अवकासपछि कृषिमा रमाउँदै लाहुरे : सवा करोडको लगानीमा सामूहिक कृषि फार्म

 माघ ८, २०७७ बिहिबार १६:२६:१४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – लाहुरे भन्नेबित्तिकै धेरैले विदेशी सेनामा भर्ना भएका नेपाली भनेर बुझ्छन् । अझै भारतीय र बेलायती सेनामा कार्यरत नेपालीलाई लाहुरे भन्ने चलन छ । जे जसरी बुझिए पनि लाहुरे निकै राम्रो कमाइ हुने, महँगा तथा विलासी कुराको साेख राख्ने हुन्छन् । पेन्सन वा छुट्टीमा घर आएपछि घुमफिर गर्ने, रमाउने तथा त्यत्तिकै बस्ने गर्छन् । तर पछिल्लो समय लाहुरेहरुको विचार बदलिएको छ । अहिले धेरै लाहुरेहरु विलासी जीवनशैली छाडेर गाउँघरमै कृषि पेसामा रमाइरहेका देखिन्छन् ।

तिनैमध्येका एक हुन्, पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम (धारापानी)का लाहुरे युवा मेसबहादुर थापा (राजेन्द्र) । १९ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भएर ३६ वर्षमा राजेन्द्रले सेवाबाट अवकास पाउनुभयो । अवकासपछि अरु लाहुरेजस्तो पेन्सनको कमाइमै चित्त बुझाउने कि आफ्नै व्यवसाय गर्ने भन्ने सोच्दै गर्दा उहाँलाई कृषि व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि राजेन्द्रले आफन्तसँगै मिलेर डेढ वर्ष पहिले सामूहिक लगानीमा कृषि, पशुपालन र ईट्टा उद्योग सुरु गर्नुभयो ।

केही लाहुरेहरु ‘डबल पेन्सन’का लागि पुनः पल्टनमै फर्किएर काम गर्ने, कोही युरोप लगायतका देश र खाडी देशमा जाने गरेको पाइए पनि उहाँ भने स्वदेशमै व्यावसायिक खेतीमा रमाउन थाल्नुभएको छ । थापासँगै जिल्लाको बेनी नगरपालिका–४, सिङ्गाका अणबहादुर खड्का (भगवान) र प्रेम खड्काले संयुक्त रुपमा लगानी गरी कृषितर्फ पशुपालन, कुखुरा र फलफूल तथा ईट्टा उद्योग सञ्चालन गर् उहाँहरुले सिङ्गामा ब्रोदर्श कृषि तथा पशुपन्छी फार्म र ब्रोदर्श ब्लक उद्योग दर्ता गरी सञ्चालन गर्नुभएको हो । 

कृषि र पशुपालनमा जग्गासहित एक करोड १५ लाख रुपैयाँ लगानी गरिएको छ । यसमध्ये फार्मतर्फ मात्रै ९० लाख रुपैयाँ लगानी भएको सञ्चालक भगवान खड्काले बताउनुभयो । १५ रोपनी जग्गा आफ्नै रहेकोमा ४५ रोपनी जग्गा वार्षिक ५५ हजार रुपैयाँ भाडा तिर्नेगरी लिएका छन् । त्यसमा कृषि र पशुपालनको फार्मको संरचना निर्माणसहित घाँस तथा केरा खेती गरेका छन् । 

फार्ममा कुखुरादेखि भैँसीसम्म

सामूहिक लगानीमा व्यावसायिक कृषि र पशुपालन सुरु गरेका युवाहरुले बागलुङको रायडाँडाबाट बोयर जातको बाख्रा खरिद गरी पाल्न सुरु गरेका छन् । १ वर्ष अघिदेखि सुरु गरिएको बाख्रा फार्ममा अहिले एक बोकासहित ३८ बाख्रा छन् । ब्रोदर्श कृषि तथा पशुपन्छी फार्ममा बोयर जातको बाख्रापालनलाई व्यावसायिक जोड दिइने सञ्चालक खड्काले बताउनुभयो । यसैगरी फार्ममा कुखुरा पनि पाल्नुभएको छ । फार्ममा अहिले लोकल जातको भाले र पोथी गरी दुई सय वटा कुखुरा छन् ।

यस्तै फार्ममा भर्खरै व्याएका भैँसीको लैना पाडालाई काटेर खाने प्रचलनलाई रोक्न तथा भैंसीपालन व्यवसाय बढाउनका लागि पाडापाडी संरक्षण गरिएको छ । तीनवटा मुर्रा तथा क्रस लोकल जातको भैँसी र पाडापाडीसहित कुल १४ वटा भैँसी छन् ।

सिङ्गा आसपासको क्षेत्रबाट भैँसीका स–साना पाडापाडी खरिद गरी व्यवसायका साथै पाडापाडीको संरक्षण सुरु गरेको सञ्चालक खण्डाले बताउनुभयो । युवाहरुले थालेको पाडापाडीको संरक्षण अभियानसँगै पछिल्लो समय सिङ्गा क्षेत्रमा १ सयजना किसानले पाडापाडी पाल्न थालेका छन् ।

४५ रोपनी जग्गामा घाँस

भैँसी, बाख्रा पालिसकेपछि तिनीहरुलाई खुवाउनको लागि घाँस पनि चाहियो । भाडामा लिएको ४५ रोपनीको जग्गामा भैंसी, पाडापाडी र बाख्राका लागि घाँस लगाएका छन् । रायखन्यु, ईपिल–ईपिल, काफल, सुपरनेपियर, बेलुवा, सुडान, भोर्लो र जैघाँस लगाइएको अर्का सञ्चालक राजेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार उक्त घाँसका बिरुवा भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी र भू–संरक्षण सम्पर्क इकाई कार्यालयको सहयोगमा लगाइएको हो । 

ब्लक उद्योगमा ईट्टा उत्पादन र बिक्री

कृषिमा लागेका युवाहरुको समूहले कृषि सँगसँगै ईट्टा उद्योगमा पनि लगानी गरेका छन् । २ रोपनीको जग्गामा वार्षिक २५ हजार रुपैयाँ भाडा तिर्नेगरी १५ लाख रुपैयाँ लगानी गरी उत्पादन सुरु गरिएको ब्लक उद्योगबाट हालसम्म ४० हजार थान इन्टरलक ईट्टा बिक्री भैसकेको छ । १ वर्ष अघि सुरु गरिएको ब्लक उद्योगमा अहिले दैनिक रुपमा ईट्टा उत्पादन भैरहेको छ ।

बागलुङको धम्जादेखि म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्र बिम, मराङसहित विभिन्न स्थानबाट बाढीपीडित र भूकम्प पीडितको पुनर्स्थापना गर्न घर तथा भवन निर्माणका लागि ईट्टाको माग आइरहेको ब्लक उद्योगका सञ्चालक राजेन्द्र थापाले बताउनुभयो । 

गाउँमै १५ जनालाई रोजगारी

युवाहरुले सुरु गरेको व्यावसायिक कृषि, पशुपालन र ब्लक उद्योगमा गरी लगानीकर्तासहित १५ जनाले गाउँमै रोजगारी पाएका छन् । ब्लक उद्योगतर्फ नियमित १० जना र कृषि फार्मतर्फ ५ जनाले रोजगारी पाएको सञ्चालक खड्काले बताउनुभयो ।

ब्लक उद्योगका कामदार सबैलाई गरी महिनाको एकलाख तथा कृषि फार्म तर्फका कामदार सबैलाई महिनाको ६० हजार रुपैयाँ तलब दिने गरिएको उहाँले बताउनुभयो । कोरोनाको समयमा गाउँमै रोजगारी पाएपछि ब्लक उद्योग र कृषि फार्ममा काम गर्ने कामदाहरु पनि खुशी छन् । 

उत्पादन गर्न सके बजारको समस्या छैन

सामूहिक लगानीमा विभिन्न पेशा र व्यवसाय सुरु गरेका युवाहरुले उत्पादन गर्नसके बजारको अभाव नभएको अनुभव सुनाउँछन् । पशुपालन फार्ममा उत्पादित भैंसीको दूध, कुखुराको अण्डा, पाडापाडी तथा बोका तथा पाठापाठी बढाउन र हुर्काउन सकेको खण्डमा सजिलै बिक्री हुने राजेन्द्र थापाको भनाइ छ । 

‘म्याग्दी सदरमुकाम बेनीबजारदेखि ७ किलोमिटरको दूरीमा सिङ्गास्थित फार्म रहेको हुँदा बेनी–दरबाङ सडकखण्डमा पर्ने भएकाले पनि उत्पादनलाई बजारमा पु¥याउन समस्या छैन’, थापाले भन्नुभयो, ‘कतिपय व्यापारीहरु उत्पादन खरिद गर्नका लागि फर्ममै पुग्ने गरेका छन् ।’ 

‘किस्ता तिर्न नपर्ने गरी ऋणको व्यवस्था हुनुपर्छ’

युवाहरुको व्यावसायिक फार्ममा सिद्धार्थ बैंक म्याग्दी शाखामार्फत ६५ लाख रुपैयाँ लगानी भएको छ । ५ प्रतिशत व्याज तिर्नेगरी सहुलियत दरमा कृषि कर्जा लिएर व्यवसाय अगाडि बढाइएको छ । तर नेपाल बैंकबाट समेत कृषि कर्जा लिने प्रयास गरिए पनि लामो र झन्झटिलो प्रक्रियाका कारण लिन नसकिएको फार्मका प्रोप्राइटर समेत रहनुभएका सञ्चालक भगवान खड्का बताउनुहुन्छ । 

यस्तै भर्खरै कृषि पेशा सुरु गरेको कृषकले महिनैपिच्छे किस्ता तिर्न नसक्ने हुँदा उत्पादनबाट आम्दानी प्राप्त गरेपछि मात्रै ऋण तिर्ने व्यवस्था हुनुपर्ने कृषक खड्काको भनाइ छ । ‘राज्यले युवा कृषकहरुलाई लक्षित गरेर कृषि अनुदानसम्बन्धी विभिन्न कार्यक्रमहरु ल्याउनुपर्छ’, उहाँले भन्नुभयो, ‘सरकारले कृषकलाई किस्ता तिर्न नपर्ने गरी ऋणको व्यवस्था हुनुपर्छ ।’     

अन्तिम अपडेट: माघ १०, २०७७

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया