कार्यकर्ताबीच झडप : घाइतेकाे थप उपचारका लागि रेफर, २ वडा अध्यक्षसहित ५ जना पक्राउ

 माघ ७, २०७७ बुधबार ११:३१:८ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुम पश्चिमको आठबिसकोटमा नेकपा (दाहाल–नेपाल समूह) र नेपाली काँग्रेसका कार्यकर्ताबीच भएको झडपको क्रममा घाइते १ जना वडा अध्यक्षसहित ३ जनालाई थप उपचारको लागि रेफर गरिएको छ ।

नगरपालकाको वडा नम्बर ९ का वडा अध्यक्ष तथा नेपाली काँग्रेसका कार्यकर्ता तारकबहादुर शाही, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसी र काँग्रेसका सक्रिय कार्यकता दिपक केसीलाई बुधबार बिहान थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल​ रेफर गरिएको हाे ।

मंगलबार राती जिल्ला अस्पताल सल्ले पुर्याइएका उहाँहरुको अवस्था गम्भीर भएपछि रेफर गरिएको आठबिसकोट नगरपालिकाका नगर सभापति कमल शाहले बताउनुभयो । घाइते शाहीको अनुहारमा, आरसीको टाउकोमा र केसीको ढाडमा गम्भीर चोट लागेको छ । घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

आठबिसकोट नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष केशरमान बि.क., वडा नम्बर ८ का वडा अध्यक्ष मानबहादुर चनारासहित ५ जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । मंगलबार दिनभर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३६ राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ईलाका प्रहरी कार्यालय आठबिसकोटको कार्यालयमै झडप तथा तोडफोड भएको र १ जना प्रहरी सहायक निरीक्षक र २ जना प्रहरी जवान सामान्य घाइते भएको जनाएको छ । प्रहरीका अनुसार दुवै पक्षका कार्यकर्ता बीचको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा छलफल भइरहेको बेला वडा नम्वर ९ का वडा अध्यक्ष तारकबहादुर शाहीमाथि आक्रमण भएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया