदायक हुनेछ भन्ने म बिश्वासमा छु ।

  •  0 Reply
  • यज्ञ विक्रम बम

    Jan. 17, 2021, 4:40 p.m.

    सबै विवरण राख्दा पनि यो मिलेन त्यो मिलेन भनेर आउँछ।

  •  0 Reply

तपाईको प्रतिक्रिया